Comments Add Comment

आज विवाह पञ्चमी, जानकी मन्दिरमा भक्तजनको भीड


७ मंसिर, काठमाडौं । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ ।

त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।
जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले सीता–राम विवाह महोत्सव मनाउँदै आएका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ ।

रामायणमा वर्णन भएअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको स्वयंवरमा देवी–देवताको समेत उपस्थिति थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।

हरेक वर्ष आयोजना हुने सीता–राम विवाह महोत्सवमा नेपाल, भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन् ।यस वर्ष पनि महोत्सवमा सहभागी हुन भक्तजनको भीड लागेको छ ।

यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईलगायत अन्य धर्मावलम्बी पनि सामेल हुने गरेका छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार तिलकोत्सव, मटकोर, स्वयम्बर र विवाह संस्कार पनि हुने गरेको छ ।

पौराणिक व्यवस्थाअनसार राममन्दिरबाट बाजागाजा र झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोलामा राखी रंगभूमि पुर्याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई सुसज्जित डोलामा राखी रंगभूमिमा पुर्याइन्छ ।

रंगभूमिमा स्वयम्बर विधि, परीक्षण र वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ ।
महोत्सवका दिन श्रद्धालु बिहान सबेरैदेखि पवित्र सरोवरमा स्नान गरी पूजाअर्चना र भाकल गर्ने गर्छन् । यस अवसरमा भजन, कीर्तन, रामलीला, झाँकी र प्रवचन पनि गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment