
५ चैत, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित प्रमुख दैनिक पत्रिकाहरूको पहिलो पृष्ठ आशा जगाउनेभन्दा पनि निराशाजनक खबरहरूले भरिएका छन् । खासगरी स्वास्थ्य, पूर्वाधार निर्माण र वैदेशिक रोजगारभित्रको बेथिति तथा सरकारी कार्यालयहरुको सेवा प्रवाहको खस्कँदो अवस्थाको चित्र पत्रिकाहरुले प्रस्तुत गरेका छन् । यद्यपि, स्वदेशी उत्पादनको बजार व्यवस्थापन गर्न सरकारले पशुपंक्षी आयातमा लगाएको रोकलगायतका आशा जगाउने खालका केही समाचार पनि पत्रिकाहरूमा छन् ।
पीडितलाई नै बिचौलिया बनाएर ठगी
कान्तिपुरले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीको एउटा नमूना प्रस्तुत गरेको छ । समाचार अनुसार, मानव तस्करहरुले केही पीडित युवकहरुलाई नै बिचौलिया बनाएर उल्टै अढाइ करोड ठगी गरेका छन् ।
कान्तिपुर लेख्छ– बिचौलियाको फन्दामा परेर पछिल्लोपटक रोल्पा र दाङका ५ युवाले झण्डै दुई करोड रुपैयाँ गुमाएका छन् ।
समाचार अनुसार, यो धन्दामा यसअघि जस्तै कलाकारको आवरणमा अवैध धन्दा गरिरहेका सुदर्शन गौतम जोडिएका छन् । उनले हैटी पुर्याएर अलपत्र पारेका युवाले डुबेको रकम उठाउने उपायका रुपमा युवालाई ठगेको खुलेको छ ।
अमेरिकाले राख्यो सहयोगको बदला सर्त
अमेरिकाले कबुल गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौताअन्तर्गतको करिब ५६ अर्ब सहयोगका लागि नेपालसँग सर्त राखेको छ ।
कान्तिपुरका अनुसार, अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पियोले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गरेर उत्तर कोरियाविरुद्ध राष्ट्रसंघीय सुरक्षा परिषद्ले लगाएको नाकाबन्दीको समर्थन गर्नुपर्ने र तिब्बती शरणार्थीलाई पक्राउ गरी चीन फर्काउन नहुने सर्त राखेका हुन् ।
श्रम कार्यालयमा सेवाग्राहीलाई मुड्की
सरकारी कार्यालयहरुको सेवाप्रवाहबारे निरन्तर स्थलगत रिपोर्टिङ गर्दै आएको अन्नपूर्णले आज श्रम कार्यालय जनकपुरको रिपोर्ट पस्केको छ । रिपोर्टअनुसार, यहाँ सेवा लिन सेवाग्राहीले ठूलो सास्ती पाउने गरेका छन् । प्रहरीले नै सेवाग्राहीलाई दुव्र्यवहार गर्ने गरेको छ । एक सेवाग्राहीलाई प्रहरीले कुटपिट गरेको तस्वीर छापेको अन्नपूर्णले सेवा सुधार गर्न सुझाव दिएको छ ।
युद्धस्थलमा बुद्ध
अन्नपूर्णमै युद्धभूमिका रुपमा परिचत रोल्पामा बुद्धको स्मारक बनाइएको खबर पनि छ । समाचार अनुसार, फेरि युद्ध नहोस्, शान्ति छाओस् भन्ने कामना गर्दै रुकुमपूर्वको भूमे गाउँपालिकाको महत गाउँमा युद्ध फिचर र शान्ति स्मारक निर्माण गरिएको छ ।
पशुपंक्षी आयात बन्द
मासुको उपभोगका लागि यसअघि भारतबाट पशुपंक्षीको अवैध आयात हुने गरेकोमा सरकारले त्यसमा कडाइ गरेको छ । सरकारले माछामा पनि रोक लगाएको छ ।
अन्नपूर्णका अनुसार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको निर्देशनमा पाँच दिनदेखि पशुपंक्षी आयात ठप्प छ । मन्त्रालयले स्वदेशी उत्पादनका लागि बजार व्यवस्थापन गर्न, उपभोक्तालाई स्वच्छ, स्वस्थ मासु उपभोग गराउन र मासुजन्य पशुपंक्षीमा मुलुकलाई आत्मनिर्भर बनाउन नयाँ रणनीति अख्तियार गरेको समाचारमा उल्लेख छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
प्रतिक्रिया 4