Comments Add Comment

अर्थमन्त्रीले भने- सुनचाँदी आयात मात्र हैन उत्खनन् गर्नेतर्फ सोचौं

१८ चैत, बुटवल । अर्थमन्त्री डा. युवराज खतिवडाले सुन र चाँदी आयात गर्ने मात्र नभइ उत्खनन् गर्नेतर्फ सोच्नुपर्ने बताएका छन् ।

सुनचाँदी व्यवसायी महासंघको छैटौं वाषिर्क साधारणसभालाई रुपन्देहीको मणिग्राममा सम्बोधन गर्दै मन्त्री खतिवडाले व्यवसायीहरुलाई आयात मात्र नभइ उत्खनन् गर्ने सोचमा लाग्न सुझाव दिएका हुन् ।

उनले खानीजन्य उद्योगमा विदेशी लगानीकर्ताको इच्छा बढ्दै गएको भन्दै यसतर्फ नेपालका उद्योगीहरुको ध्यानाकर्षण गराए ।

सुनको माग कमी भएको उद्योगीहरुको गुनासोलाई पुनर्विचार गर्न सकिने आवश्वासन दिदै उनले सुनको आयात र निर्यातका लागि सुनको बैंक स्थापना गर्नुपर्नेमा जोडसमेत दिए ।

उनले सरकार र निजी क्षेत्रले संयुक्त रुपमा तालिम सञ्चालन गरेर युवा पुस्तालाई जनशक्तिका रुपमा अगाडि ल्याउनुपर्ने बताए ।

अर्थमन्त्री डा. खतिवडाले औद्योगिक क्षेत्रमा देखिएको अन्यौलको अवस्थालाई चाँडै चिर्ने दावीसमेत गरे ।

संघीयतामा मूलुक गएपछि औद्योगिक प्रशासनमा अलमल देखिएको स्विकार गर्दै अबको दुई महिना भित्र त्यो समस्या समाधान गर्ने उनले बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष मोहनकुमार सुनारले देशभर २० हजार व्यवसायी, ३ लाखजनालाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी र वाषिर्क ५० अर्बको कारोबार गर्ने सुनचाँदी व्यवसायलाई नियमन गर्ने स्पष्ट कानून अभाव रहेकाले ऐन काननू बनाउन सरकारको ध्यानाकर्षण गराए ।

दुई दिनसम्म चल्ने साधारणसभामा देशैभरका ३ सय ५० प्रतिनिधि र १ सय ५० पर्यवेक्षक सहभागी छन् ।

मंगलबार घोषणापत्र जारी गर्दै साधारणसभा सकिने रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एमबी विश्वकर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment