Comments Add Comment

एनआरएन जापानले पूर्णता पायो, कसले कति मत पाए (मतपरिणामसहित)

३ सेप्टेम्बर,टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले २०१७-१९ का लागि नयाँ नेतृत्व पाएको छ ।

आठौं महाधिवेशन सकिएको लगभग एक महिनापछि आइतबार सम्पन्न निर्वाचनमा अनलाइन भोटिङ प्रणालीमार्फत मतदान गर्दै १० हजार ३२७ सदस्य रहेको एनआरएनए जापानले पूर्णता पाएको हो ।

जापानमा क्रियाशील राजनीतिक दल, सामाजिक संघसंस्थावीच भएको छलफलमा सहमति जुट्न नसकेपछि अन्ततः निर्वाचन समितिले निर्वाचन गराउन बाध्य भएको हो ।

यसअघि तीन ठूला राजनीतिक दलको सहमतिमा एनआरएनए जापानको अध्यक्षमा कांग्रेसनिकटका टासी वाङ्दी लामा, महासचिवमा एमालेनिकट बुद्धिराज घिमिरे र कोषाध्यक्षमा माओवादी निकट कालिका थापा सर्वसम्मत् चयन भएका थिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारीको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका थिए । महिला उपाध्यक्षमा अन्तिम समयमा सहमति भएपछि अनिता गुरुङ (लामा)को लागि बाटो खुलेको थियो ।

एनआरएनए जापानको १३ वटा क्षेत्रमा मतदान केन्द्र निर्धारण गर्दै एकसाथ सुरु भएको निर्वाचनबाट उपाध्यक्षमा सरोजकुमार खत्री र शिवप्रसाद पौडेल निर्वाचित भएका छन् । पौडेलले ४ हजार २७६ मत प्राप्त गरेका थिए भने खत्रीले ३ हजार ९५८ मत पाए ।

सचिवमा जनकविक्रम शाही विजयी भएका छन् । शाहीले ३ हजार ७७४ मत ल्याए भने उनका प्रतिद्वन्दी बाशुदेव लामिछानेले ३ हजार १९१ मत प्राप्त गरे ।

सह-कोषाध्यक्षमा पनि अनिल थापा (राम)को एकल उम्मेदवारी परेको थियो । थापा पनि स्वतः निर्विरोध भए ।

त्यस्तै महिला सदस्यमा सिर्जना पाण्डे निर्वाचित भएका छन् । पाण्डेले अपत्यारिलो तरिकाले विजयी प्राप्त गरेको धेरैले अनुमान गरेका छन् । उनले ३ हजार ३४० मत प्राप्त गर्दै जित निकालिन् भने उनलाई पछ्याउदै गीता आचार्य (स्मृति)ले भने २ हजार ८५५ मत पाइन् ।

५ सदस्यका लागि २१ जनाको उम्मेदवारी परेको सदस्य पदमा भने निकै प्रतिस्पर्धा देखिएको छ । हस्त लामाले ३ हजार १ मत, बालकृष्ण कँडेल (हिमाल)ले २ हजार ५ सय ८७ मत, लालबहादुर रावलले २ हजार ५ सय ६२ मत, नारायण खड्काले २ हजार ४ सय ४४ मत र राजनकुमार पौडेलले २ हजार ४ सय १२ मत ल्याएर विजयी भए ।

आइतबार भएको मतदानमा जम्मा ७२.६५ प्रतिशत मत खसेको निर्वाचन समितिका संयोजक ओम गुरुङ बताए । १० हजार ३ सय २७ मतदाता रहेको एनआरएनए जापानको आज सम्पन्न निर्वाचनमा जम्मा ७ हजार ५ सय ३ मत खसेको थियो ।

त्यस्तै जापानबाट केन्द्रमा प्रतिनिधित्व गर्नका लागि आईसीसीमा कपिलदेव थापा, दिनेशकुमार गुरुङ, अनुज थापा, डिलाराम खरेल र केशर गिरी चयन भएका छन् ।

हेर्नुस मतपरिणाम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment