Comments Add Comment

आजको पत्रिकाः गौचन हत्याको योजना भारतमा, फाइनल सिनामंगलमा

चुनावको ‘थ्रेट विप्लव’, सरकार अन्योलमा

२९ कात्तिक, काठमाडौं । बुधबार राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा ५ जना पक्राउ परेको विषयलाई पहिलो पृष्ठमा छापेका छन् । नेपाल यू–१९ क्रिकेटको सेमिफाइनलमा पुगेको विषयलाई पनि पत्रपत्रिकाहरुले उत्तिकै प्राथमिकता दिएर छापेका छन् । यसका अलावा उम्मेदवारमाथिको शृंखलावद्ध आक्रमण बढे पनि सरकार अलमलमा परेको, व्यापारीले बजार कब्जा गर्दा तरकारीको भाउ बढेकोलगायत खबरलाई पनि पत्रपत्रिकाले महत्त्वका साथ पहिलो पृष्ठमा छापेका छन् ।

भाडाका सुटर समातिए, मुख्य नाइके फरार

उम्मेदवारमाथिको श्रृंखलावद्ध आक्रमणलाई केलाएको नयाँ पत्रिका दैनिकले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटर समातिए पनि मुख्य नाइकेहरु फरार रहेको लेखेको छ ।

नयाँ पत्रिकाले समाचारमा लेखेको छ– गौचन हत्याका योजनाकार सबै फरार छन् । छानबिन समितिका अनुसार, हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेत हुन् । उनले र लोप्साङ लामाले मिलेर हत्याको योजना बनाइ गोप्य ढंगले सहयोगीहरु खटाएका थिए । गौचनको हत्या गरेपछि अरु ठेकेदारहरुलाई धम्क्याएर पैसा असुली नै उनीहरुको मुख्य उद्देश्य देखिएको छ । हत्यालगत्तै लोप्साङले काठमाडौंका एसएसपी रवीन्द्र घानुकलाई फोन गरेर घटनाको जिम्मेवारी लिएका थिए । सोही समूहले त्इसपछि ठूला ठेकेदारलाई धम्क्याएर पैसा मागेको थियो । ’

भारतमा योजना, सिनामंगलमा फाइनल

क्रिकेटमा नेपालले पाएको सफलता र प्रदेश ४ मा उम्मेदवार बनेका शीर्षको चुनावी परिणामबारे विश्लेषण गरेको नागरिक दैनिकले गौचनको हत्या योजना भारतमै बनेको लेखेको छ ।

‘प्रहरीका अनुसार गौचन हत्याको योजना एक महिना अगाडि नै बनेको थियो’, नागरिक दैनिकले लेखेको छ, ‘सोही योजना अनुसार नेपालमा रहेका बस्नेतका सहयोगीहरु परिचालित भएर उनको हत्या भयो ।’

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार हत्यामा संलगन रहेको आरोपमा पक्राउ परेकाहरु गौचन हत्याको एक महिनाअगाडि सिनामंगलमा आएर बसेको खुलेको छ । उनीहरुले सिनामंगलमा रहेको धराने होटलमा बसेर गौचनको दैनिकी निगरानी गरेका थिए ।

भारतबाट पटक पटक फोन गरेर पैसा माग्दासमेत नदिएपछि सातजनाको टोली असोज २३ मा उनको घर वरिपरि छरिएर उनी घरबाट निस्कने समय कुरेर बसेको थियो । गौचन अनामनगरमा रहेको कार्यालय जान घरबाट निस्केलगत्तै गोली हानेर उनीहरु फरार भएको समाचारमा उल्लेख छ ।

काम नगर्ने ठेकेदार चुनावी मैदानमा

मुलुकभर बाटो र पुल बनाउने करिब १० अर्बको काम अलपत्र अवस्थामा छ । तर, त्यो ठेक्का लिएर काम नगर्ने ठेकेदारचाहिँ मुलुक बनाउने नारासहित प्रमुख दलको टिकटमा उम्मेदवार बनेका छन् ।

‘काम नगर्ने ठेकेदार चुनावी मैदानमा’ शीर्षक दिएर नागरिकले लेखेको छ, ‘निर्माण व्यवसायीहरु पनि दलहरुको प्रत्यक्ष तथा समानुपातिक टिकटमा चुनावी मैदानमा छन् । निर्माण व्यवसायी महासंघका एक पदाधिकारीका अनुसार धेरैजसो व्यवसायी राजनीतिक योगदानका आधारमा भन्दा पनि पैसा खर्च गर्न सक्ने भएकाले उम्मेदवार बनेका हुन् ।

समाचार अनुसार, नेपाली कांग्रेसबाट टिकट पाउने ठेकेदारहरुमा दिलमान पाख्रिन, मोहन आचार्य, तीर्थ लामा, पूर्णबहादुर तामाङ, इन्द्रबहादुर बानियाँ, राजु थापा, हरिप्रसाद महतो, गणेश लामा, टेकबहादुर गुरुङलगायत छन् । उनीहरु सबै प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।

दैलेखमा कांग्रेसको बागी उम्मेदवार रहेका गणेशबहादुर खड्का र एमालेबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षमा उठेका जनार्दन ढकाल (रसुवा) र चन्द्र लामा (काभ्रे–१ ख) प्रदेशसभाका उम्मेदवार खड्गबहादुर खत्री (सुर्खेत १) को पृष्ठभूमि पनि ठेकेदारी नै हो । जुम्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी देवेन्द्रबहमादुर शाही पनि निर्माण व्यवसायी हुन् ।

चुनावको ‘थ्रेट विप्लव’, सरकार अन्योलमा


सरकारले प्रदेश र प्रतिनिधिसभा चुनाव सुरक्षाको मुख्य चुनोती नेत्रविक्रम चन्द विप्लवको पार्टी नेकपालाई ठहर गरे पनि कारबाहीको स्पष्ट नीति नबनाउँदा सुरक्षा निकाय अलमलमा परेका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, स्थानीय तहको चुनावमा पक्राउ गरिएका तीन सय बढी विप्लवका कार्यकर्तालाई प्रहरीले राजनीतिक दबाबमा निसर्त छाड्नुपरेपछि अहिले कुन मोडलमा जाने भन्ने विषयमा प्रहरी नेतृत्व रुमल्लिएको छ ।

स्थानीय तहकै निर्वाचनलाई आधार मानेर केही काँटछाँट गरेर बनाइएको एकीकृत सुरक्षा रणनीति अनुसार प्रहरी परिचालन भए पनि विप्लवका पछिल्ला गतिविधिका कारण प्रहरी परिचालनमा व्यापकता दिनुपर्ने निष्कर्षमा प्रहरी मुख्यालय स्रोत पुगेको समाचारमा उल्लेख छ ।

चुनाव खर्च अझै पुगेन, गृहले माग्यो १४ अर्ब



अन्नपूर्णमै चुनाव खर्च अझै अपुग भएको समाचार छ । समाचार अनुसार गृह र नेपाली सेनाले थप १५ अर्ब रकम माग गरेका छन् ।

‘गृह मन्त्रालयले संघ र प्रदेश सभा चुनाव सुरक्षाका लागि १४ अर्ब माग गरेको छ । तर अर्थले पाँच अर्ब तीन करोड मात्रै निकासा दिएको छ’, अन्नपूर्ण पोस्ट दैनिकले समाचारमा लेखेको छ, ‘निर्वाचन सुरक्षाको तेस्रो घेरामा रहने भए पनि नेपाली सेनाले अर्थ मन्त्रालयसँग निर्वाचन सुरक्षाका लागि झन्डै एक अर्ब रुपैयाँ माग गरेको छ ।

किन अड्किन्छ कोलकातामा नेपाली कन्टेनर ?

तेस्रो मुलुकबाट नेपालमा आयात हुने सामान बोकेर आएका कन्टेनर भारतको कोलकातास्थित बन्दरगाहमा महिनौं अड्किने समस्या फेरि दोहोरिएको छ ।

‘किन अड्किन्छ कोलकातामा नेपाली कन्टेनर’ शीर्षक दिएर नागरिकले आर्थिक पृष्ठमा लेखेको छ– नेपाल आउर खाली भई पुनः कोलकाता पुगिसक्नुपर्ने अवधि नाघिसक्दा पनि कोलकाताबाट हिँड्नै नपाएका कन्टेनरको संख्या यसपटक हजार नाघेको छ ।

नेपालका लागि विदेशबाट हिँडेका कन्टेनर कोलकातामा अड्किने समस्या दोहोरिन ालेको दशक भइसकेको छ । यसबाट तेस्रो मुलुकसँगको व्यापारमा समस्या आएको मात्र छैन, बर्सेनि करोडौं रुपैयाँ नेपालले अनाहकमा गुमाइरहेको छ ।

समाचार अनुसार डेढ सय वर्षअघि बनाइएको यो बन्दरगाह उति बेलाको लागि ठूलै भए पनि अहिले साँघुरो भइसकेको छ । अहिलेको आवश्यकता पूरा गर्ने खालको पूर्वाधार पनि छैन । त्यही कारण बन्दरगाहमा नेपाली कन्टेनर अड्किने गरेका छन् ।

व्यापारीको कब्जामा तरकारीको भाउ


किसानले उब्जाउ गरेको तरकारीको भाउ थोक व्यापारीको नियन्त्रणमा पुगेको छ । जसकारण अहिले तरकारीको भाउ बढ्न पुगेको समाचार नयाँ पत्रिका दैनिकले लेखेको छ ।

औसतमा दुई महिना लगाएर तरकारी उत्पादन गर्ने किसान न्यून मूल्यमा बिक्री गर्न बाध्य छन् । मंगलबार धादिङको तरकारी संकलन केन्द्र धार्केमा धुनीबेसी नगरपालिका– ५, पुरानो धार्केका कृषक रामभक्त भुजेलले स्थानिय काउली ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे । उनीसँग ५० रुपैयाँ प्रतिकिलोमा काउली खरिद गर्ने व्यवसायीले आधा घण्टापछि उपभोक्तालाई ९० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे ।

धार्केस्थित तरकारी संकलन केन्द्रका व्यवसायीले काठमाडौंको कालिमाटी तरकारी बजारमा दिनहुँ तरकारी पठाउँछन् । संकलन केन्द्रका व्यापारीले काठमाडौं पठाउने तरकारीको भाउ थाहा पाउँदैनन् ।

र, यो पनि खबर

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्मचारी खटाउन दोलखामा गोलाप्रथाबाट कर्मचारी छनोट सुरु गरिएको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले आयोगको निर्देशनअनुसार नै गोलाप्रथाबाट कर्मचारी छनोट सुरु गरेको हो ।

मतदान केन्द्रमा जाने मतदान अधिकृत र सहायक मतदान अधिकृतको छनोट मंगलबा सकिएको सहायक निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए ।

समाचार अनुसार एउटा बाकसमा मतदान केन्द्रको नाम र अर्कोमा कर्मचारीको नाम लेखिएको कागजको गोला बनाएर बाकसमा हाल्ने र पालैपालो निकाल्दा मतदान केन्द्र र नाम जसको मिल्छ त्यही गएर उसले जिम्मेवारी पूरा गर्नेपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment