Comments Add Comment

पूर्वराजा र भारतीय राजदूतको गोप्य भेटप्रति सरकारको आपत्ति

ज्ञानेन्द्रको गतिविधिमा सरकारको निगरानी

८ चैत, काठमाडौं । सरकारले भारतीय राजदूत मन्जिव सिंह पुरीले पूर्वराजा ज्ञानेन्द्रसँग जनकपुरमा भेट गरेको विषयलाई आपत्तिजनक ठहर गरेको छ ।

मधेश मिसनमा रहेकमा पूर्व राजासँग राजदूत पुरीले गोप्य भेट गरेको सरकारी संयन्त्रहरुले सूचना दिएपछि मन्त्रिपरिषद बैठकमै यो विषयले प्रवेश पाएको हो । बिहीबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीतका गतिविधि गर्दै हिँडेका पूर्व राजासँगका भारतीय राजदूतले भेट गर्नु आपत्तिजनक रहेको भन्दै स्पष्टिकरण लिने संकेत दिएका छन् ।

नागरिकका रुपमा पूर्व राजालाई संविधान अन्तर्गतबाहेक अन्य गतिबिधि गर्ने छुट नरहेको समेत सरकारका एक बरिष्ठ मन्त्रीले अनलाइनखबरलाई बताए । ‘पूर्व राजासँग भारतीय राजदूतले सरकारलाई जानकारी नदिई किन भेटे भन्ने प्रश्न गम्भीर छ । कतै भारत फेरि नेपालमा नियन्त्रित अस्थिरताको विजारोपण गर्न त खोजिरहेको छैन ? यो गम्भीर प्रश्न हो’ ती मन्त्रीले शुक्रबार भने, ‘प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकमै यो विषयमा आपत्ति प्रकट गरेर स्पष्टिकरण मागिने संकेत दिनुभएको छ ।’

गत साता जनकपुरलाई मुकाम बनाएर पूर्व राजा ज्ञानेन्द्र शाहले सर्लाही, धनुषा, सिराहा, उदयपुर र सप्तरीका बिभिन्न मठमन्दिरको भ्रमण गरेका थिए । धार्मिक भ्रमण भनिए पनि पूर्व राजाको मुख्य मिसन मधेसी समुदायसँग संवाद रहेको उनका सहयोगीले बताएका थिए ।

पूर्वराजाको भ्रमणका क्रममा ठूलो संख्यामा मधेशी समुदाय जम्मा गरिएको थियो । उनीहरुले राजा आउ देश बचाउ लगायतका नारा लगाएका थिए । मधेशमा हिन्दू धर्मको रक्षाका लागि राजा आवश्यक रहेको बहस समेत चलाइएको थियो ।

जनकपुरको शीताशरण होटलमा बसेका पूर्व राजालाई भारतीय राजदूत पुरीले सोही होटलमा भेटेको सूचना सरकारले पाएको छ । भारतीय दूतावास स्रोतले भने पूर्वराजासँग भएको भेटको पुष्टि गर्न चाहेको छैन ।

यसैबीच सरकारले पूर्वराजा ज्ञानेन्द्रका गतिबिधिमा समेत निगरानी बढाएको छ । संविधान विपरीत गणतन्त्र, संघीयता र धर्म निरपेक्षविरुद्ध खुलेआम गतिबिधि गर्ने र आफैं बिभिन्न ठाउँमा गएर उक्साहटपूर्ण अभिव्यक्ति दिने क्रम बढेको भन्दै मन्त्रीहरुले उनका गतिबिधिमा समेत लगाम लगाउनुपर्ने बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले सशस्त्र प्रहरीका डिएसपीको कमाण्डमा ५६ जना सुरक्षाकर्मी खटाएको छ । त्यस्तै पूर्व राजाको निवास सुरक्षाका लागि अलग्गै बेस छ । पूर्वराजा मधेस मिसन सकेर अहिले झापाको दमकमा बसिरहेका छन् । उनी दुई सातापछि काठमाडौं फर्किने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment