Comments Add Comment

नागरिक उड्डयनको बजेट पारित हुन नसक्दा निर्माण प्रभावित

मन्त्री चुनावमा मस्त, कर्मचारीलाई तलब खुवाउन धौधौ

२७ कात्तिक, काठमाडौं । आर्थिक वर्ष ०७४/७५ को नेपाल नागरिक उड्डयन प्राधिकरणको बजेट गत साउनमै पारित हुनुपर्थ्यो । प्राधिकरण बोर्डको लापरवाहीका कारण अझै पारित हुने सुरसार छैन ।

जबकि, नयाँ आर्थिक वर्ष शुरु भएकै चार महिना बितिसकेको छ । बजेट पारित हुन नसक्दा निर्माणका काम अलपत्र परेका छन् । कर्मचारीलाई तलबभत्ता दिन धौधौ परिरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव चुनावी अभियानमा व्यस्त छन् । सोही कारण उनले बोर्ड बैठक बोलाउन चासो दिएका छैनन् ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार मन्त्री देवको व्यस्तता र बोर्ड सदस्यको कोरम नपुग्दा बजेट पारित गर्न रोकिएको हो ।

बोर्डमा निजी क्षेत्रका जहाज सञ्चालकबाट प्रतिनिधित्व गर्ने निमा लामाको मृत्यु भएको छ । उनको साटो अर्का प्रतिनिधि नियुक्त गरिएको छैन ।

अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्ने भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले अवकाश पाएकाले अहिले बोर्डमा ६ सदस्य मात्र छन् । अर्थ मन्त्रालयले चिमोरियाको साटो अर्को प्रतिनिधि पठाएको छैन ।

पर्यटन क्षेत्रका प्रतिनिधिहरु अधिकांश समय विदेशमै हुन्छन् । सोही कारण कोरम पुर्‍याउन नसकिएको हो ।

बजेट नै पारित नहुँदा विभिन्न निर्माण तथा बहुवर्षीय आयोजनालाई भुक्तानी दिन समस्या भएको प्राधिकरणका प्रवक्ता वीरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कर्मचारीलाई कात्तिकको तलब भुक्तानी दिन गाह्रो छ । चालु आर्थिक वर्षको बजेट पारित नहुँदा गत आर्थिक वर्षको बजेटमा उल्लेखित प्रशासनिक खर्चको ६ भागको एक भाग खर्च गर्न सकिन्छ ।

सोही प्रावधानमा टेकेर प्राधिकरणले हालसम्म तलब भत्ता वितरण गर्दै आएको थियो । उक्त रकम सकिँदै गएको श्रेष्ठले बताए ।

प्राधिकरणले ४३ अर्ब ५९ करोडको बजेट निर्माण गरेको छ, जसलाई १९ साउनको बोर्ड बैठकमा पेश गरिएको थियो । तर, मन्त्रालयका प्रतिनिधिले त्यसमा समीक्षा गरेर मात्र पारित गर्नुपर्ने सुझाव दिएपछि बजेट रोकिएको हो ।

त्यसलगत्तै मन्त्रालयले प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाउनेे प्रक्रिया थालेकोे थियो । निर्वाचन आयोगले रोकेका कारण मन्त्री देवको प्रयास सफल भएन ।

सोही प्रकरणपछि मन्त्रालय र प्राधिकरणको दूरी बढेको छ । र, बजेट पारित नहुनुको मुख्य कारण यो पनि हो ।

धावनमार्ग पुनर्निर्माण टेन्डर हुन सकेन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनर्निर्माणका लागि प्राधिकरणले आशयपत्र जारी गरेको एक वर्ष बित्यो । तर, हालसम्म टेन्डर हुन सकेको छैन ।

प्राधिकरणले दुईदेखि तीन अर्ब रुपैयाँमा तीन हजार ५० मिटर लामो धावनमार्ग पुनर्निर्माण प्रक्रिया बढाएको छ । त्यसका लागि कम्पनी ‘सर्ट लिस्टिङ’को काम सकिएको पनि ६ महिना बितेको छ ।

सर्टलिस्टमा चाइना नेसनल एरो-टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ, चाइना हरबर इन्जिनियरिङ, बेइजिङ च्याङ्डो म्युनिसिपल इन्जिनियरिङ, चाइना जेभी अफ रेल्वे इन्जिनियरिङ परेका छन् ।

प्रवक्ता श्रेष्ठले भने, ‘बजेट पारित नभएपछि टेन्डर आह्वान गर्न सकेका छैनौं । अन्य विमानस्थल निर्माण र मर्मतका लागि पनि टेन्डर गर्न सकिने अवस्था छैन ।’

त्रिभुवन विमानस्थलको पुनर्निर्माणका लागि एक वर्षभन्दा बढी लाग्छ । अहिले धावनमार्गको कालोपत्रे उप्किँदा उडान र अवतरण रोकिने अवस्था छ । अहिले भत्किएको धावनमार्गमाथि नै कालोपत्रे गरेर टालटुल पार्ने गरिएको छ, जुन लामो समय टिक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment