Comments Add Comment

जो बाढीले ४ घन्टा बगाउँदा पनि बाँचिन्


३ भदौ, काठमाडौं । बर्खाको बाढीमा चार घन्टा लगातार बगेर पनि जीवित रहनु असम्भव नै हो । बाढीले झन्डै १० किलोमिटर टाढासम्म बगाउँदा साहस र संयोगले साथ दियो, त्यसैले बाँचिन् सानुमाया राई । तर, त्यही घटना उनका दिदी–भिनाजुका लागि दुर्भाग्य बन्यो । दिदीको शव भेटिएको छ भने भिनाजु अझै बेपत्ता छन् ।

इटहरी गैरीगाउँकी सानुमायालाई इटहरीकै जनता बस्तीस्थित दिदीको घरमा मध्यरातमा सुतिरेहकै वेला बाढीले बगाएको थियो । सानुमाया छुट्टीका वेलामा दिदीको घर जान्थिन् । यसपालि पनि दिदीका तीन वर्षीय छोरा निमेशको शनिबार बर्थ डे मनाउने भनेर अघिल्लै दिन दिदीको घर पुगेकी थिइन् । अर्को दिन ‘बर्थ डे’ मनाउने तयारी गरेर राति ११ बजे उनीहरू सुतेका थिए । रातको १२ बजे सुसाउँदै खोला आयो । बाढी आइरहेकाले बाहिर मान्छेहरू चिच्याइरहेका थिए । तर, आफूहरू सुरक्षित रहनेमा सानुमाया ढुक्क थिइन् । टिनको छानो र इँटाको गारो भएकाले घर दरिलै छ भन्ने उनको सोचाइ थियो ।

बाढी घरमा पसेको सबैभन्दा पहिले आफूले नै थाहा पाएको उनले बताइन् । थाहा पाउन्जेल बाढी घरको माथि–माथिसम्म पुगिसकेको थियो । हेर्दाहेर्दै बाढीले घरको गारो भत्कायो । उनीहरू अत्तालिए । बचाउ–बचाउ भन्दै गुहार मागे । तर, कसैले सुनेनन् । टोल सुनसान थियो । कसले सहयोग गर्नू ? बाढीले उनीहरूलाई बगाउँदै लग्यो । बगाउँदै गर्दा सानुमायाले एउटा रूख समात्न सकिन् र त्यसमा चढिन् । अब बाँचिन्छजस्तो भएको थियो, त्यसैले रूखमै चढिरहेको वेला सानुमायाले काठमाडौंमा रहेकी आमालाई फोन गरेर बाढीले बगाएको, तर आफू रूखमा चढेर बाँच्न सफल भएको जानकारी दिएकी थिइन् । तर, त्यही रूखले पनि बाढीको वेग थाम्न सकेन र केहीबेरमै ढल्यो । अब बाढीले रूखसँगै सानुमायालाई पनि बगाउन थाल्यो ।

सानुमायालाई पौडी खेल्न आउँदैन । तर, बाढीमा फसेपछि रूखका हाँगाबिँगा समाउँदै उनले पौडने कोसिस गरिन् । ‘मलाई बाँच्न लेखेको रहेछ,’ सानुमायाले भनिन्, ‘जे–जे भेटेँ, समात्दै हातखुट्टा चलाउँदै गएँ ।’

उनलाई बाढीले ठुल्ठूलो झड्काका साथ बगाएको थियो । बाढीमा आएका मुढा पटक–पटक उनको खुट्टामा नराम्रोसँग ठोक्किए । तैपनि, त्यस्तै मुढाको भरमा उनले आफूलाई किनारसम्म पुर्याउन सकिन् । सानुमायालाई शनिबार बिहान साढे पाँच बजे हात्तीमुडाको खोलामा दाउरा टिप्न आएका स्थानीय बिरुऋषि देवले उद्धार गरेका थिए । यतिन्जेलसम्म उनी १० किलोमिटर तल पुगकी थिइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment