Comments Add Comment

दुई दिनभित्र प्रचार सामाग्री हटाउन आयुक्तको निर्देशन

१४ मंसिर, काठमाडौं । निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचन आचारसंहिता बिपरित राखिएका प्रचार प्रसारका सामाग्री दुई दिनभित्र हटाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

ललितपुर जिल्लामा भइरहेका निर्वाचन गतिविधिको आकस्मिक अनुगमन गर्दै आयुक्त शाहले जिल्लाको समग्र सुरक्षा अवस्था, निर्वाचनको तयारी, कर्मचारी खटनपटन, निर्वाचन व्यवस्थापन, अनुगमन, आचारसंहिताको पालनालगायतबारेमा जानकारी लिएका थिए ।

ललितपुर जिल्लाको निर्वाचनको तयारीबारे जानकारी लिएपछि कर्मचारीलाई निर्देशन दिँदै शाहले भने, ‘कतिपय स्थानमा आचारसंहिताविपरीत निर्वाचनका प्रचारप्रसार सामग्री राखिएको छ, ती सामग्री हटाउनका लागि आवश्यक प्रबन्ध गर्न म तपाईहरुलाई दुई दिनको समय दिन्छु ।’

उनले आचारसंहिताविपरीतका ती सामग्री हटाएको वा नहटाएको अवस्थाको अनुगमन आयोगबाट दुई दिनपछि हुने बताए ।

सुरक्षा व्यवस्थाबारे आयुक्त शाहले भने, ‘मैले काठमाडौं, भक्तपुर र ललितपुरको साङ्केतिक अनुगमन गरेको छु, मुख्य चासो सुरक्षा नै हो, द्वन्द्वकालको सुरक्षा व्यवस्थापन गरेको अनुभव तपाईहरुसँग छ, त्यसै अनुसार गर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment