Comments Add Comment

द्रुतमार्ग निर्माणका लागि हेभी इक्वीपमेन्ट किन्दै सेना

११ असार, काठमाडौं । काठमाडौं-तराई द्रुतमार्ग निर्माण सुरु गर्न नेपाली सेनाले प्राविधिक तयारी तीब्र बनाएको छ । स्थलगत अध्ययन गरिरहेको सेनाले आधुनिक हेभी इक्युपमेन्ट मेसिन खरिद पनि गर्न सुरू गरेको छ ।

त्यसका लागि सेनाले टेण्डर आह्वान गरिसकेको सेनाका प्रवक्ता झंकरबहादुर कडायतले अनलाइनखबरलाई बताए । उनकाअनुसार द्रुतमार्ग निर्माणका लागि आवश्यक उपकरणको जोहो गर्न पहिलो चरणमा विभिन्न हेभी मेसिन खरिदका लागि प्रक्रिया अघि बढाइएको हो ।

सेनाले रक ब्रेकर, एक्जाभेटर, व्हील लोडर, एयर कम्प्रेसर, रोलर, बूल डोजर, ब्याकहो लोडर र ग्रेडरका लागि टेण्डर गरेको हो । त्यसैगरी ट्रक, क्याब पीकअप, ट्रेलरसहितको ट्याक्टर लगायतका सवारी पनि खरिद गर्न टेण्डर खुलाएको हो ।

यी हेभी इक्वीपमेन्ट आपूर्तिको लागि सेनाले ३ करोड २५ लाख रुपैयाँभन्दा बढी धरौटी मागेको छ । यसका आधारमा सेनाले झण्डै ९० करोड भन्दा बढी खर्चिएर हेभी इक्वीपमेन्ट किन्न लागेको अनुमान छ ।

सेनाले सडक बनाउन आवश्यक हेभी इक्वीपमेन्ट आपूर्ति गर्न विभिन्न मेसिन उत्पादक, बिक्रेता र एजेन्टले आशयपत्र पेश गर्न सक्ने बताएको छ ।

मन्त्रिपरिषदबाट द्रुतमार्ग निर्माणको कार्यबिधि पारित भइसकेको छ । स्वीकृत कार्यबिधि प्राप्त हुनासाथ सेनाले दु्रतमार्गको निर्माण अघि बढाउने तयारी गरेको प्रवक्ता कडायतले बताए ।

नेपाली सेनाले द्रुतमार्गको निर्माण थाल्न पाँच स्थानमा सेनाका निर्माण बेस क्याम्प खडा गर्ने भएको छ । एकैपटक १० स्थानबाट निर्माण थाल्ने गरी सेनाको प्राविधिक टोलीले अहिले दु्रतमार्गको स्थलगत अध्ययन गरिरहेको छ ।

जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको फास्ट ट्रयाक निर्माणका लागि केही समयभित्रै सेनाको निर्माण कार्यदल विभिन्न स्थानबाट खटिनेछ ।

सेनाले फास्ट ट्रयाकलाई १० सेक्टरमा विभाजन गरेर काम थाल्ने योजना बनाइसकेको छ । अब त्यसका लागि सेनाले ५ स्थानमा बेसहरु राख्नेछ ।

एकैपटक सबै स्थानबाट काम सुरु गरेर अबको ४ वर्षभित्र यसलाई टुंग्याउने योजना सेनाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment