+
दसैं विशेष :

चार दशकदेखि नताेडिएकाे बैकुण्ठ मानन्धरको कीर्तिमान

२०८३ कात्तिक  ४ गते १३:५६ २०८३ कात्तिक ४ गते १३:५६

खेलाडीलाई प्रतियोगितामा सहभागी गराउनु मात्रै राज्यको जिम्मेवारी पूरा हुनु होइन । उनीहरूलाई नियमित प्रशिक्षण, आवश्यक पोषण, प्रतिस्पर्धाका अवसर र भविष्यप्रतिको भरोसा दिनुपर्छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैकुण्ठ मानन्धरले १९८७ मा बनाएको २ घण्टा १५ मिनेट ३ सेकेन्डको म्याराथन कीर्तिमान झन्डै चार दशकसम्म पनि कायम छ ।
  • मानन्धरले सन् १९८३, १९८५ र १९८७ का सागमा लगातार स्वर्ण जिते र नेपाललाई पहिलो स्वर्ण दिलाए ।
  • उनले सन् १९७६, १९८०, १९८४ र १९८८ का ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरे, तर १९९२ को ओलम्पिकमा नयाँलाई मौका दिन खेलेनन् ।

४ कात्तिक, काठमाडौं । दौडेरै देशलाई अन्तर्राष्ट्रिय पहिचान दिए, दक्षिण एसियाली खेलकुदमा लगातार तीन स्वर्ण पदक जिते । चार ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरे । र, नेपाली एथलेटिक्सलाई दशकौंसम्म चुनौती दिइरहने कीर्तिमान बनाए । उनी हुन्– बैकुण्ठ मानन्धर ।

७५ वर्षको बुढ्यौलीमा पनि उनी प्रायजसो दशरथ रंगशालाको ट्र्याक एन्ड फिल्डमा भेटिन्छन् । उनको मनमा खेलप्रतिको लगाव अझै कम भएको छैन । साताको दुई दिन रंगशाला पुग्न उनी दौडिन्छन्, खेलाडी नियाल्छन् र नेपाली एथलेटिक्सको अवस्थाबारे चासो राख्छन् । कुनै समय अन्तर्राष्ट्रिय एथलेटिक्समा नेपालको नाम चम्काएका मानन्धर अहिले पनि खेलकुदबाट टाढा हुन सकेका छैनन् ।

नेपाली म्याराथनका पर्याय मानिने मानन्धरको नामसँगै जोडिएर आउँछ सन् १९८७ मा कायम भएको २ घण्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमान ।

दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन स्वर्ण जितेर इतिहास बनाएका उनको यो कीर्तिमान झन्डै चार दशक पुग्न लाग्दा पनि कायमै छ । उक्त कीर्तिमान नेपाल मात्रै होइन, दक्षिण एसियाली देशका खेलाडीले समेत तोड्न सकेका छैनन् ।

आफ्नो नाममा रहेको कीर्तिमान अझै नतोडिएकोमा उनलाई गर्वभन्दा बढी चिन्ता छ । उनी चाहन्छन् कुनै नेपाली धावकले त्यो समयलाई पछाडि पारोस् र नेपाली एथलेटिक्सले नयाँ उचाइ हासिल गरोस् ।

‘मैले रेकर्ड बनाएको धेरै भइसक्यो, म चाहन्छु, मेरो रेकर्ड ब्रेक होस्, प्रत्येक वर्ष नयाँ–नयाँ खेलाडीले रेकर्ड बनाउन्,’ मानन्धर भन्छन्, ‘तर, हामीले यति पुरानो रेकर्डमा गर्व गर्नुपर्ने अवस्था दु:खद हो ।’

उनी त्यतिमा मात्र सीमित छैनन् । सागमा लगातार तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी र चार फरक संस्करणको ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने धावक पनि हुन् । कतिसम्म भने उनले नयाँ खेलाडीलाई मौका दिनुपर्छ भनेर छनोट भएर पनि सन् १९९२ को ओलम्पिक खेलेका थिएनन् ।

‘मैले चार पटक खेलिसकेँ, अब मैले मात्र खेलिरहे नयाँ केटाहरूले कहिले अवसर पाउने ? त्यहिँ भएर मैले नखेलेको हो,’ उनी सम्झिन्छन् ।

मानन्धरले करिब २० वर्ष आफ्नो दबदबा कायम राखे । उनले सन् १९८७ मा भारत कोलकातामा सम्पन्न तेस्रो दक्षिण एसियाली खेलकुद (साफ) मा २ घण्टा १५ मिनेट ३ सेकेन्डको रेकर्ड बनाएका थिए । जुन हालसम्म तोडिएको छैन ।

त्यस्तै उनले सन् १९८३ मा काठमाडौंमा भएको साग, १९८५ मा बंगलादेश र १९८७ मा भारतमा भएको सागमा लगातार स्वर्ण पदक जितेका थिए । उनी सागमा नेपाललाई पहिलो स्वर्ण पदक जिताउने खेलाडी समेत हुन् ।

सन् १९७६, १९८०, १९८४ र १९८८ को ओलम्पिकमा पनि उनी सहभागी भए । नयाँलाई अवसर दिनुपर्छ भनेर सन् १९९२ को ओलम्पिकमा भने छनोट भएर पनि उनी खेलेनन् ।

मानन्धर अहिले पनि नयाँ पुस्ताले आफ्नो उपलब्धि उछिनोस् भन्ने चाहन्छन् । तर, कीर्तिमान तोडिन नसक्नुमा खेलाडीको क्षमतामाथि मात्रै प्रश्न उठाएर नपुग्ने उनको बुझाइ छ । खेलाडी तयार पार्ने प्रशिक्षण प्रणाली, पोषण, सुविधा र दीर्घकालीन योजनाको पनि समीक्षा हुनुपर्ने मानन्धरको ठम्याइ छ ।

अग्रज खेलाडीको अनुभव उपयोग भएन

पहिले झैं नियमित रंगशाला आउन नसके पनि खेलकुदको अवस्था र खेलाडीले भोगिरहेका समस्याले मानन्धरलाई चिन्तित बनाइरहन्छ । ‘खेलाडीमा मिहिनेतको कमी मात्रै देखाएर हुँदैन, उनीहरूलाई सफल बनाउन राज्य र खेलकुदका निकायले कस्तो वातावरण तयार पारेका छन् भन्ने प्रश्न पनि गर्नुपर्छ,’ उनी भन्छन् ।

अहिलेको खेलकुदमा आफूहरू जस्ता अग्रज खेलाडीको अनुभव उपयोग हुन नसकेको मानन्धरलाई लाग्छ । ‘खेलकुदमा नयाँ नेतृत्व आउँछ, नयाँ योजना र कार्यक्रमका कुरा हुन्छन् तर वर्षौंसम्म अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरेका खेलाडीको अनुभव लिन सम्बन्धित निकायले पर्याप्त चासो देखाउँदैनन्,’ उनको गुनासो छ, ‘हामीजस्ता मान्छेसँग सल्लाह लिन सकिन्छ नि ! बोलाएर अनुभव सोध्न सकिन्छ, तर हामीसँग सल्लाह लिने कोही हुँदैन ।’

गत असोजमा सम्पन्न २०औं एसियाली खेलकुदमा नेपाल दुई कांस्य पदकमै सीमित भयो । नेपालको प्रदर्शनबाट मानन्धर सन्तुष्ट छैनन् । पदक जित्ने खेलाडीको मिहिनेत स्वीकार गरे पनि त्यसलाई समग्र तयारीको सफलताका रूपमा मात्र हेर्न नहुने उनी बताउँछन् ।

‘त्यो दुई वटा पदक पनि भाग्यले पाएको भनौँ न, त्यो कसरी भयो, उनीहरूलाई थाहा होला र त्यो पनि खेलाडीको मिहिनेत हो,’ उनी भन्छन् ।

आवश्यक खेलाडी, प्रशिक्षण र पूर्वाधार तयार नगरी नतिजा अपेक्षा गर्नु व्यावहारिक नहुने मानन्धरको अनुभव छ । ‘चार वर्षभित्रै पदक जित्ने लक्ष्य राख्नु आफैंमा गलत होइन, तर त्यो लक्ष्य हासिल गर्न आवश्यक खेलाडी, प्रशिक्षक, प्रशिक्षण र पूर्वाधार तयार नगरी पदकको अपेक्षा गर्नु व्यावहारिक हुँदैन,’ उनी भन्छन् ।

प्राय: नेपाली खेलकुदमा प्रतियोगिता नजिकिएसँगै प्रशिक्षण गर्ने प्रावधान छ । जुन मानन्धरलाई मन परेको छैन । एउटा प्रतियोगिता सकिएपछि मात्रै अर्को प्रतियोगिताको तयारी थाल्ने प्रवृत्तिले नेपाली खेलकुदलाई दीर्घकालीन रूपमा अघि बढाउन नसक्ने उनी बताउँछन् ।

‘खेलाडी तयार गर्न १० वर्ष लाग्छ, अहिले १२–१३ वर्षका खेलाडीलाई प्रशिक्षण दिन सुरु गर्नुपर्छ, बिस्तारै तयार गर्दै गएपछि पो खेलाडी आउँछ,’ उनी भन्छन्, ‘एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता सकिएपछि अर्को प्रतियोगिताको तयारी सुरु गरेर हुँदैन ।’

खेलाडी तयार पार्ने काम सानै उमेरदेखि नै योजनाबद्ध रूपमा अघि बढाउनुपर्नेमा मानन्धरको जोड छ । ‘कुन खेलमा कस्तो सम्भावना छ, कुन उमेरदेखि प्रशिक्षण सुरु गर्ने, कस्तो प्रशिक्षक आवश्यक पर्छ र खेलाडीलाई कुन स्तरसम्म पुर्‍याउने भन्ने कुरा पहिले नै निर्धारण गर्नुपर्छ,’ उनी भन्छन् ।

मानन्धर नेपाली खेलकुदमा प्रशिक्षणसँगै पोषण व्यवस्थापनलाई पनि उत्तिकै महत्त्व दिन्छन् । खेलाडीको शारीरिक बनावट, खेलको प्रकृति र प्रशिक्षणको तीव्रता अनुसार खानपानको व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

‘वेटलिफ्टर र म्याराथन धावकलाई एउटै किसिमको खाना दिएर हुँदैन,’ उनी भन्छन्, ‘९० किलोको खेलाडी र ५० किलोको खेलाडीको आवश्यकता फरक हुन्छ, त्यो कुरा त भोगेको मान्छेलाई थाहा हुन्छ ।’

समग्र खेलकुद प्रणालीको समीक्षा आवश्यक

जितबहादुर केसीलाई नेपाली खेलकै जिउँदो इतिहासका रूपमा लिइन्छ । जितबहादुरले सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको पहिलो एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिपको म्याराथनमा पदक जित्दै नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका थिए । उनले सीमित सुविधा र कमजोर प्रशिक्षण व्यवस्थाबीच म्याराथनमा प्रतिस्पर्धात्मक समय निकालेका थिए । जितबहादुरलाई सम्झिँदै मानन्धर त्यसपछि नयाँ पुस्ताले उपलब्धि सुधार्न नसक्नुमा खेलाडीको प्रयाससँगै समग्र प्रणालीको पनि समीक्षा गर्नुपर्ने तर्क गर्छन् ।

मानन्धरको खेल जीवनमा पनि पर्याप्त सुविधा थिएन, तर त्यसबेला खेलाडीले सिनियरको अनुभव र सुझावका आधारमा अभ्यास गर्थे । अहिले खेलकुदमा प्रविधि र वैज्ञानिक ज्ञान उपलब्ध हुँदा पनि त्यसलाई मैदानमा प्रभावकारी रूपमा प्रयोग गर्न नसकिएको अनुभव उनको छ ।

नयाँ नेतृत्व आएपछि पुराना कमजोरी सुधारिने अपेक्षा गरिए पनि खेलाडीका लागि ठोस योजना नदेखिएको मानन्धरको अनुभव छ । ‘खेलकुदका विभिन्न निकायमा नेतृत्व परिवर्तन हुँदैमा प्रणालीमा सुधार आउँदैन,’ उनी भन्छन्, ‘खेलाडीका लागि नियमित प्रतियोगिता, व्यवस्थित प्रशिक्षण, दक्ष प्रशिक्षक र भविष्य सुरक्षित गर्ने नीति आवश्यक हुन्छ ।’

पछिल्लो समय खेलाडी पलायन भएको देख्दा मानन्धर चिन्तित देखिन्छन् । खेलाडीले आफ्नो खेल जीवनलाई निरन्तरता दिएर सम्मानजनक जीवन बिताउन सक्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

‘खेलाडीलाई प्रतियोगितामा सहभागी गराउनु मात्रै राज्यको जिम्मेवारी पूरा हुनु होइन, उनीहरूलाई नियमित प्रशिक्षण, आवश्यक पोषण, प्रतिस्पर्धाका अवसर र भविष्यप्रतिको भरोसा दिनुपर्छ,’ उनी भन्छन् ।

नेपालको भौगोलिक बनावट ध्यानमा राखेर सम्भावना भएका खेल पहिचान गरी लगानी बढाउनुपर्नेमा मानन्धरको जोड छ ।

कीर्तिमान चार दशक बैकुण्ठ मानन्धर

धेरै कमेन्ट गरिएका

लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय