Comments Add Comment

बिपी राजमार्गमा अवैध रुपमा चलेका ३ सय सवारी कारवाहीमा, सय वटाको रुट खारेज


२३ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले बिपी राजमार्गमा अनाधिकृत रुपमा चलेका ३ सय सवारीलाई कारवाही गरेको छ । विभागबाट खटिएको अनुगमन टोलीले बिपी राजमार्गमा नियमविपरीत चलेका बस, माइक्रो, सुमो ट्रक लगायतका सवारीलाई कारवाही गरेको हो ।

रुट इजाजत नलिएका, सो राजमार्गमा चल्न नपाउने र यात्रुसँग बढी भाडा असुल्ने एक सय सवारी कारवाहीमा परेका विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।

यसपटक एक सय भन्दा बढी सवारीको ६ महिनासम्म रुट इजाजत खारेज गरिने उनले बताए । विभागको टोलीले एक हप्तासम्म राजमार्गमा बसेर अनुगमन गरेको थियो ।

१८ सिटभन्दा बढीको बस चलाउन प्रतिवन्ध लगाइएको खुर्कोट-सिन्धुली खण्डमा चल्ने ठूला बसको पनि रुट पर्मिट खारेज गर्न लागिएको हो । अन्य सवारीलाई भने ५ हजार रुपैयाँ जरिवाना गराइने उनले बताए ।

खुर्कोट-सिन्धुली खण्डमा १८ सिटभन्दा बढीका सवारी सञ्चालन गर्न नपाइने नियम छ । तर, ४० सिटसम्मका बस पनि राजमार्गमा चलेको पाइएकाले ६ महिनाको लागि रुट खारेज गर्न लागिएको भट्टराईले बताए ।

यातायात ब्यवस्था विभागले पछिल्लो समयमा बिपी राजमार्गमा रातको समयमा सार्वजनिक सवारी चलाउन पनि रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment