Comments Add Comment

नेपालको मेडिकल रिपोर्ट मान्दैन दिल्लीस्थित स्पेनीस दूतावास

४ सेप्टेम्बर, बार्सिलोना। स्पेनमा रहेका नेपालीहरुलाई परिवार पुनर्मिलनको प्रक्रिया दिनप्रतिदिन जटिल बन्दै गएको छ। प्रक्रियाका लागि नै दिल्लीस्थित स्पेनिस दूतावासमा पटक पटक धाउनु पर्ने, अनावश्यक झन्झट व्यहोर्नु पर्ने हुँदा पनि झन् जटिल बन्दै गएको हो।

परिवार पुनर्मिलनको प्रक्रियामा बुझाउनु पर्ने मेडिकल रिपोर्ट समेत दिल्ली कै अस्पतालमा पुगेर बनाउनु झन्झट छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाले नेपालका अस्पतालबाट बनाइएको रिपोर्ट दिल्ली दूतावासमा मान्यता नदिनु नेपालको स्वास्थ्य क्षेत्रकै वेइज्यत भएको बताउँछन्।

उनले भने, ‘हाम्रा परिवारले दिल्लीको स्पेनिस दूतावासमा पेश गर्नु पर्ने, मेडिकल रिपोर्ट,नेपालका अस्पतालबाट बनाइएको मान्यता दिइदैन, यो सरासर गलत हो । कि त स्पेनको परराष्ट्र मन्त्रालयले नै नेपालका अस्पतालमा बनाइएको रिपोर्ट किन मान्य छैन कारणसहित बोल्नु प¥यो । हैन भने दिल्ली दूतावासले गरेको गल्तिलाई तत्काल सच्याउनु पर्छ।’

केही वर्ष पहिलेसम्म आफ्नै परिवार स्पेन ल्याउँदा नेपालको मेडिकल रिपोर्टले मान्यता पाएको भए पनि पछि आएर हटाइएको सापकोटाले बताउँछन्।

१८ महिना बितिसक्यो,अझै परिवार ल्याउन पाइएन

एनआरएनए स्पेनमा महासचिव कृष्णप्रसाद भुसालले स्पेनमा परिवार ल्याउन १८ महिना अघिदेखि प्रक्रिया थालेको भए पनि अझै ल्याउन नसकेको गुनासो पोखे। दिल्लीस्थित स्पेनिस दूतावासको मनपरीका कारणले नै आज धेरै नेपालीहरुले दुख झेलिरहेको भुसालले बताए।

उनले भने, ‘फ्यामिली पेपर पास गर्न ५-६ महिना स्पेनमा नै बित्छ। फेरि दिल्लीमा डकुमेन्ट बुझाउन मात्र ३-४ महिना कुर्नु पर्ने । उता डकुमेन्ट पेश गरेको ५-६ महिना पछि पनि दिल्लीबाट अनुगमन टोली नेपाल नपुगे पछि अहिले धेरै नेपालीहरु समस्यामा परेका छौ। बिगत १८ महिना देखि म आफैँ यसैको तनावमा छु।’

दिल्लीमा एजेन्टले यसरी लिन्छ चर्को रकम

भिसा शुल्कसहित अनुगमन खर्चका लागि ( टोली नेपाल आउन जानका लागि) दूतावासमा ४२ हजार ५०० भारतीय रुपैयाँ बुझाउनु पर्ने भए पनि नेपालीहरु चर्को रकम बुझाउँदै आएका छन्।

दिल्लीमा नै बसेर परिवारलाई प्रक्रिया गर्न लगाउँदा झन्झट र तनाव हुने हुँदा सिधै एजेन्ट मार्फत रकम बुझाउने गरेका हुन्।

स्पेनमा परिवार ल्याउने प्रक्रिया गरिरहेका एक नेपालीले भने, ‘मेडिकल रिपोर्ट बनाउदा पनि सहयोग पाइने,दिल्लीस्थित नेपाली दूताबासमा छाप हान्न जानु पर्यो डकुमेन्ट बुझाउनु प¥यो, सबै झन्झट भन्दा ८०-८५ हजार रुपैयाँ एजेन्टलाई बुझाए सबै काम गरिदिन्छ,परिवार पनि लामो समय दिल्ली बस्न परेन।’

स्रोतका अनुसार एजेन्टहरुले परिवारको संख्या अनुसार फरकफरक रकम लिदै आएका छन् । झन्डै ९८ प्रतिशतले नै यसरी  चर्को रकम बुझाएर एजेन्ट मार्फत नै काम लगाउने गरेको पाइन्छ ।

 के हो परिवार पुनर्मिलनको प्रक्रिया ?

स्पेनमा अस्थायी वा स्थायी रुपमा काम गर्ने अनुमति पाए पछि (रेसिडेन्सी कार्ड) स्पेन सरकारले परिवार ल्याउन समेत अनुमति दिएको छ। यसैको प्रक्रियालाई स्पेनस्थित नेपालीहरुले परिबार पुनर्मिलनको प्रक्रिया भन्दै आएका हुन्।

स्पेनमा बस्ने अनुमति पाए पछि नेपालमा रहेका श्रीमान् / श्रीमती वा  १८ वर्ष मुनिका छोराछोरीहरुलाई यतै रहने गरी  ल्याउने प्रक्रिया सुरु गरिन्छ। प्रक्रिया अन्तर्गत,परिबारका रहनका लागि मापदण्ड अनुसारको घर नगरपालिकाले अनुगमन पछि स्वीकृत हुनुपर्छ।

घर स्वीकृतको प्रमाणपत्र सहित, ब्यक्तिको आम्दानी श्रोत साथै कर दायरालाई पूर्ण रुपमा पालाना गरिएको सम्बन्धित कागजात नेपालबाट आएका नाता प्रमाणिकरणसहितको अनुगमन पछि स्पेन सरकारले परिवार पुनर्मिलनका लागि सकारामत्क रिजल्ट दिनु पर्छ। यसलाई यहाँस्थित नेपालीहरुले बोलिचालीको भाषामा ‘फ्यामिली पेपर पास’ भन्दै आएका छन्।

स्पेनमा प्रक्रिया सम्पन्न गरेपछि थप प्रक्रिया दिल्लीस्थित स्पेनिस दूतावासबाट सुरु हुन्छ । स्पेनको कन्सुलर सेवा काठमाडौंमा रहे पनि परिवारको भिसा प्रक्रियाका लागि दिल्लीस्थित स्पेनिस दूतावासमा नै पुग्नु पर्ने बाध्यता छ । यस्तै दिल्ली दूतावासबाट कागजातमा उल्लेख गरिएका नातासम्बन्ध बारे थप अनुगमनका लागि नेपालमा नै पुगेर सोधपुछ गर्ने गरेको छ।

अनुमगन टोलीलाई पनि रकम, दोष लिनेको कि दिनेको ?

 दूतावासबाट अनुगमनका लागि पुग्ने भारतीयहरुले बिभिन्न बहानामा चर्को रकम असुल्ने गरेका छन्। लामो समयसम्म अनुगमनको पर्खाइमा रहेका परिवारले भिसा पाइदैन कि भन्ने डरले रकम थमाउने गरेको बताउँछन्।अनुगमनमा पुग्नेले सोधपुछको क्रममा मिलाएर पैसा माग्ने गरेको पीडितहरुले बताउँदै आएका छन्।

रकम बुझाएका एक पीडितले नाम नबताउने सर्तमा भने, ‘महिनौ देखिको पर्खाइमा बस्यो रकम नदिए,भिसा नै लाग्दैन भन्ने डरले ५० हजार रुपैयाँ दियौ।’ अनुगमनका लागि कोही सम्बन्धित परिवारको घरमा नै पुग्ने गरेका छन् भने कतिपयले होटलमा बोलाएर सोधपुछ गर्ने गरेका छन्।

नियम परिवर्तनले थप झन्झट

 दूतावासले एक सूचना जारी गर्दै बिभिन्न कागाजपत्रहरु स्पेनिस बिशेष अनुवादकहरु (सोन ट्रासलेटर) मार्फत गराउनु पर्ने नियम बनाएको छ। गत अगष्ट १६ तारिख देखि लागु भएको यो नियमसँगै मेडिकल रिपोर्ट,जन्मदर्ता,बिबाहदर्ता लगायतका कागजपत्रहरु सोन ट्रासलेटर मार्फत गराउनु पर्ने हुँदा प्रक्रिया झन् ढिलाई हुने देखिएको छ।

त्यसो त दिल्लीमा डकुमेन्ट बुझाउनको लागि मात्र ३ देखि ५ महिनासम्म कुर्नु पर्ने बाध्यता रहेको छ। भर्खर स्पेनबाट “फ्याम्ली पास” गराएका एक नेपाली दीपक भट्टराई भन्छन्, ‘यता तिरको काम ५-६ महिना लगाएर सक्कियो,तर अब दिल्लीमा डकुमेन्ट बुझाउने डेट जनवरीमा मात्र पाईयो,अब कुर्नु बाहेक के नै बिकल्प रह्यो र ?’

गत जनबरीदेखि स्पेनिस नयाँ राजदूत परिवर्तनसँगै बिभिन्न प्रक्रियामा झन् कठिन बन्दै गएको छ।

के भएमा हुन्थ्यो सहज ?

नेपाल सरकारले हालै मात्र स्पेनमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको छ। दूताबास स्थापनासँगै नेपालीहरुले भोगेका समस्यालाई कुटनीतिक माध्यमद्वारा जानकारी गराउने बाताबरण भने मिल्ने देखिन्छ। तर, यी सबै समस्याहरु नेपालबाट भोग्नु पर्ने हुँदा स्पेनको कुटनीतिक निकाय नेपालमा हुन जरुरी छ।

दिल्ली स्थित स्पेनिस दूताबासले भारत बाहेक नेपाल,भुटान,माल्दिभ्स र श्रीलङ्कालाई पनि हेर्दै आएको हुँदा समस्याको तत्काल समाधान गर्न निकै जटिल देखिन्छ। तर,  दिल्लीमा डकुमेन्टहरु पठाउने काम काठमाडौंको बत्तीसपुतलीमा रहेको स्पेनिस कन्सुलर कार्यालयबाट हुन सकेमा पनि दिल्ली जाने आउने झन्झट कम हुन सक्थ्यो।

यसैवीच एनआरएनए स्पेनले यिनै समस्याहरुलाई समाधानको लागि तत्परता देखाउँदै स्पेन कै परराष्ट्र मन्त्रालयको ध्यानआकर्षण गराउन तयारी थालेको छ।

यस्तै नेपालको परराष्ट्र मन्त्रालय मार्फत पनि दिल्लीस्थित स्पेनिस दूताबासमा समस्याहरु बारे जानकारी गराउन पहल गर्ने संघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment