Comments Add Comment

जापानका नेपालीद्वारा बाढी पीडितलार्इ सहयोग

फाइल तस्वीर ।

३१ असोज, जापान । नेपालको बाढीपीडितको सहयोगका लागि जापानस्थित विभिन्न सङ्घसंस्थाले संकलन गरेका रकम सार्वजनिक गरेका छन् ।

बाँके बर्दिया समाज जापानले दुई लाख १० हजार जापानी यान संकलन गरी दैवीप्रकोप उद्धार समितिबाट एक लाख ३० हजार (जापानी यान) मूल्य बराबरको खाद्यान्न सामग्री वितरण गरेको छ । बाँकी ८० हजार जापानी यान खेलकुद कार्यक्रमबाट संकलित रकममा थपेर पठाइने समाजका संयोजक सुशील मल्लले जानकारी दिर्नए ।

यसैगरी स्यांजा समाज जापानले एक लाख ६१ हजार संकलन गरी बर्दियामा र गल्कोट समाजले १२ लाख २५ हजार जापानी यानले संकलन गरी रौतहटमा खाद्यान्न तथा स्वास्थ्य शिविर चलाएको बताएका छन् ।

पूर्वी नेपाल विकास सहकार्यले सुनसरीमा युवा र नारी विकास मञ्चमार्फत एक लाख ६० हजार, सप्तरीको हेल्प फर डेस्प्रेट संस्थामार्फत ७० हजार र झापामा नेपाल रेडक्रस सोसाइटीमार्फत ८० हजार जापानी यान वितरण गरेको जनाएको छ ।

समाजका अध्यक्ष सुवास लोहनीका अनुसार संकलित रकममध्ये ८० हजार जापानी यान बचत रहेको छ । त्यस्तै धादिङ र सुदूरपश्चिमेली समाजले पनि एक लाख १० हजार र ५८ हजार ६०० जापानी यान नेपाल रेडक्रस सोसाइटीमार्फत टीकापुरका पीडितलाई राहत स्वरुप उपलब्ध गराएकोे छ ।

चितवन, गोरखा समाज र नेपाली जनसम्पर्क समिति, प्रवासी मञ्चदेखि राष्ट्रिय जनमोर्चाको भ्रातृ संगठनले अझै राहत सार्वजनिक गरेका छैनन् । व्यक्तिगत रुपमा संकलन गरेकाले पनि सार्वजनिक रुपमा बोलेका छैनन् । चितवन समाजका कार्यवाहक अध्यक्ष इश्वरी कँडेलले आफ्नै समाजले पीडितका नाममा उठेको रकमबारे जानकारी नभएको बताए ।

त्यस्तै फुकुओकाका स्थानीय विद्यालयमा राखिएका डोनेसन राहत बक्स पनि अझै उठाइएको छैन । नेपालका तराईका बाढीपीडितका लागि आफूखुशी ५० हजार देखि १० लाख जापानी यानसम्म उठाए पनि संकलित रकमको कुनै निकायले हिसाब राखेका छैनन् ।

पीडितका लागि फुकुओका नेपाल सोसाइटी, सिटी गु्रपले एक÷एक लाख र सिटी मनी एक्सप्रेस ट्राभलका तर्फबाट कर्मचारीले छुट्टाछुट्टै उठाएको ५० हजार जापानी यानबारे पनि केही बोलेका छैनन् ।

एनआरएनए क्युस्यु, नेपाल जापान फ्रेन्डसिप लायन्स क्लब, मगर समाज, साझा सद्भाव समूह लगायतले पीडितका नाममा आफूखुशी रकम उठाएका थिए ।

सरकारी राहत कोष प्रभावकारी नहुँदा सङ्घसंस्थाले आफूखुशी रकम संकलन गरेको बताइएको छ । बाँकेबर्दिया समाजका सल्लाहकार डाक्टर विजय ज्ञवालीले सरकारी अनुगमन प्रभावकारी नहुँदा आफूखुशी रकम उठाएको बताए ।

पूर्वीनेपाल सहकार्यका कार्यवाहक सचिव भुवन रोकाले राजदूतावासको प्रभाव नरहेकाले रकम उठाउने होडबाजी चलेको बताए ।

जपानस्थित नेपाली दूतावासका तृतीय सचिव रेवन्त केसीले “सङ्घसंस्थाले सहकार्य नगर्दा यस्ता विकृति देखिएको छ, यसको न्यूनिकरणका लागि दूतावास सचेत छ” भन्दै नेपालको बाढीपीडितको राहत र सहयोगको नाममा जापानमा रकम संकलन गर्ने अधिकांश व्यक्ति तथा सङ्घसस्थाबारे दूतावासलाई जानकारी नभएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment