Comments Add Comment

यहाँ २० रुपैयाँमा मोबाइल चार्ज गरिन्छ !

सीटी रिक्सा चार्ज गरेको प्रतिघण्टा ८० रुपैयाँ

३२ साउन, बिराटनगर । माथिको तस्वीरमा लेखिएको छ- ‘२४ सै घण्टा सेवा, यहाँ मोबाइल र सीटी रिक्सा चार्ज गरिन्छ ।’

एउटा मोबाइल चार्ज गरेको शुल्क २० रुपैयाँ तोकिएको छ । सीटी रिक्सा चार्ज गरेको प्रतिघण्टा ८० रुपैयाँ तोकिएको छ । बाढीको कारण देखाउँदै विद्युत आपूर्ति बन्द भएपछि मोरङका गाउँ-गाउँमा नयाँ व्यापार फस्टाएको छ ।

पाँच दिनयता विद्युत अवरुद्ध भएका कारण मोरङ जिल्लाको ग्रामीण क्षेत्रमा जेनेरेटरको सहायतामा विद्युतीय उपकरण चार्ज गर्नेहरुको भिड लागेको छ । विद्युत बन्द भएका कारण स्थानीयबासी शुल्क तिरेर भए पनि मोबाइल र रिक्सा चार्ज गर्न बाध्य छन् ।

मोरङको रंगेली, कटहरी लगायतका स्थानका युवाहरुले जेनेरेटर भाडामा ल्याएर अति आवश्यकीय उपकरणहरु चार्ज गर्ने व्यवस्था मिलाएका छन् ।

त्यहाँ मोवाइल फोन, सीटी सफारीको ब्याट्री, इमर्जेन्सी लाइट लगायतका विद्युतीय उपकरण चार्ज गर्नेहरुको भीड लाग्ने गरेको छ । सेवाग्राहीहरुले सीटी सफारी चार्ज गरेको शुल्क महंगो भएको गुनासो गरेका छन् ।

बाढी र डुबानका कारण मोरङमा विगत पाँच दिनदेखि विद्युत सेवा अवरुद्ध छ । दुहवीस्थित विद्युतको सबस्टेशनमा पानी जमेका कारण विद्युत आपूर्ति बन्द भएको हो ।

जिल्लामा खानेपानीको आपूर्तिसमेत बन्द छ । जसका कारण बिराटनगर क्षेत्रमा मात्रै ९ हजार घर परिवार अतिआवश्यक खानेपानीबाट समेत बञ्चित हुँदै आएका छन् ।

सेवासँगै कमाउने काइदा

कटहरी गाउँपालिका ४ नयाँ बजारका सुतन डुडुले गाउँका १० जना युवा मिलेर जेनेटर भाडामा लिएर तीन दिनदेखि नियमितरुपमा स्थानीयलाई मोबाइल चार्ज गर्ने व्यवस्था मिलाएको बताए ।

उनले भने, ‘हामी सबै डुबान पीडित छौं, यस्तो समयमा मोबाइल धेरै आवश्यक पर्छ । त्यसका लागि चार्ज गर्ने व्यवस्था मिलाएका छौं । सेवा पनि हुन्छ, अलि-अलि आम्दानी पनि हुन्छ ।’

डुडुका अनुसार मोबाइल चार्ज गर्न कटहरी बजारबासी सबैजसो आउने गरेका छन् ।

कटहरी नयाँबजारका सदानन्द मण्डलले सिटी सफारीको व्याट्री चार्ज गर्ने व्यवस्था मिलाएका छन् । नयाँबजारमा मोटरसाइकल वर्कसप चलाउँदै आएका मण्डलले दैनिक ८ वटा सीटी सफारीको ब्याट्री चार्ज गर्ने गरेका छन् । तीन दिनदेखि चार्जको अभावमा थन्किएका सीटी सफारी चार्ज गर्नेहरुको उनकोमा भिड लागेको छ ।

सेवाग्राहीले एकपटक मोबाइल चार्ज गरेवापत २० रुपैयाँ र सिटी सफारीको ब्याट्री चार्ज गरेवापत एक घण्टाको ८० देखि १ सय रुपैयाँसम्म तिर्ने गरेका छन् ।

‘एउटा सीटी सफारीको ब्याट्री फूल चार्ज हुन ६ घण्टा लाग्छ । त्यसवापत ६ सय रुपैयाँ लिने गरेको छु,’ सदानन्द मण्डलले भने, ‘दैनिक ४८ सय जति कमाइ हुन्छ ।’

सीटी सफारी धनीले भने ब्याट्री चार्ज शुल्क अति नै महंगो भएको गुनासो गरेका छन् । ‘पाँच दिनदेखि बिजुली छैन, व्यवसाय गर्न सीटीमा चार्ज नभएकाले महंगो शुल्क तिरेर भए पनि मण्डलकोमा चार्ज गर्न आउने गरेको छु,’ सीटी सफारी चालक उमेश चौधरीले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment