Comments Add Comment

साउन १ देखि पोखरा पनि हर्न निशेधित क्षेत्र, यस्तो छ ट्राफिकको कार्ययोजना

२३ असार, पोखरा । आगामी साउन १ गतेदेखि पोखरा महानगर पनि ‘नो हर्न जोन’ बन्ने भएको छ । पोखरालाई हर्न निशेधित क्षेत्र (नो हर्न जोन) बनाउने महानगरको घोषणा सफल बनाउन ट्राफिक प्रहरी कार्यालय, कास्कीले एक महिने कार्ययोजना सार्वजनिक गरेको छ ।

हर्न निशेधित क्षेत्र कार्यान्वयन गर्न आफूहरुले साउन महिनाभर एक महिने अभियान चलाइने कास्कीका ट्राफिक प्रहरी ईञ्चार्ज प्रहरी निरिक्षक विश्वराज अधिकारीले जानकारी दिए ।

अभियान अन्तर्गत असार २८ गतेदेखि १ गतेसम्म प्रेसर हर्न निकाल्न लगाउने र हर्न बजाउन निशेध गरिएको जानकारी सवारी चालकहरुलाई गराइने छ, जसका लागि स्वयमसेवक समेत खटाइनेछ ।

सचेतनामूलक कार्यक्रम अन्तर्गत असार १ गते र्‍यालीसमेत निकालेर जनचेतना जगाउने काम हुनेछ । साउन २ गते पुनः पोखराका मुख्य चोकहरुमा सचेतनामूल कार्यक्रम गरेर हर्न निशेधित भएको जानकारी गराउँदै उल्लघन नगर्न अन्तिम चेतावनी दिइनेछ ।

साउन १ गतेदेखि पोखरा महानगरलाई हर्न निशेधित क्षेत्र घोषण गरेपनि कारबाही भने ३ गतेदेखि सुरु हुनेछ । २ गतेसम्म सम्झाउने र ३ गतेदेखि कारबाही शुरु गर्ने ट्राफिक ईञ्चार्ज अधिकारीले बताए ।

उनका अनुसार ३ गतेपछि आकस्मिक र घुमाउरो बाटोबाहेक अन्य बेला हर्न बजाए पहिलो पटकमा पाँच सय जरिवाना गरिनेछ । एक पटक कारबाही गरेकाले दोश्रोपटक उलंघन गरे एक हजार र त्यो भन्दा बढी पटक उल्लघन गर्नेलाई एक हजार ५ सय रुपैयाँसम्म जरिवाना तिराइने उनले बताए ।

कारबाही शुरु गरिएपनि महिनाभरी ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिईने ट्राफिक प्रहरीले जनाएको छ । यो बिचमा हर्न निषेध अभियान सफल बनाउन स्वयम्सेवक परिचालन गर्नेदेखि सञ्चारकर्मी, सरोकारवालासँग अन्र्तक्रिया तथा छलफल, हर्न निशेध बोर्डहरु राख्ने, रेडियो/टिभी, अनलाईनलगायतका सञ्चारमाध्यमसँग परिसम्बाद, विद्यालय सचेतना कार्यक्रम जारी राखिनेछ । उनका अनुसार पोखराका मुख्य ठाउँहरुमा ट्राफिक सचेतनामूलक भिडियो पनि डिसप्ले गरिनेछ ।

ट्राफिक प्रहरीले हर्न निशेध सँगसँगै बस पकेटलाई ब्यबस्थित बनाउँदै त्यसको पालनालाई कडाई गर्ने भएको छ ।

सार्वजनिक सवारी साधनले बस पकेट बाहेक बिच बाटोमा रोकेर यात्रु चढाएको पाईए कारबाही गर्ने ट्राफिक प्रहरीले बताएको छ ।

ट्राफिक ईञ्चार्ज अधिकारीका अनुसार सार्वजनिक सवारी साधन प्रति घण्टा ३० किलोमिटर भन्दा तिव्र गतिमा चलाउन नियम बनाइएले त्यसको उलंघन गरे वा बिच बाटोमै रोकेर यात्रु चढाउने वा झार्ने गरेको पाइए कारबाही गर्न सिभिल ड्रेसमा ट्राफिक प्रहरी खटाईनेछ ।

ट्राफिक प्रहरीले क्यामरा बोकेर बसको निगरानी गर्ने र तिव्र सवारी चलाए वा बिच बाटोमा सवारी रोकेर यात्रु उकाल्ने/ओराल्ने गरेमा तत्काल उक्त बसलाई नियन्त्रणमा लिएर ट्राफिक कार्यालयमा लगेर जरिवाना तिराउने र यो क्रम पटक/पटक गरेमा चालकको लाईसेन्समै प्वाल पार्नेसम्मको कार्वाही गर्ने अधिकारीले बताए ।

त्यस्तै, जेब्रा क्रसिङबाहेक अन्य ठाउँबाट बाटो काट्नेलाई पनि जनचेतना जगाउने अभियान पनि सँगसँगै लगिने भएको छ । जस अन्तर्गत जथाभावी बाटो काट्नेलाई बोलाएर चकलेट वितरण गर्ने र किन दिइएको बारे जानकारी गराइने भएको छ । चकलेट लिनेलाई गल्ती गरेको महशुष गराउन यो अभियान सञ्चालन गर्न लागिएको ट्राफिक ईञ्चार्ज अधिकारीले स्पष्ट पारे ।

यसैगरी पोखराको पृथ्वीचोकदेखि सभागृह चोकसम्म र महेन्द्रपुलदेखि चिप्लेढुङ्गासम्म क्षेत्रलाई नमूना क्षेत्र घोषणा गरेर सडक पेटीमा पार्किङ गर्न निशेध गरिने छ । सडकमा पार्किङ गर्न नपाएपछि सडक पेटीमा पार्किङ गर्ने क्रम बढेकाले त्यसलाई निरुत्साहित गर्न नमूना क्षेत्र तोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment