Comments Add Comment

आर्थिक अभावले ५ वर्षीय बालकको उपचार हुन सकेन


७ साउन, इलाम । देउमाई नगरपालिका १ शान्तिडाँडाका एक बालक मलद्वारबाट होइन पेटबाटै दिसा गर्छन् । आर्थिक अभावका कारण उपचार गर्न नसक्दा ती ५ वर्षीय मेघराज कोइराला पेटबाटै दिसा गर्न बाध्य छन् । पेटमा पारिएको प्वालबाटै दिसा गरेपनि मेघराजमा अरु कुनै समस्या नभएको उनका अभिभावक बताउँछन् ।

विद्यालय भर्ना गर्ने उमेर पुगे पनि पेटबाट दिसा बगिरहने भएकाले मेघराज विद्यालय जान भने पाएका छैनन् । पेटमा भएको प्वालमा कपडा लगाएर सफा गरिरहनु पर्ने हुन्छ । मेघराजलाई विद्यालयमा स्याहार्न सम्भव नभएकाले अभिभावकहरुले विद्यालय भर्ना गर्न सकेका छैनन् ।

जन्मेको १९ दिनदेखि मेघराज पेटबाटै दिसा गरिरहेका छन् । अरुकै घरमा शरण लिएर बसेका मेघराजको परिवारले खर्चको अभावमा राम्रो अस्पतालमा उपचार गराउन सकेका छैनन् । तत्काल बच्चालाई बचाउनका लागि वैकल्पिक उपायका रुपमा पेट प्वाल पारेर दिसा जाने ठाउँ बनाइएको थियो । थप उपचार गरेर मलद्वारबाटै दिसा जाने बनाउनु पर्ने थियो । राम्रो ठाउँमा उपचार गराए उनको मलद्वार खुलाउन सकिने डाक्टरहरुले पनि बताएका छन् । तर, आर्थिक अभावकै कारण मेघराजको थप उपचार हुन सकेको छैन ।

मेघराजको बुबा निर्मल कोइरालाले रकम अभावमा छोराको उपचार गर्न नसकिएको गुनासो गरे । उनले छोराको उपचारका लागि विदेसिन लागेको समेत बताए । निर्मलले भने, ‘अब कमाएर छोरोको उपचार गरौंला भन्ने छ ।’

आर्थिक अवस्था कमजोर भएकाहरुलाई सरकारले पनि उपचारमा सहयोग पुर्याएको सुने पनि आफूलाई कहाँ, कसरी सहयोग माग्ने भन्ने थाहा नभएकाले सहयोग पनि लिन नसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment