Comments Add Comment

गोरखामा वर्ड फ्लू भित्रन नदिन पंक्षी ओसारपसारमा कडाइ

१८ चैत्र, गोरखा । जिल्लामा पंक्षी ओसारपसारमा कडाइ गरिएको छ । वर्ड फ्लू फैलिन नदिन भन्दै कडाइ गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले जनाएको छ ।

‘हेटौडा, पोखरालगायतका ठाउँमा वर्ड फ्लू भेटिएको छ,’ केन्द्र प्रमुख ब्रज किशोर ठाकुरले भने, ‘कुखुरालगायतका अधिकांश पंक्षीहरु त्यही ठाउँबाट आउने भएकाले कडाइ गरिएको हो ।’ बिशेष गरी कुखुरा ओसारपसारमा कडाइ गरिएको उनले बताए ।

जिल्ला भित्रने नाकाहरुमा कार्यालयले छड्के चेकजाँच पनि सुरु गरेको छ । आइतबार राति कार्यालयले गोरखा भित्रदै गरेको बोइलर र कोइलर कुखुराका चल्लाहरुलाई नियन्त्रण लिएको छ ।

भरतपुरबाट गोरखा ल्याउँदै गरेको ८ हजार २६० चल्लालाई नियन्त्रणमा लिइएको ठाकुरले बताए । ‘वर्ड फ्लूको आशंक छ कि भनेर हामीले नियन्त्रणमा लिएका हौ, नमूना परीक्षणका लागि क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला पोखरामा पठायौं तर नेगेटिभ देखियो,’ उनले भने ।

नियन्त्रणमा लिइएका उक्त चल्लाहरु वितरण गर्न दिने उनले बताए । त्यस्तै कार्यालयले तनहुँबाट गोरखा ल्याउँदै गरेको कुखुराको अण्डालाई पनि नियन्त्रणमा लिएर चेकजाँच गरेको छ ।

अन्य जिल्लामा वर्ड फ्लूको संक्रमण देखिएको भन्दै पशुपंक्षी तथा मतस्य विकास मन्त्रालयले अलर्ट रहन कार्यालयलाई निर्देशन दिएको थियो । निर्देशन बमोजिम चेकजाँचमा कडाइ गर्न थालेको कार्यालयले जनाएको छ ।

गोरखा छिर्ने मुख्य नाका मझुवामा आकस्मिक पशु क्वारेन्टाइन चेकजाँच सेवा स्थापना गर्ने तयारी कार्यालयको छ । उक्त स्थानमा एक जना कर्मचारी खटाउने कार्यालय प्रमुख ठाकुरले बताए ।

‘जिल्लामा आइतबार र बुधबार गरी हप्ताको दुई दिन चल्ला भित्र्ने रहेछ, हामी त्यो समयमा हाइ अलर्टमा रहन्छौ,’ उनले भने । अन्य समयमा पनि छड्के चेकजाँचलाइ निरन्तरता दिने उनले जानकारी दिए ।

हप्ताको दुई दिनमा करिब जिल्लामा २५ हजार चल्ला भित्रने कार्यालयको अनुमान छ । चेकजाँचको क्रममा भेटेरीनरी प्रमाणपत्रसँगै ढुवानी मापदण्ड अनुसारको आवश्यक कागजपत्र भए नभएको जाँच गरिने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment