Comments Add Comment

रुरुका स्वतन्त्र उम्मेदवार भन्छन्-मेरो उम्मेदवारी दलीय सिण्डिकेटविरुद्ध विद्रोह

ऋषिमुनीहरुको तपोभूमी रुरुलाई विश्वका हिन्दूहरुको गन्तव्यस्थल बनाउने दावी


८ असार,गुल्मी । हिन्दू सभ्यताको प्राचिन भूमि हो रुरु । ऋषिमुनीहरुले तपस्या गरेको प्राचिन रुरु उपत्यका अहिले रुरु गाउँपालिका बनेको छ । रुरु गाउँपालिकाको स्थानीय चुनाव यसपटक गुल्मीमा चर्चाको केन्द्रमा छ ।

एकातिर एमाले विरुद्ध कांग्रेस र माओवादीको कसिलो गठबन्धन अर्कोतिर ठेकी चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार शम्भु गौतम ।

रुरुको चुनावले जिल्लाको ध्यान यसकारण पनि खिचेको छ कि, यहाँ गाउँपालिका अध्यक्षका उम्मेदवार २६ देखि ७२ वर्ष अर्थात नाति र हजुरबा उमेरका भिड्दैछन् ।

अवकाश हुनुपर्ने उमेरका व्यक्तिलाई एमालेले उम्मेदवार बनाएको र कांग्रेस माओवादीले मतदातालाई ‘भेडाबाख्रा’ सोचेर गठबन्धन गरेपछि आफूले स्वतन्त्र उम्मेदवार दिएको गौतमले बताएका छन् ।

बिहीबार रुरुमा पत्रकारहरुसँग कुरा गर्दै गौतमले दलीय सिण्डिकेटबाट रुरुलाई मुक्त गर्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । निर्वाचन आयोगले ठेकी चुनाव चिन्ह दिएपछि उनले चुनावी प्रचार पनि तीब्र बनाएका छन् ।

काठमाडौंमा व्यवसाय गरेर बसेका गौतमले ऋषिमुनीहरुको तपोभूमि रुरुलाई राजनीतिक दलहरुले अपवित्र बनाएको आरोप लगाए ।

रुरुलाई दलीय सिण्डिकेटबाट मुक्त गर्न आफू बोकेर मतदाताको घरघरमा गइरहेको र दलमा आबद्ध युवाहरुको साथ पाएको उनले बताए ।
‘रुरुलाई विश्वका हिन्दू धर्माबलम्बीहरुको गन्तव्य बनाउन सकिन्छ,धेरै अध्ययन अनुसन्धान गर्नेहरुका लागि रुरुलाई प्रचार गर्न सकिन्छ तर, यो काम दलीय सिण्डिकेटबाट हुँदैन’ उनले भने ।

रुरु गाउँपालिकामा एमालेले ७२ वर्षीय पूराना नेता निलकण्ठ गौतमलाई अध्यक्षको उम्मेदवार बनाएको छ । कांग्रेस र माओवादीको तर्फबाट साझा उम्मेदवारका रुपमा यदु ज्ञवाली प्रतिस्पर्धामा छन् ।

शम्भु गौतम नाताले एमाले उम्मेदवार निलकण्ठ गौतमका भतिजो पर्छन् । तर, उनले आफ्नो चुनावी नारानै बनाएका छन्-युवाहरुलाई काम,जेष्ठ नागरिकलाई सम्मान । उनले रुरु गाउँपालिकाको विकास र सम्बृद्धिका लागि दलभन्दा माथि उठ्न आह्वान गरेका छन् ।

ठूला पार्टीका उम्मेदवारले आफूलाई भोट काट्न उम्मेदवारका रुपमा टिप्पणी गरेपछि उनले प्रतिवाद गर्न पत्रकारलाई बोलाएका हुन् ।

स्वतन्त्र उम्मेदवार गौतमले मतदातालाई दलहरुले तेरो र मेरो भनेर भाग लगाएकाले त्यसको विरुद्ध आफूले विद्रोह गरेको बताए । उनले भने-म स्वतन्त्र उम्मेदवार हुँ,कसैको बागी होइन बरु दलीय सिण्डिकेटको बिद्रोही उम्मेदवार हुँ ।’

गौतमले भने-ठूृला दलले रुरुका मतदातालाई आफ्नो किलोमा बाँधिएका जनावर जस्तै सोचेका छन् । गठबन्धन गर्दैमा मतदाताले खुरुखुरु पछि लागेर तीनलाई भोट हाल्नुपर्ने ? मतदाता सधैं एउटा पार्टीको थलोमा बस्ने बस्तु हुन् ?

गौतमले यसपटक मतदाताले नयाँ भिजन र स्वतन्त्र व्यक्तित्व खोजेको दावी गरे । ‘सधैं दलीय सिण्डिकेटबाट वाक्क भएका जनताले दलभन्दा माथि उठेर काम गर्ने उम्मेदवार खोजेका छन् । प्रतिस्पर्धा एमालेसँगै छ तर म जित्छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment