+

वार्नरको आगमनपछि चर्चामा राजधानीको टोली काठमाडौं गोर्खाज

२०८३ कात्तिक  ४ गते १६:२४ २०८३ कात्तिक ४ गते १६:२४

नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी शरद भेषावकरलाई क्रिकेट निर्देशक बनाएको काठमान्डुले विश्वकप विजेता अस्ट्रेलियन लेजेण्ड ब्याटर डेविड वार्नरलाई अनुबन्ध गर्दै चर्चा बटुलेको छ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमान्डु गोर्खाजले तेस्रो एनपीएल सिजनका लागि अष्ट्रेलियन लेजेण्ड डेविड वार्नर, केएस भारत, सहान अराचिगे र विल बोसिस्टो अनुबन्ध गरेको छ।
  • काठमान्डुले कप्तान करण केसीसहित भीम शार्की, शाहब आलम, रासिद खान, आदिल आलम र सन्तोष यादवलाई अक्सनअघि रिटेन गरेको छ।
  • काठमान्डु पहिलो सिजन पाँचौं र दोस्रो सिजन लिग चरणमा तेस्रो हुँदै प्लेअफ पुगेको थियो, तर इलिमिनेटरमै लुम्बिनी लायन्ससँग पराजित भएको थियो।

काठमान्डु गोर्खाज नेपालको राजधानी शहर काठमाडौंको एक मात्र टोली हो । एनपीएल खेल्ने बागमती प्रदेशका दुई टोली मध्ये काठमान्डु एक हो । जसले विशेषगरी काठमाडौं उपत्यकाको प्रतिनिधित्व गर्दै एनपीएल खेल्छ । करण केसी यस टिमका कप्तान हुन् ।

सुरुवाती दुई सिनज ठिकठाक प्रदर्शनपछि काठमान्डुले तेस्रो सिजन टिमको मुख्य प्रशिक्षक लगायत केही परिवर्तन गरेको छ ।

नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी शरद भेषावकरलाई क्रिकेट निर्देशक बनाएको काठमान्डुले विश्वकप विजेता अस्ट्रेलियन लेजेण्ड ब्याटर डेविड वार्नरलाई अनुबन्ध गर्दै चर्चा बटुलेको छ।

वार्नर एनपीएल खेल्न आउने मध्येका ठूला खेलाडी बन्ने लाइनमा छन् । यसअघि शिखर धवन देखि मार्टिन गप्टिल, फाफ डुप्लेसी जस्ता विश्व स्टारले एनपीएल खेलिसकेका छन् ।

यस पटक काठमान्डुले वार्नर अनुबन्ध गर्दै माहोल तताएको छ भने पोखरा एभेन्जर्सले बंगलादेशी अलराउण्डर शाकिब अल हसनलाई अनुबन्ध गरिसकेको छ ।

यस्तै काठमान्डुले भारतीय राष्ट्रिय टिमका पूर्व खेलाडी विकेटकिपर केएस भारतलाई पनि अनुबन्ध गरेको छ भने श्रीलंकन ब्याटिङ अलराउण्डर सहान अराचिगेलाई पनि अनुबन्ध गरिसकेको छ । यस्तै अष्ट्रेलियाकै यू-१९ टोलीबाट खेलिसकेका पूर्व कप्तान विल बोसिस्टोलाई पनि अनुबन्ध गरेको छ ।

मिडियम पेसर करण केसीको कप्तानीमा रहेको काठमान्डु पहिलो सिजन पाँचौं स्थानमा रहँदै प्लेअफ पुग्न असफल भएको थियो । दोस्रो सिजन भने काठमान्डुले आफ्नो प्रदर्शन सुधार गर्दै लिग चरणमा तेस्रो भएर प्लेअफमा स्थान बनाएको थियो ।

तर इलिमिनेटरमै लुम्बिनी लायन्ससँग पराजित भएपछि काठमान्डुको यात्रा त्यो भन्दा अघि बढ्न सकेन ।

राजधानीको टिम काठमान्डुका लागि टीयू मैदान होम ग्राउण्ड जस्तै हुनेछ । त्यसको पनि फाइदा काठमान्डुलाई हुनेछ ।

रिटेन्सन र अक्सन

काठमान्डुले अक्सनअघि आफ्नो कोर टिमलाई रिटेन गरेको थियो । जसमा कप्तान करण केसीसँगै ब्याटर भिम शार्की, अलराउण्डरद्वय आदिल आलम र सन्तोष यादव अनि बलर राशिद खान र शाहब आलम छन् ।

दोस्रो सिजन अक्सनमा अनुबन्ध गरेका आदिल र सन्तोषलाई काठमान्डुले रिटेन गरेको हो । यस्तै दिपेश कँडेललाई भने काठमान्डुले रिलिज गरेको थियो । ६ खेलाडी मात्र रिटेन गरेको काठमान्डुले अक्सनमा ७ खेलाडी अनुबन्ध गरेको थियो ।

तर अक्सनमा भने काठमान्डुले कुनै ठुलो खेलाडी लिएन । ७ खेलाडी लिँदा पनि जम्मा १७ लाख (सबै भन्दा कम खर्च) खर्च गरेको काठमान्डुले शाहिल पटेल, प्रसिद्ध जैसी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, देव शाह, सूयान्शु कोइरालालाई अनुबन्ध गरेको थियो ।

त्यसमा शाहिललाई ५ लाख खर्चेको काठमान्डुले अन्य खेलाडीलाई समान २ लाखमा पायो । काठमान्डुले अक्सनमा विशेषगरी युवा खेलाडीहरूमा ध्यान दिएको देखियो ।

वार्नरले ल्याएको चर्चा

तेस्रो सिजनका लागि एनपीएलमा अनुबन्ध भएको सबैभन्दा ठुलो नाम नै अष्ट्रेलियन लेजेण्ड डेविड वार्नर हुन् । पहिलो सिजन देखि नै वार्नर एनपीएल खेल्न आउने हल्ला थियो ।

तर तेस्रो सिजनमा आएर काठमान्डु गोर्खाजले वार्नरलाई ल्याउने सपना पूरा गरेको छ । काठमान्डुले लामो समयको मिहिनेतपछि वार्नरलाई अनुबन्ध गर्न सफल भएको हो ।

अष्ट्रेलियाका लागि ओडिआई र टी२० विश्वकप दुवै जितिसकेका वार्नरले इन्डियन प्रिमियर लिग (आईपीएल) देखि विश्वका विभिन्न फ्रेन्चाइज लिगहरू खेलिसकेका छन् ।

उनी अष्ट्रेलियको सर्वकालिन उत्कृष्ट ओपनरमध्येमा पर्छन् । त्यस्ता खेलाडी अनुबन्ध गर्दै काठमान्डुले तेस्रो सिजनअघि विपक्षी टिमका लागि ठुलो सन्देश पनि दिएको छ । नेपाली क्रिकेट समर्थकहरू वार्नरको खेल हेर्न आतुर पनि छन् ।

यस्तै वार्नरसँगै अष्ट्रेलियाकै अलराउण्डर विल बोसिस्टोलाई समेत काठमान्डुले अनुबन्ध गर्दै मिडल अर्डर र स्पीन बलिङ बलियो बनाएको छ ।

भारतका लागि टेस्ट क्रिकेट खेलेर केही समयअघि सन्यास लिएका विकेटकिपर केएस भरतले पनि यस पटक काठमान्डु गोर्खाजबाट खेल्नेछन् ।

वार्नर र भरतको अनुबन्धले काठमान्डुलाई टप अर्डरमा समस्या हटेको छ । विकेटकिपरको रुपमा भरत हुनेछन् । टप अर्डरमा नेपालका भीम शार्की छन् भने अलराउण्डर आदिल आलम छन् ।

यस्तै सहानले मिडल अर्डमा ब्याटिङ र स्पीन बलिङमा साथ दिनेछन् । एनपीएलको पहिलो र दोस्रो संस्करण कर्णाली याक्सबाट खेलेका बोसिस्टो यस पटक काठमान्डुको जर्सीमा खेल्नेछन् । उनले मिडल अर्डरमा ब्याटिङ गर्नुका साथै स्पीन बलिङ गर्छन् ।

बोसिस्टो र सहानसँगै नेपालका शाहब आलमले काठमान्डुको स्पीन डिपार्टमेन्ट सम्हाल्नेछन् ।

पेस बलिङमा कप्तान करण केसीसँगै रासिद खान छन् । आदिल आलमले पनि मिडियम पेसमा सघाउनेछन् ।

अब काठमान्डुलाई पेस बलिङलाई अझ बलियो बनाउन विदेशी पेस बलर आवश्यक देखिन्छ ।

दोस्रो सिजन काठमान्डुबाट जेरार्ड एरासमस, मिलिन्द कुमार, बेन चार्ल्सवर्थ, जोन सिम्पसन, रिकार्डो भास्कोनेसेलोस, सन्नी पटेलले खेलेका थिए । तेस्रो सिजनका लागि काठमान्डुले अहिलेसम्म चार खेलाडी अनबन्ध गरिसक्दा कुनै पनि खेलाडी दोहोरिएका छैनन् । नामिबियाका कप्तान एरसामसले पहिलो र दोस्रो सिजन काठमान्डुबाट खेलेका थिए ।

काठमान्डु गोर्खाज टिम

रिटेन खेलाडीहरू : करण केसी, भीम शार्की, शाहब आलम, रासिद खान, आदिल आलम, सन्तोष यादव

अक्सनमा अनुबन्ध खेलाडी : शाहिल पटेल, प्रसिद्ध जैसी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, देव शाह, सूयान्शु कोइराला

विदेशी खेलाडी : डेविड वार्नर, केएस भरत, सहान अराचिगे, विल बोसिस्टो

क्रिकेट निर्देशक : शरद भेषावकर

एनपीएल २०२६ काठमान्डु गोर्खाज

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय