Comments Add Comment

चाडपर्वमा महिनावारी के गर्ने ? महिनावरी सार्न सकिन्छ

तिहारमा पूजाआजा गर्ने परम्परा छ । लक्ष्मीको पूजा गरिन्छ । गाईको पूजा गरिन्छ । भाइ टिका मनाइन्छ । यमपञ्चकका पाँचै दिन कुनै न कुनै किसिमको पूजाआजा गरिन्छ । यसबेला चोखो एवं शुद्ध हुनुपर्ने मान्यता छ ।

यस्तो अवस्थामा कतिलाई मासिक श्राव पनि हुनसक्छ । किनभने कतिको मासिक चक्र अनुसार ठीक यहि समयमा महिनावरी हुने बेला भएको हुनसक्छ । मासिक श्राव भए पूजापाठमा सहभागी नहुने हाम्रो धार्मिक चलन छ । त्यस्तो अवस्थामा के गर्ने ?
महिनावारी एक नियमित र अत्यन्त प्राकृतिक प्रकृया हो । तर पनि हाम्रो समाजमा महिनावारी भएको अवधिलाई ‘नछुने’ पनि भन्ने गरिन्छ । समान्यतयाः यो बेलामा कुनै पनि धार्मिक तथा सांस्कृतिक अस्था भएको शुभ कार्यमा सहभागी नहुने तथा कसैलाई नछुने र छोएको नचल्ने भएकोले पनि नछुने भनिएको हो ।शुभकार्यमा ‘नछुने’

यद्दपि महिनावारी हुनु भनेको एउटा सामान्य शारिरीक प्रक्रिया मात्र हो । शारिरीक रुपमा परिपक्कता आए पछि मुख्यतया ईस्ट्रोजेन र प्रोजेष्ट्रोन हर्मोनले गर्दा पाठेघरको भित्रि तहमा आएको परिवर्तन र सो तह टुक्रिएको कारणले महिनावारी हुने गर्छ ।

महिनावारी हुनुका पछाडि हाईपोथालामस्, पिट्युटरी ग्रन्थी, अण्डास्य र पाठेघर सबैको आ-आफ्नै भूमिका रहेको हुन्छ ।

भाइपूजामा महिनावरी भए ?

महिनावारी नियमित रहेका महिलाहरुमा महिनावारी हुने मिति अनुमान गर्न सकिन्छ । चाडवाडको बेलामा महिनावारी हुने भए पछि धेरैलाई तनाव हुने हुनसक्छ । अझ धेरैबर्ष पछि तिहारमा भाई आउनु र महिनावारी नि हुनुले नमज्जा बनाउन सक्छ ।

चिन्ता लिनुपर्दैन

तर महिनावारीको कारण धेरै चिन्ता लिनु आवश्यक छैन । यस्ता शुभ शायद वा अवसरमा महिनावारी हुने रहेछ भने पनि सजिलै महिनावारी २-४ दिन पर सार्न सकिन्छ । यस अवस्थामा महिनावरी हुने दिन भन्दा १-२ दिन अगाडि बजारमा उपलब्ध हुने प्रोजेष्ट्रन चक्कि प्रयोग गर्न सकिन्छ । प्रोजेष्ट्रोन ट्याब्लेट ५ मिलिग्रामको बिहान र बेलुका गरी २ पटक कम्तिमा २ दिन अगाडिबाट शुरु गरेको राम्रो हो । यस प्रयोजनका लागि प्रोजेष्ट्रोन चक्की नपाएको अवस्थामा परिवार नियोजनका लागि प्रयोग गरिने खाने चक्कि पिल्स सेवन गर्दा पनि हुन्छ ।

पिल्समा पनि ईस्ट्रोजेन र प्रोजेष्ट्रोन हर्मोन हुने भएकाले यो प्रयोग गर्न सकिन्छ । पहिलेदेखि नै परिवार नियोजनका लागि पिल्स खाईरहेको महिलाले महिनावारी पर सार्न खैरो चक्किको सट्टा पनि सार्नुपर्ने दिन सम्म सेतो चक्कि नियमित खानु पर्छ । अन्य परिवार नियोजनका साधन प्रयोग गरिरहेको महिलाहरुले पनि महिनावारी पर सार्न मिल्छ ।

कुनै असर पो गर्छ कि ?

यसरी महिनावारी पर सारेको अवस्थामा स्वास्थ्यमा असर पर्ने त होईन ? धेरैलाई चिन्ता हुने गरेको पाईन्छ । नियमित रहेको प्रकृयालाई अप्राक्रितिक रुपमा पर सार्नुले धेरै र दिर्धकालिन असर गर्दैनन् । तर यस्तो चक्किहरु पटक पटक थोरै अवधि (२-४ दिन) मात्र प्रयोग गर्नाले महिनावारी अनियमित हुने तथा अन्य गडबडि हुन सक्छ । त्यसैले यस्ता चक्किहरु पटक पटक २-४ दिन मात्र सेवन गर्नु भन्दा पुर्ण अवधि अर्थात २१ दिन नै खानु राम्रो हुन्छ ।

(लेखक मोरङ सहकारी अस्पतालका प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment