Comments Add Comment

उम्मेदवारी फिर्ता लिँदै कोमल वलीले भनिन्- वाम गठवन्धनको जित मेरोलागि सर्वोपरी हो

 

१९ कात्तिक, दाङ। दाङ क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएकी कोमल ओलीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।

राप्रपा छाडेर हालै एमालेमा प्रवेश गरेकी उनले पूर्व सहमतिअनुसार समानुपातिक सूचीमा नराखेको भन्दै दाङ ३ मा वाम गठवन्धनबाट एमालेका हिराचन्द्र केसीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

एमाले नेता शंकर पोखरेल लगायतको आग्रहमा उनले आज उम्मेदवारी फिर्ता लिएकी छन् । उनले अब वाम गठवन्धनलाई जिताउन सक्रिय भएर लाग्ने अनलाइनखबरलाई बताइन् ।

उनले विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिएको जानकारी पनि दिएकी छन् जसमा लेखिएको छ, ‘मैले आस्था राखेको पार्टी नेकपा एमाले र समग्रमा वाम गठवन्धनको जित मेरो लागि सर्वोपरि हो भन्ने मैले ठानेकी छु । गठवन्धनको जित सुनिश्चित गर्न आदरणीय नेतागण र जिम्मेवार कार्यकर्ताहरुसँग काँधमा काँध मिलाएर आफ्नो हैसियत अनुसारको भूमिका पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दछु ।’

मनोनयन दर्ताको पूर्वसन्ध्यामा आफ्नो नाम नपरेको जानकारी पाउँदा आफूलाई निकै दुःख लागेको र स्तव्ध बनाएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको मनोनयन दर्ता गर्ने दिनको पूर्वसन्ध्यामा सूचीमा आफ्नो नाम समावेश नभएको जानकारीले आफूलाई व्यक्तिगत मात्र होइन सामाजिक रुपमा पनि आहात बनाएको उनले बताएकी छन् ।

माओवादीको वागी उम्मेदवारी पनि फिर्ता

दाङ क्षेत्र नम्बर ३ क मा माओवादी उम्मेदवारविरुद्ध परेको वागी उम्मेदवारी पनि फिर्ता भएको छ । प्रदेश सभा तर्फ ३ (क) मा माओवादीका जगप्रसाद शर्मा (अपार) उम्मेदवार हुन् । उनीविरुद्ध उम्मेदवारी दिएका पूर्व सभासद एवम् माओवादी पोलिटव्यूरो सदस्य कुबेर ओली र प्रदेश सभा तर्फ ३ (ख) मा  वाईसीएल नेता गेदुलाल भण्डारी (गोविन्द)ले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि दाङमा उमेदवारी दिएका ८ जनाले उमेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले आज दिएको समय अबधिमा ४ वटा पार्टी र ४ स्वतन्त्र गरी ८ जना उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment