Comments Add Comment

भविनको ‘छायाँ’ विमोचित

१७ भदौ, काठमाडौं । युवा कवि भविन लिम्बूको कविता संग्रह छायाँ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, कवि राधेश्याम लेकाली, निबन्धकार युवराज नयाँघरे, समालोचक महेश पौडेल, कृतिकार भविन लिम्बूले संयुक्त रुपमा छायाँको विमोचन गरेका हुन् ।

छायाँबारे उपकुलपति घिमिरेले भने,  ‘नयाँपन, नयाँशैली भित्रिएको छ, यो छायाँमार्फत । आजको कविताले खोजेको खास धार यो कृतिमा भेटिन्छ ।’

यसैगरी विमोचित कृतिबारे निबन्धकार नयाँघरेले छायाँले देश र परदेश जोड्ने भावनात्मक पुलको निर्माण गरेको बताए । ‘सरलतामा धेरै बलिया विचार पोखिएको यो सुन्दर कृति हो’, उनले भने ।

समालोचक पौडेलले छायाँमा जातियता र राजनीतिको कुनै पनि छोइछिटो नरहेको विचार पोखे । ‘कविताको मौलिक स्वाद यसमा छ’, उनले भने ।

कृतिका लेखक लिम्बूले आफू विदेशमा बस्दा पैसाभन्दा पनि साहित्य–कलामा बढी समर्पित भएको धारणा राखे । कविता लेख्दा मलाई ठूलो सन्तुष्टि हुन्छ । सिर्जनाले दिने सुख अरुबाट पाइँदैन’, उनले भने ।

साहित्यकार लेकालीले भविनका कविताले आफ्नो मौलिक भाव र चरित्रमाथि उठान गरेको बताए । उनले भने, ‘भविनमा ज्यादै कलात्मक लेखनीका गुणहरु देखिन्छन् ।’

लामो समयदेखि हङकङमा रहँदै आएका कवि लिम्बू अनेकौं सांस्कृतिक, सामाजिक, साहित्यिक संघ–संस्थामा आवद्ध छन् । छायाँ भविनको दोस्रो कृति हो । यसअघि उनको ‘हङकङ’ चसमिस कविता सङ्ग्रह आइसकेको छ ।

उक्त अवसरमा वीपी चिन्तन प्रतिष्ठान हङकङका अध्यक्ष कुलप्रसाद गुरुङ, कवि टङ्क सुब्बा, बाबा बस्नेत, सन्ध्या पहाडी, डा. गुनु घर्तीलगायतले आ–आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment