Comments Add Comment

संसदमा बबाल, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले बोल्न पाएनन्

सत्तारुढ दलबाटै संसद अवरुद्ध

३१ साउन, काठमाडौं । संसदमा मंगलबार अपरान्ह निकै ठूलो होहल्ला सुनियो । एमाले सांसद केशव बडाल हातमा कागज लिएर ठूलो स्वरमा कराइरहेका थिए । सभामुख बस्ने कुर्सीमा थिइन्, एमालेकै सांसद सुशीला नेपाल ।

यो के पारा हो ? जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्न नपाइने ? यस्तै विषयमा अभिव्यक्ति दिँदै एमाले सांसद बढी नै उत्तेजित देखिन्थे । सभामुखको भुमिका निर्वाह गरिरहेकी सांसद नेपाल भन्दै थिइन्, ‘बसौं माननीय ज्यू बसौं ।’

बडाल बस्न मानेनन्, झनै उत्तेजनामा आउन थाले । त्यससँगै एमाले सांसदहरु आ-आफ्नो स्थानमा उभिए ।

सांसद नेपालले संसद सम्हाल्न नसक्ने अवस्थामा पुगेको थियो । यत्तिकैमा सभामुख ओनसरी घर्ती आइपुगिन् र कुर्सीमा बस्दै भनिन्, ‘बसौं माननीयहरु बसौं ।’

बडालका हातमा रहेको माइक्रोफोन भीम रावलले हातमा लिए । सभामुख घर्तीले रावललाई बोल्न आग्रह गरिन् । तर, उनको हातमा रहेको माइक्रोफोन ‘अन’ भएन । रिसाएजस्तो देखिएका रावलले २/३ चोटि माइक्रोफोनमा औंलाले टकटक पार्दै अन भए/नभएको जाँच गरे । तर, अन भएन ।

रावलले माइक जाँच गरिरहेकै बेलामा कांग्रेस सांसद रामहरि खतिवडाको हातमा रहेको माइक्रोफोनले भने काम गरिरहेको थियो । खतिवडा आफ्नो स्थानमा उभिएर कराइरहेका थिए । सभामुखले भने रावललाई बोल्न समय दिइरहेकी थिइन् ।

सांसद खतिवडाले तराईमा आएको बाढी पहिरोमा राजनीति नगर्न एमाले सांसदहरुलाई आग्रह गरे ।

खतिवडा बोल्दाबोल्दै एमाले सांसद रावलको माइकले पनि काम गर्‍यो र उनले बोले । रावलले बाढी पहिरोलगायत जरुरी सार्वजनिक महत्वको विषयमा संसदमा सबैले बोल्न पाउनुपर्ने बताए ।

त्यसलगत्तै सभामुखले आधा घण्टाका लागि संसद स्थगित गरिन् र त्यसपछि पुनः बैठक बस्ने घोषणा गरिन् ।

विवादको चुरो

बैठकमा एमाले सांसद रावलले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरे । त्यस विषयमा विशेष समयमा छलफल नलम्ब्याउन एमाले सांसद बडालले माग गरे । त्यसपछि सभामुख घर्तीले शकलदेव सुतिहारलाई बोल्ने समय दिइन् । तर, उनी अनुपस्थित रहेकाले लक्ष्मीकुमारी चौधरी र विश्वेन्द्र पासवान बोले ।

त्यसलगत्तै सभामुखले विशेष समय सकिएको घोषणा गर्नासाथ सत्तारुढ कांग्रेस र माओवादीका सांसदहरु आ-आफ्नो ठाउँबाट उठेर बोल्न पाउनुपर्ने माग गर्दै होहल्ला गरे ।

तर, सभामुख घर्तीले दलीय आधारमा आफूलाई बोल्ने सांसदहरुको नाम प्राप्त भएको र संसदीय अभ्यास पनि त्यही भएको बताउँदै विशेष समय समाप्त भइसकेकाले यथास्थानमा बस्न पटक-पटक आग्रह गरिन् । तर, सांसदहरुले नमानेपछि बैठक १५ मिनट स्थगित भएको घोषणा गरिन् ।

त्यसअघि विशेष समयमा बोल्ने सांसदहरुले बाढी पीडितको उद्धार, राहत र पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका थिए । संकटकाल घोषणा गर्नुपर्ने र १५ दिनसम्म संसद बैठक स्थगित गरी बाढी प्रभावित जिल्लामा सांसदहरुलाई पठाउनुपर्ने मागसमेत आएको थियो ।

१५ मिनटपछि सुरु भएको बैठकमा एमाले सांसद अग्नि खरेलले यसअघि बैठक स्थगित हुनुको कारण नखुलाइएको भन्दै त्यसलाई रेकर्डमा राख्न माग गरे । त्यसपछि सभामुख घर्तीले कांग्रेस र माओवादी केन्द्रका सांसदहरुका कारण १५ मिनटसम्म बैठक स्थगित भएको जानकारी गराइन् ।

झट्ट हेर्दा संसदमा केका लागि होहल्ला भइरहेको हो भनेर ठम्याउन कठिन थियो । तर, बहसको बाहिरी विषय थियो- तराईको बाढीका विषयमा गफ गर्ने कि स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीका कुरा सुन्ने ?

आजको संसदको कार्यसूचीमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्यसँग सम्बन्धित एउटा विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने थियो ।

यसका साथै प्रधानमन्त्री शेरबहादुर देउवाले वनमन्त्रीको हैसियतबाट स्रोत बाँडफाँटसम्बन्धी एउटा अभिसन्धिका विषयमा संसदमा संक्षिप्त बोल्ने कार्यक्रम थियो । एमालेले चाहिँ यो विषयलाई टार्ने नियत राखेको र बाढीको विषयमा राजनीति गर्न खोजेको कांग्रेस सांसद खतिवडाले आरोप लगाए ।

संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा तराईको बाढीका विषयमा छलफल भएको थियो । संसदमा जरुरी महत्वको प्रस्तावमा सांसदहरुले बोल्ने तय भएको थियो ।

सांसद खतिवडाले भने, ‘सबै माननीयहरुले बाढीकै विषयमा बोलिरहनुभएको थियो तर एमालेका मित्रहरुले बाढीपहिरोको विषयमा बोल्न पाउनुपर्छ भन्दै चर्का कुरा गर्नुभयो । र, मैले यो समस्या सबैको हो, यसमा कसैले राजनीति नगरौं भनें ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment