Comments Add Comment

२८ वर्षीया अध्यक्षको सपनाः गाउँपालिकामा प्राविधिक स्कुल, अन्धविश्वास अन्त्य

२३ असार, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जन्मेकी र हाल काठमाडौंको पद्म कन्या क्याम्पसमा स्नातकोत्तर पढ्दै गरेकी २८ वर्षीया कौशिला भट्ट भागेश्वर गाउँपालिकाको अध्यक्ष बनेकी छिन् । प्रविणता तहदेखि नै विद्यार्थी राजनीतिमा होमिएकी भट्ट ७ स्थानीय तह रहेको डडेल्धुरामा अध्यक्षमा विजयी हुने पहिलो महिला हुन् ।

भागेश्वर गाउँपालिका अध्यक्षमा विजय भएकी भट्टले डडेल्धुराको महेन्द्र माविबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेकी थिइन् । विद्यालयदेखि नै राजनीतिमा सक्रिय भएकी उन्ामा असल नेतृत्व गर्न सक्ने खुबी भएको महेन्द्र माविका पूर्वप्रध्ाानाध्यापक प्रेम बोहरा बताउँछन् । हाल पद्म कन्या क्याम्पसमा अध्ययन गरीरहेकी उनी क्याम्पस एकाइ समिति अध्यक्ष एवं नेविसंघकी केन्द्रीय सदस्य पनि हुन् ।

उनी कांग्रेस डडेल्धुराका निवर्तमान सभापति रघुबर भट्ट र गोमादेवी भट्टकी छोरी हुन् ।

प्राविधिक शिक्षालय खोल्ने लक्ष्य

भागेश्वर गाउँपालिकामा पाँच वर्षभित्र प्राविधिक शिक्षालय स्थापना गर्ने पहिलो एजेण्डा रहेको उन्ाले बताइन् । उनले भनिन्, ‘अहिले भागेश्वर गाउँपालिकामा एउटा पनि टेक्निकल कलेज छैन, मेरो कार्यकालमा एउटा टेक्निकल कलेज खोल्छु ।’

शिक्षालाई नै मुख्य प्राथमिकता दिने उनको योजना छ ।

उनले समाजमा रहेका कुरिती र अन्धविश्वास हटाउने लक्ष्य पनि सुनाइन् । ‘समाजले परिवर्तन चाहेकोले मैले चुनाव जितें,’ उनले भनिन्, ‘हाम्रो समाजमा अहिले पनि महिलालाई घरबाट खुलेर बाहिर निस्कन दिदैनन्, जसका कारण गाउँका महिलाहरु घर भित्रै खुम्चिन बाध्य छन् । त्यसैले अन्धविश्वासलाई हटाउन शिक्षा र जनचेतना फैलाउन जरुरी ठानेकी छु ।’

भागेश्वर गाउँपालिका जिल्लाका अरु गाउँपालिका भन्दा विकट भएकाले शिक्षा, स्वास्थ्य, सडक र खानेपानीको क्षेत्रमा काम गर्ने उनले बताइन् । गाउँपालिकामा पर्ने भागेश्वर धुरा र सायल झरनालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको पनि उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment