Comments Add Comment

नेशनल मेडिकल कलेजको सम्वन्धन खारेज गर्न गगन थापाको माग

संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

८ भदौ, काठमाडौं । नेशनल मेडिकल कलेजको सम्वन्धन खारेज गर्न माग गर्दै संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । त्रिभुवन विश्वविद्यालयले नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेकाले त्यसलाई खारेज गर्न माग गर्दै पूर्वस्वास्थ्य मन्त्री समेत रहेका कांग्रेस सांसद गगन कुमार थापाले जरुरी सार्बजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धनको सन्दर्भमा त्रिविले गरेको गलत निर्णयले नेपालको स्वास्थ्य सेवामा दीर्घकालिन असर पर्ने दाबी थापाको छ ।

विगतमा सरकारले पटक-पटक राष्ट्रिय चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्वन्धन नदिने र काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने समझदारी डा. गोविन्द केसीसँग गरेको छ । तर, सहमति कार्यान्वयन नभएको भन्दै केसी पटक-पटक अनसनसमेत बस्दै आएका छन् । यसै बेला विगतका समझदारी प्रतिवद्धताको भावना र मर्म विपरित दिइएको सम्बन्धन अविलम्ब खारेज गर्न थापाले माग गरेका छन् ।

‘सर्वोच्च अदालतको पुरानो निर्णयलाई आधार बनाएर नेशनललाई सम्वन्धन दिइए पनि अर्को निर्णय भइसकेकाले त्रिविको यो निर्णयले सरकार स्वयंको पटक-पटक गरेको प्रतिवद्धताको बर्खिलाप तथा यस सम्वन्धमा अदालतले गरेको पछिल्लो फैसलाको प्रतिकुल र अपव्याख्या समेत गरिएको छ,’ प्रस्तावमा भनिएको छ, ‘योभन्दा पनि गुणस्तरीय स्वास्थ्य प्राप्त गर्ने नागरिकको अधिकार र भविष्य माथि नै खेलवाड गरिएको छ । जब जनस्वास्थ्यको समेत खेलवाड गर्ने निर्णयहरु गरिन्छन् त्यतिबेला सम्मानित संसदले सरकारको निर्णय सच्याउन र थप समस्या आउन नदिन आवश्यक हस्तक्षेप गर्नैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment