Comments Add Comment

रसुवाको चुनावमा ‘क’ श्रेणीका ठेकेदारको कठिन प्रतिस्पर्धा

जनार्दन ढकाल र मोहन आचार्य को कति पानीमा ?

१३ कात्तिक, रसुवा । तीन नम्बर प्रदेशमा सबैभन्दा कम मतदाता रहेको जिल्ला हो, रसुवा । राजधानीनजिकै रहेको विकट हिमाली जिल्लामा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनको साँच्चिकै कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

तीन नम्बर प्रदेशमा राजधानी उपत्यकापछि वामपन्थी गठबन्धनले कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने जिल्ला रसुवा नै हो । यहाँ राम्रो मताधार रहेको नयाँ शक्तिसहित कांग्रेस गठबन्धनले वामपन्थी गठबन्धनलाई चुनौति दिएको छ ।

माथिल्लो हिमाली क्षेत्रमा तामाङ र तल्लो तटीय क्षेत्रमा खस आर्यको बसोबास रहेको रसुवामा प्रतिनिधिसभातर्फ दुवै गठबन्धनले खस आर्य उम्मेदवार बनाएका छन् । प्रदेशमा दुवै गठबन्धनबाट तीनजना तामाङ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

रसुवा कन्स्ट्रक्सन भर्सेस सूर्यचन्द्र कन्सट्रक्सन

प्रतिनिधिसभामा वामपन्थी गठबन्धनबाट एमालेका निवर्तमान सांसद जनार्दन ढकाल र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका नयाँ अनुहार मोहन आचार्यबीच टक्कर हुने आँकलन गरिएको छ । दुवैजना निर्माण व्यवसायी (ठेकेदार) भएकाले पनि रसुवाको चुनाव पार्टीको भन्दा पनि दुई ठूला ठेकेदारको जस्तो भएको छ ।

जनार्दन ढकाल ०७० सालमा चुनाव जित्दा मोहन आचार्यले पनि सहयोग गरेका थिए । यसपटक आचार्य आफैं राजनीतिमा होमिएका छन् । राप्रपाका हालसालै दिवंगत भएका नेता तथा पूर्वमन्त्री रामकृष्ण आचार्यका भतिजा मोहन आचार्यले खर्चमा कुनै कन्जुस्याइँ नगर्ने बताइसकेका छन् ।

उनी कांग्रेस राजनीतिमा चिनिएका अनुहार होइनन् । तर जनार्दन ढकाल एमालेबाट सांसद भएपछि उनको प्रतिष्ठा बढेको देखेर हुनुपर्छ आचार्य पनि कांग्रेसको टिकट लिन अग्रसर भए । उनले कांग्रेसका धेरै दिग्गज नेताहरुलाई व्यवस्थापन गरेर टिकट लिन सफल भएका छन् ।

क श्रेणीको रसुवा कन्सट्रक्सन कम्पनीका मालिक आचार्यले कांग्रेसको सांगठानिक आधार भन्दा पनि आर्थिक परिचालनबाट चुनाव जित्ने अपेक्षा गरेका छन् । ‘रसुवामा कसरी चुनाव जित्नुपर्छ भन्ने मैले पनि बुझिसकेको छु,वामपन्थी गठबन्धनलाई हराउने सबै स्रोत साधन हामीसँग छ’ उनले भने ।

उता क श्रेणीकै सूर्य चन्द्र कन्सट्रक्सनका मालिक हुन् एमाले नेता जनार्दन ढकाल । ०७० सालको चुनावमा राम्रो मतान्तरमा जितेका ढकाललाई यसपटक माओवादीको पनि साथ छ । भूकम्पका बेला सांसदको हैसियतमा उनले गरेको काम र केरुङ नाका खुलाउन गरेको पहलका कारण ढकालको हैसियत बढेको छ ।

तर, उनका लागि कांग्रेसका मोहन आचार्य चुनौतिको पहाड बनेर उभिएका छन् । अघिल्लो चुनाव एक्लै जित्न जति सहज थियो, यसपटक माओवादीको साथ पाएर पनि उनले सहज जित निकाल्न कठिन छ । ‘मैले सांसद हुँदा गरेका काम नै मेरो जितका आधार हुन्, जनताले मेरो कामको मुल्यांकन गर्नेछन्’ ढकालले भने ।

स्थानीय तहमा कसको कति मत ?

हिमाली जिल्ला रसुवामा पाँचवटा गाउँपालिका छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेले २,कांग्रेसले २ र नयाँ शक्तिले एउटा स्थानीय तहको प्रमुख जितेका छन् । रोचक संयोग चाहिँ के छ भने रसुवाका पाँचओटै स्थानीय तहको उपप्रमुख चाहिँ एमालेले जितेको छ ।

स्थानीय तहमा प्राप्त मतका आधारमा वामपन्थी गठबन्धन भन्दा लोकतान्त्रिक गठबन्धनभन्दा करीव ४ हजार मतले अगाडि देखिन्छ । एमालेले १३ हजार ८५७, कांग्रेसले १० हजार ७६० मत पाएका छन् । त्यस्तै माओवादीले ६ हजार १३५ र नयाँ शक्तिले ४ हजार २४१ मत पाएका छन् ।

यसरी जोड्दा वामपन्थी गठबन्धनको मत करीव १९ हजार हुन्छ भने लोकतान्त्रिक गठबन्धनको मत करीव १५ हजार हुन्छ । तर, मोहन आचार्यको स्रोत साधन र नयाँ शक्तिका नेता प्रेम तामाङको व्यक्तिगत पकड र पहुँचका आधारमा यो मतान्तर घटाएर चुनाव जित्ने लक्ष्य कांग्रेसले लिएको छ ।

एमालेले भने वामपन्थी गठबन्धनको मत जोगाउँदै माथिल्लो हिमाली क्षेत्रबाट थप मत लिएर चुनाव जित्ने लक्ष्य राखेको छ । दुई ठेकेदारबीचको चुनावी भिडन्त रोचक बन्दै जाँदा चुनावी खर्च पनि आकाशिने अनुमान गरिएको छ ।

कसमा कति छ दम ?

जनार्दन ढकाल र मोहन आचार्य दुवैजना सघन जनघनत्व भएका तल्लो तटीय क्षेत्रका बासिन्दा हुन् । ढकाल कालिकास्थान गाउँपालिकाका हुन् भने आचार्य उत्तरगयाका । यहि ठाउँको मत निर्णायक हुन सक्छ दुवैको जितहारमा ।

पार्वतीकुण्ड गाउँपालिका नयाँ शक्तिका नेता प्रेम तामाङको गाउँ हो । त्यहाँ उनले नयाँ शक्तिलाई स्थानीय तहको चुनाव पनि जिताएका थिए । नयाँ शक्तिको संगठित भोट कांग्रेसका लागि ठूलो आडभरोसा हुने आँकलन गरिएको छ ।

एमालेको आफ्नै मजबुत संगठन र माओवादीको मत मुख्य आधार हो भने ढकालको व्यक्तिगत मत पनि राम्रो रहेको अनुमान छ । दुवै पक्ष जितप्रति उत्तिकै आशावादी रहेकाले पनि रसुवाको चुनाव रोचक बन्दै गएको छ ।

ढकालले सांसद भएपछि रसुवा विकासमा जति लगानी गरेका छन्,त्यतिनै उनले केरुङ नाका खोल्ने अभियानबाट वाहवाही पनि पाएका छन् । तर सांसद नभएका मोहन आचार्यले पछिल्लो समय आफू चुनाव जड्ने आधार बनाउन रसुवाका उल्लेख्य आर्थिक परिचालन गरेका छन् । ढकालका लागि आचार्यको पछिल्लो सक्रियता चुनौती बनेको छ ।

प्रदेशका प्रत्याशी

रसुवाका दुई प्रदेशसभा मध्ये एक नम्बर क्षेत्रमा एमालेका जिल्ला अध्यक्ष कर्णेल लामा र कांग्रेसका प्रभात तामाङबीच प्रतिस्पर्धा हुँदैछ । क्षेत्र नम्बर २ मा नयाँ शक्तिका नेता प्रेम तामाङ र माओवादी नेता इन्द्र गोतामेबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेशतर्फ १ मा एमालेका कर्णेल लामा र २ मा नयाँ शक्ति प्रेम तामाङ हाबी हुन सक्ने अनुमान यहाँका स्थानीयको छ । प्रतिनिधिसभामा भने निकै रोचक भिडन्त हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment