Comments Add Comment

नतिजा आउन बाँकी ५ उपमहानगरः एमालेको अग्रता ४ स्थानमा

२१ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचन भएका तीन प्रदेशका ७ उपमहानगरमध्ये ५ स्थानको नतिजा आउन बाँकी छ । पाँचमध्ये चारवटा उपमहानगरमा एमालेको अग्रता छ ।

मतगणना सम्पन्न भइसकेका दुई उपमहानगरमध्ये नेपालगञ्जमा राप्रपाका धवलसमशेर राणाले जितेका छन् भने घोराहीमा एमालेका नरुलाल चौधरीले जितेका छन् ।

नतिजा आउन बाँकी ५ वटा उपमहानगरहरु इटहरी, बुटवल, तुलसीपुर र धनगढीमा मतगणना जारी छ । धरानमा भने मतगणना अवरुद्ध छ । बुटवलको नतिजा आउन लागेको छ । त्यहाँ एमालेको जीत पक्का भइसकेको छ ।

विवाद भएपछि सुनसरीको धरान उपमहानगरको मतगणना सोमबार बेलुकादेखि सुचारु हुन सकेको छैन ।

अहिले मतगणना भइरहेका चार उपमहानगरपालिकामा धनगढीमा नेपाली कांग्रेसको अग्रता छ भने अन्य तीनै उपमहानगरमा एमालेका उम्मेदवारको अग्रता छ ।

मतगणना भइरहेका अन्य उपमहानगरहरुको ताजा अवस्था यस्तो छ ।

धरान र इटहरी उपमहानगरपालिका

सुनसरीको धरानमा विवादका कारण मतगणना स्थगित छ र त्यहाँ विवाद समाधानका लागि प्रयास भइरहेको छ ।

इटहरी उपमहानगरमा भने मतगणना जारी छ । यहाँ पनि नेकपा एमालेको अग्रता कायमै छ ।

इटहरीको पछिल्लो मत अपडेटअनुसार एमालेका मेयर उम्मेदवार द्वारिकलाल चौधरी १६ हजार १७८ मत सहित अग्रस्थानमा छन् । करिव २ हजार कम मत पाएका कांग्रेसका रोहित प्रसाईं चौधरीलाई पछ्याइरहेका छन् । रोहितले पाएको मत १४ हजार ३४६ छ । मेयरमा राप्रपाका रोहित कार्की निक्कै पछाडि छन् । उनले २ हजार ५५३ मत पाएका छन् ।

इटहरीको उपमेयरमा पनि एमालेकै लक्ष्मी गौतमले १५ हजार २८७ मत ल्याएर अग्रता कायम गरेकी छन् । कांग्रेसकी विमला ढकाल १३ हजार ८०३ मतसहित उनलाई पछ्याइरहेकी छन् । माओवादी केन्द्रका भीम सुवेदी सागरको जम्मा २ हजार ८०२ मत छ ।

बुटवल उपमहानगरपालिका

नेकपा एमाले र कांग्रेस-माओवादी केन्द्र गठबन्धनमा उम्मेदवारबीच प्रतिस्पर्धा रहेको बुटवल उपमहानगरपालिकामा १९ मध्ये १८ वडाको मतगणना सम्पन्न भइसकेको छ ।

अन्तिम वडामा मतगणना बाँकी रहँदा एमालेका शिवराज सुवेदीले करिव २ हजार ५०० मतको अग्रता लिएका छन् । उनले २२ हजार ४८४ मत ल्याएका छन् भने कांग्रेस-माअेावादी गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले १९ हजार ९४१ मत ल्याएका छन् ।

१९ नम्बर वडाको १ हजार ९३५ मत गन्न बाँकी रहँदा मेयरमा एमालेको जित सुनिश्चित भइसकेको छ । आजै साँझसम्म अन्तिम नतिजा आउने अपेक्षा गरिएको छ । बुटवलमा ४९ हजार ८९५ मत खसेको थियो ।

उपमेयरमा पनि एमालेकै गोमा आचार्यले फराकिलो अग्रता लिएकी छन् र उनको जितको औपचारिक घोषणा हुन बाँकी छ । उनलेे २४ हजार ५१६ मत ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रका जगतबहादुर पोखरेलले १४ हजार १२५ मत ल्याएका छन् ।

मतगणना सम्पन्न भएका १८ मध्ये २ वडामा मात्र कांग्रेसले जितेको छ भने बाँकी १६ वडामा एमालेले जित हासिल गरेको छ ।

धनगढी उपमहानगरपालिका

स्वतन्त्र उम्मेदवार गोपाल हमालले मुख्य पार्टीहरुलाई माथ दिँदै ल्याएको मतका कारण पनि सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतपरिणाममा सबैको चासो बढी देखिन्छ ।

धनगढीमा नेपाली कांग्रेसका नृप वड र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीचको प्रतिस्पर्धा रोमाञ्चक देखिन्छ ।

अहिले हमाललाई पछि पार्दै कांग्रेस उम्मेदवार वडले ७ हजार ९६७ मतसहित अग्रता कायम गरेका छन् । हमालको ७ हजार ७६६ मत छ । उपमेयरमा भने नेपाली कांग्रेसले करिव २ हजार ४०० मतको अग्रता छ । कांग्रेसकी सुशीला भट्टले ९ हजार ८५६ मत ल्याएकी छन् । एमालेकी रुक्मिणी देवकोटाले ७ हजार ४०६ मतसहित पछ्याइरहेकी छन् ।

कुल १९ वडा रहेको धनगढीमा १० वडाको मतगणना सम्पन्न भएको छ । वडा नम्बर १, २, ३, ४, १४, १५, १६, १७, १८ र १९ मा मतगणना सम्पन्न भइसकेको छ भने अहिले वडा नम्बर ५, ६, १२ र १३ मा मतगणना भइरहेको छ ।

धनगढीको मतगणना सात स्थानबाट भइरहँदा पनि सुस्त देखिएको छ । चुनाव सकिएको एक साता बितिसक्दा पनि यहाँको आधा भन्दा केहि बढी मतमात्र गनिएको छ । ५४ हजार ३६९ मत खसेको धनगढीको ३२ हजार ६०१ मत गनिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले आजैदेखि १० स्थानबाट मत गणना गरेर भएपनि भोलि या पर्सीसम्ममा अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी गरेको बताएको छ । अहिले ७ स्थानबाट मतगणना भइरहेको छ ।

तुलसीपुर उपमहानगरपालिका

दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा छ । अन्तिम तीन वडाका करिव ९ हजार मत गन्न बाँकी रहँदा यहाँ एमालेका घनश्याम पाण्डेले करिव ३ हजारको मतान्तर कायम राखेका छन् । पाण्डेको १४ हजार १३६ मत छ भने कांग्रेसका गेहेन्द्र गिरी ११ हजार ३८० मतका साथ उनलाई पछ्याइरहेका छन् ।

उपमेयरमा भने एमाले र कांग्रेसबीच चर्को प्रतिस्पर्धा देखिन्छ । एमालेकी माया आचार्यको १२ हजार ५५८ मत छ भने १२ हजार ५१७ मतका साथ कांग्रेसकी देविका नेपालीले उनलाई पछ्याइरहेकी छन् ।

नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार शेसुराम भण्डारीले ४ हजार ७७९ र उपमेयरका उम्मेदवार सीता ओलीले ४ हजार ९५७ मत हासिल गर्दै तेस्रो स्थानमा छन् ।

दुई उपमहानगरपालिका रहेको प्रदेश नम्बर ५ को एकमात्र जिल्ला दाङको घोराही उपमहानगरपालिकाको नतिजा यसअघि आइसकेको छ । घोराहीमा एमालेका नरुलाल चौधरीले जित हासिल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment