Comments Add Comment

काठमाडौंका जनप्रतिनिधिलाई ओलीले भने : चुनावको घच्चापच्चा बिर्सिएर काम गर्नुस्

३० असार काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा भुतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जस्तो स्थानीय सरकारको अभ्यास विश्वमा अन्यत्र नभएको बताएका छन् । पहिलोपटकको अभ्यास भएकाले स्थानीय तहका जनप्रतिनिधिहरुलाई सावधानिपूर्वक हिँड्न उनले आग्रह गरे ।

काठमाडौं महानगरपालिकाको पहिलो नगरसभाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै ओलीले यस्तो विचार राखेका हुन् । उनले भने, ‘हामीलाई अरुका दृष्टान्त काम लाग्दैनन् । पुरानो अनुभव पनि छैन । त्यसैले हरेक कुरा नयाँ प्रयोग गर्दै अगाडि बढ्नुपर्ने छ ।’

ओलीले थपे, ‘धेरै समय सोचबिचारमा बिताउने सुविधा पनि हामीलाई छैन । दुनियाँ कहाँ पुगिसक्यो, हामी पछि परिसक्यौं । जति सक्दो चाँडो हिँड्नुपर्ने छ ।’

उनले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग तादाम्य हुनेगरी काठमाडौंको योजना बनाउन सुझाव दिए । काठमाडौं महानगरले वरिपरीका नगरपालिकाहरुसँग समन्वय गर्दै काठमाडौंको एकीकृत विकास गर्नुपर्नेमा उनको जोड थियो ।

ओलीले स्थानीय चुनावको दलिय प्रतिस्पर्धालाई बिर्सेर काठमाडौंको विकासमा केन्दि्रत हुन जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

‘चुनावका घच्चापच्चाहरु बिर्सिनुस,’ उनले भने, ‘अबको पाँच वर्ष नगरको विकासमा आफूलाई होम्नुस ।’

भविष्यमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच स्वार्थको टकराव हुनसक्ने भन्दै ओलीले त्यसमा सजग रहन आग्रह गरे । उनले स्थानीय तहको अधिकार कटौतिको पक्षमा आफू र आफ्नो पार्टी नरहेको बताए ।

ओलीले अहिले हतारमा स्थानीय तहको बजेट निर्माण गर्नुपरेको उल्लेख गर्दै अहिले मोटो रकम मात्र समावेश गरेर पछि पुरक बजेट ल्याउन सकिने सुझाव दिए ।

कार्यक्रममा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका जनभावना अनुसार अघि बढिरहेको बताए । महानगरले ज्येष्ठ नागरिकलाई मात्र प्राथमिकता दिएर काम गरिरहेको कतिपयले गुनासो गरेको शाक्यले उल्लेख गरे ।
‘तर, हामी समाजका सबै तह र तप्काको हितलाई ध्यानमा राखेर काम गर्नेछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment