Comments Add Comment

मोहन वैद्यले भने – प्रचण्ड देखेर माया लाग्छ

२ असोज, चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र नाममात्रैका कम्युनिष्ट भएको टिप्पणी गरेका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष वैद्यले कम्युनिष्ट आचरणबाट च्यूत भएको माओवादी केन्द्रसँग कुनै पनि हालतमा पार्टी एकता हुन नसक्ने बताए । प्रचण्डका राजनीतिक गुरु समेत रहेका वैधले भने ‘प्रचण्ड कम्युनिष्ट होइनन् उनी देखेर माया लाग्छ ।’

प्रचण्डले नयाँ जनवादी क्रान्तिको बाटो छोडेर लोकतान्त्रिक पद्धति, १२ बुँदे सहमति, जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजनको समयसम्म आउँदा बाटो बिराएको वैद्यको भनाई छ । प्रचण्ड पश्चगामी दिशामा गइसकेको भन्दै नेता वैद्यले भने ‘माओवादीहरु भन्दा उनका लागि कांग्रेस पि्रय भैसक्यो, कांग्रेससँग बाटो सोझाउँदै छ माओवादी केन्द्र्र ।’

देउवा-प्रचण्डको सरकारलाई उनले ‘पुरानो खिचडी’को संज्ञा दिए । उनले सरकार भारतसामु निरीह बनेको आरोप लगाए । नेता वैद्यले भने ‘सीमा समस्या डुवान, नेपाली उत्पादन र वजारको प्रवर्द्धनका सम्वन्धमा सरकार भारतका अगाडि निरीह छ ।’

उनले माओवादी केन्द्रसँग नभई विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्न सकिने दोहोर्‍याए ।

नयाँ जनवादी क्रान्ति सम्पन्न भइनसकेको भन्दै उनले यसलाई सम्पन्न गर्न पोखरामा असोज २१ र २२ गते हुने राष्ट्रिय सम्मेलनले कार्यदिशा तय गर्ने बताए ।

अर्काे एक प्रश्नमा नेता वैद्यले अबको संघ र प्रदेशको निर्वाचनमा जाने-नजाने भन्ने विषयमा छलफल भइरहेको बताउँदै केही दिनमा टुंगो लाग्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment