Comments Add Comment

लोडसेडिङ हुँदा कुलमान जीलाई सम्झिएँः प्रधानमन्त्री, ऊर्जामन्त्रीले भने-लोडसेडिङ होइन

८ चैत, काठमाडौं । झ्याप्प विजुली काटियो र आयो भने धेरै सर्वसाधारणले भन्ने गरेका छन् ‘कुलमान गयो/आयो’ । दैनिक  १८ घण्टासम्मको कहालीलाग्दो लोडसेडिङ व्यहोरिहरेका नेपालीले एकाएक विजुलीको व्यवस्थापनमार्फत गरेको कामका कारण लाइन जानु/आउनुको बिम्ब ‘कुलमान’ बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत लाइन आउँदा जाँदा कुलमानको याद आउने गरेको बिहीबार थाहा भयो ।

‘जनताको जलविद्युत कार्यक्रम’अन्तर्गत माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत आयोजनाको सेयर खरिद कार्यक्रम सुरु गर्न बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा औपचारिक कार्यक्रममा ओलीले यसको खुलासा गरेको सहभागी एक अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सेयरको लागि पहिलो आवेदन दिएर सेयर निष्कासन सुरु भएको घोषणा गर्ने कार्यक्रममा कुनै समयमा लाइन जाँदा आफूले कुलमानलाई सम्झिने गरेको बताए ।

कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, उर्जा तथा सिचाईं मन्त्रालयका सचिवद्वय दिनेशकुमार घिमिरे तथा संचय शर्मा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, त्रिशूली जलविद्युत कम्पनीका प्रवन्ध संचालक मोहनप्रसाद गौतम, एचआईडीसीएलका सिइओ छबीराज पोखरेल, विद्युत उत्पादन कम्पनीका प्रवन्ध-संचालक मोहनराज पन्त लगायतका अधिकारीहरु सहभागी थिए ।


प्रधानमन्त्री कार्यक्रम हलमा प्रवेश गर्ना साथै कुलमान घिसिङलाई हेर्दै भने,’हिजो मेरोमा लोडसेडिङ भयो, मैले कुलमान जीलाई सम्झिएँ ।’

बैठकमा सहभागी एक ऊर्जा अधिकारीका अनुसार प्रधानमन्त्रीले यसो भनेपछि हालमा हाँसोको फोहोरा छुटेको थियो, सहभागीसँग प्रधानमन्त्री पनि मुस्काए ।

कुलमान घिसिङ पनि मुसुक्क हाँसे । ठट्टा गर्न माहिर मानिएका प्रधानमन्त्रीले कुलमानमाथि पनि त्यस्तो गरेको होला भन्ने अनुमान गरे ।

छेउमै बसेका ऊर्जा मन्त्री पुनले प्रधानमन्त्रीलाई लोडसेडिङ भएको हैन भन्दै प्रधानमन्त्रीलाई उत्तर फर्काए । पुनले भने,’झयाप्प बत्ति जानु लोडसेडिङ हैन, हामीले लोडसेडिङ गरेका छैनौं, प्राविधिक समस्याले केहीबेर बत्ती गएको होला ।’

दैनिक १८ घण्टासम्मको लोडसेडिङ तितो विगत भोगेका उपभोक्ताले एकछिन बत्ती गयो भने पनि लोडसेडिङ भयो भन्दै कराउने गरेका छन् । तर, प्राविधिक कारणले केही बेल वत्ति जाँदा लोडसेडिङ भयो भनेर नबुझिदिन प्राधिकरणले आग्राह गर्दै आएको छ ।

हिउँदसँगै हावीहुरीले प्रसारण तथा वितरण प्रणालीमा समस्या उत्पन्न गर्दा लाइन ट्रिप हुने लगायतका समस्या आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment