२८ भदौ, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै अयोगले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका निधिलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
आयोगका अनुसार भदौ २५ गते धनुषामा आयोजित चुनावी कार्यक्रममा निधि कांग्रेसको निर्वाचन चिन्ह अंकित गम्छा लगाई सहभागी भएका थिए । आयोगले आचारसंहिता उल्लंघन गरेवापत कानूनी कारबाही किन गर्नु नपर्ने हो ? २४ घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न भनेको छ ।
साथै सिरहाको जिरो माइलमा आयोजित कांग्रेसको चुनावी सभामा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिकाको प्रयोग गरिएको भन्दै आयोगले कांग्रेस सिरहा जिल्ला सभापतिलाई स्पष्टीकरण सोधेको छ ।
यस्तै धनुषाको लालगढमा कांग्रेस र माओवादी केन्द्रको संयुक्त चुनावी र्यालीमा बालबालिका प्रयोग भएको भन्दै दुबै पार्टीका जिल्ला प्रमुखलाई निर्वाचन आचार संहिता उल्लंघन गरेउपर कारबाही किन गर्नु नपर्ने हो ? भनी स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले यसअघि उपसभामुख गंगाप्रसाद यादव र एमाले नेता माधवकुमार नेपाललाई पनि स्पष्टीकरण सोधिसकेको छ ।
यो पनि पढ्नुस्