Comments Add Comment

कोरियन कम्पनीले चारपांग्रे गाडी नेपालमै बनाउने, साढे १० अर्बको लगानी स्वीकृत

१ चैत, काठमाडौं । सरकारले नेपालमै चारपांग्रे सवारीको एसेम्बलिङ प्लान्ट राख्न विदेशी लगानी स्वीकृत गरेको  छ । शुक्रबार बसेको लगानी बोर्डको बैठकले कोरियन कम्पनी मोट्रेक्सले नेपालमा ल्याउन लागेको १० अर्ब बढीको लगानी स्वीकृत गरेको हो ।

कोरियन कम्पनीले १० अर्ब ५४ करोड खर्चेर ‘भेहिकल एसेम्बलिङ प्लान्ट’ निर्माण गर्ने प्रस्ताव बोर्डा समक्ष गरेको थियो । शुक्रबार साँझ प्रधानमन्त्रीको अध्यक्षमा बसेको बोर्ड बैठकले यो लगानीलाई स्वीकृत गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

यसअघि नेपालमा गोल्छा समूहको हुलास मोटर्सले चारपांग्रे सवारीको एसेम्बलिङ गरेको थियो । हाल साे कम्पनीबाट गाडीको उत्पादन बन्द भइसकेको छ । यही कम्पनीले बनाएको मुस्ताङ ब्राण्डको सो गाडी तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले प्रयोग गरेका थिए ।

त्यसअघि कम्पनीले ‘शेर्पा’ नामको गाडी नेपालमै एसेम्बल गरेको थियो । तर, यूरो ३को मापदण्ड लागू हुनासाथ तयारीका लागि एक वर्षको समय माग्दा सरकारले नदिएपछि कम्पनी बन्द भएको थियो ।

नेपालमा हाल दुई पांग्रे गोल्छा समूहकै अगुवाईमा बजाजका केही बाइकहरु एसेम्बलिङ हुने गरेका छन् ।

अरुण-३लाई लगानी जुटाउन थप ३ महिना

यसैगरी बेार्ड बैठकले निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पहुँच मार्गका सम्बन्धमा देखिएको समसया समाधान गर्न  स्थानीय जिल्ला प्रशासन प्रशान कार्यालयको नेतृत्वमा एक कार्यदल बनाएको  छ । यो कार्यदलले दिने सुझावका आधारमा अरुण तेस्रो जलविद्युत आयोजनाको पहुँचमार्गको समस्या हल गर्ने योजना बोर्डको छ ।

यसैगरी अरुण तेस्रोको लगनी श्रोतको सुनिश्चितता ‘फाइनान्सियल क्लोजर’का लागि पनि ३ महिना समय थप गर्ने निर्णय भएको छ । भारतीय सरकारी कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेस्रोको हालसम्म पनि ‘फाइनान्सियल क्लोजर’ हुन सकेको छैन । यसका कारण उसले म्याद थप गर्न माग गर्दै आएको थियो ।

यस्तै चिनियाँ लगानीमा बन्न लागेको हुवासिन सिमेन्ट उद्योगको जेभीलाई पनि बोर्डले स्वीकृत गरेको छ । यसअघि स्वीकृत भएको सेयर हिस्सेदारीको अंशलाई संशोधन गरिएको हो ।

सम्मेलनका लागि ६२ आयोजना सूचीकृत

यस्तै बोर्डले आगामी चैतको १४ र १५ गते काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनका राख्ने गरी ६० भन्दा बढी आयोजनालाई सूचीकृत गर्ने निर्णय गरेको छ ।

योजना आयोगले पहिचान गरेका ४५ वटा र विभिन्न निजी क्षेत्रबाट प्रस्तावित १७ वटा आयोजनालाई लगानी सम्मेलनमा लगानीको आह्वान गर्दै राखिने प्रमुख कार्याकारी अधिकेृत अधिकारीले बताए । यसअनुसार सम्मेलनमा जलविद्युत, ऊर्जा, पर्यटन, कृष्िा, शहरी विकास, लगायतका विभिन्न क्षेत्रका ६२ आयोजना राखिने भएको छ ।

बैठकपछि अधिकारीले लगानी सम्मेलनमा ४ सयभन्दा बढी लगानीकर्ताले सहभागी जनाउने प्रतिवद्धता जनाइसकेको बताए । उनका अनुसार सम्मेलनमा सरकारी उच्च्स्तरीय व्यक्तित्वहरु, उच्च व्यवसायिक घरानामा प्रमुखहरु र विभिन्न कम्पनीका प्रमुख तथा प्रतिनिधिले सहभागिता जनउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment