Comments Add Comment

दूधे गोल्ड कपः उपाधिका लागि एपीएफ र चर्च ब्वाइज भिड्ने

९ असोज, झापा । शसस्त्र प्रहरीको एपीएफ क्लब झापाको शिवसताक्षी नगरपालिकामा जारी दूधे गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । उसले उपाधिका लागि चर्च ब्वाइज युनाइटेड, काठमाडौंसँग प्रतिष्पर्धा गर्नेछ ।

सोमबार अन्तिम सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २-१ गोल अन्तरले हराउँदै एपीएफले फाइनल यात्रा तय गरेको हो ।

एपीएफका लागि हरि कार्की र युवराज खड्काले गोल गर्दै जित सुनिश्चित गरे । पहिलो हाफको १५ औं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी अब्बाको क्रस पासलाई सदुपयोग गर्दै विके लामाले हेडमार्फत गोल गरेका थिए । उनको प्रहारले एपीएफका गोल रक्षक राजु नगरकोटीको हातमा छोएर पोष्टको जाली चुमेको थियो ।

पहिलो हाफको इन्ज्यूरी समयमा एपीएफका कप्तान मिलन राईको पासमा हरि कार्कीले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । पहिलो हाफमा १-१ को बराबरी रहेको स्पर्धामा दोस्रो हाफको ३७ औं मिनेटमा रुपबहादुर लामाको फ्रि-किक सदुपयोग गर्दै छरिता स्ट्राइकर युवराज खड्काले हेडमार्फत गोल गर्दै एपीएफलाई अग्रता दिलाए ।

पहिलो हाफको २४औं मिनेटमा एपीएफका रुपबहादुर लामाको कडा प्रहार गोल रक्षक भीमसेन दुराले पञ्च गरेर बाहिर हुत्याइदिए । दोस्रो हाफको १४ औं मिनेटमा लामाकै प्रहार पोष्ट बारमा लागेर फर्कियो । खेल अवधिभर हिमालयन शेर्पाले बललाई आफ्नो पकडमा राख्न सफल भए पनि गोललाई पोष्टको दिशा दिन सकेन ।

श्याम नेपाली म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार पाएका थिए ।

प्रतियोगिताको उपाधि विजेताले ३ लाख १ हजार र उपविजेताले १ लाख ५१ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण-पत्र पाउने आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment