Comments Add Comment

प्रधानमन्त्रीले भने- डाक्टरहरूलार्इ दु:ख दिने नियत छैन, हड्ताल फिर्ता लिनुस्

'जायज माग सम्वोधन गर्न सरकार तयार'

१२ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुुर देउवाले चिकित्सकहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आह्वान गरेका छन् । चिकित्सकको सुरक्षाका लागि सरकार सदैव तयार रहेको भन्दै उनले स्वास्थ्य सेवामा हडतालका कार्यक्रम भने फिर्ता लिनुपर्ने बताए ।

संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिएर बिहीबार राती स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले चिकित्सकका मागबारे आफू सचेत रहेको बताए । उनले आगामी दिनमा चिकित्सकका समस्या समाधान गर्ने स्पष्ट पनि पारे ।

उनले मन्त्रिपरिषदको निर्णय चिकित्सकको हकहित विरुद्ध नभएको स्पष्ट पनि पारे । ‘खासगरी उहाँहरूले हड्ताल गरिदिनु भएन,’ प्रधानमन्त्री देउवाले भने, ‘डाक्टरहरूको सुरक्षा गर्न हामी तयार छाैं ।

बिरामीको उपचारको क्रममा मृत्यु भएमा उपचारमा संलग्न चिकित्सकले नै क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको भन्दै देशभरका चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु मर्कामा परेका छन् । चिकित्सकहरुले सरकारी तथा निजी अस्पताल, क्लिनिक, नर्सिंङ होम सबैमा सेवा ठप्प पार्दा अत्यावश्यक उपचार सेवा पाउनबाट बिरामीहरु बन्चित भएका छन् ।

आन्दोलनरत  चिकित्सकहरूका मागप्रति सकारात्मक रहेकाे भन्दै प्रधानमन्त्री देउवाले भने, ‘क्याविनेटको निर्णय उहाँहरूको खिलाफमा भएको जस्तो मलार्इ लाग्दैन । डाक्टरहरूलार्इ दुःख दिने नियत हुनै सक्दैन । उहाँहरूका जेन्यून माग गर्न हामी तयार छाैं ।’

पाँचखालस्थित शान्ति तालिम केन्द्र स्तरोन्नती गर्न  राष्ट्रसंघलार्इ आग्रह

प्रधानमन्त्री देउवाले पाँचखालमा भएको वीरेन्द्र सैनिक शान्ति कार्य तालिम केन्द्र क्षेत्रीय स्तरको बनाउन आफूले राष्ट्रसंघका महासचिवलाई आग्रह गरेको र महासचिव पनि सकारात्मक रहेको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले नेपाल सार्कको अध्यक्ष मुलुकसमेत रहेको नाताले १९ औँ सार्क शिखर सम्मेलन गराउने विषयमा त्यहाँ उपलब्ध सार्क मुलुकका परराष्ट्र मन्त्रीहरुको अनौपचारिक बैठक समेत भएको जानकारी दिए ।

राष्ट्रसंघको ७२ औं महासभामा सम्बोधनका क्रममा आफूले स्थानीय निकायका निर्वाचनबारे जानकारी गराएको प्रधानमन्त्रीले जानकारी दिए । अमेरिकाको न्यूयोर्कमा आयोजित महासभामा भाग लिएर देउवा ओमान हुँदै स्वदेश फर्किएका हुन् ।

ओमान बसाइको क्रममा आफूले ओमानमा कार्यरत नेपालीहरुको हकहितको रक्षाको लागि द्विपक्षीय सम्झौताबारे कुराकानी गरेको प्रधानमन्त्री देउवाले जानकारी दिए ।

प्रधानमन्त्री देउवालाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न उपप्रधान तथा स्थानीय विकाश मन्त्री विजय कुमार गच्छदार, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देव लगायत पुगेका थिए ।
महासभामा भागलिनका लागि यही असोज ३ गते प्रधानमन्त्री देउवा अमेरिका प्रस्थान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment