Comments Add Comment

भावी प्रधानमन्त्री घोषणा गरेका छैनौं, हामी सहकार्यमा छौं

'मंसिरको अन्तिम हप्ता वामपन्थीको सरकार बनिसक्छ'

१७ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको टोखास्थित आफ्नै निवासमा पुग्दा उनी उत्साही मुद्रामा भेटिए । बिहानैदेखि घरदैलोमा हिँडेका उनी भर्खरै फर्केका रहेछन् ।

‘कम्तिमा पनि पाँच हजार भोटले जितिन्छ,’ निवासको प्रांगणमा भेला भएका कार्यकर्ताहरु चुनावको आँकलन गर्दै थिए । पोखरेल काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेका छन् । उनी यसअघि यही क्षेत्रबाट एकपटक विजयी र दुईपटक पराजित बनेका थिए । तर, यसपालि जित हात पार्ने रणनीतिमा छन् ।

एमाले महासचिव पोखरेल ओखलढुंगामा जन्मेका हुन् । ०२५ सालदेखि राजनीतिमा लागेका पोखरेलले स्नातकसम्मको अध्ययन गरेका छन् । १४ वर्ष भूमिगत जीवन बिताएका पोखरेलसँग पटक-पटक गरी तीन वर्ष जेल बसेको अनुभव छ । उनी दुईपटक मन्त्री बनिसकेका छन् भने हाल एमाले महासचविको रुपमा दोस्रो कार्यकाल बिताइरहेका छन् ।

एमाले महासचिव पोखरेलसँग हामीले उनको चुनावी क्षेत्रको अवस्थाका बारेमा मात्रै होइन, समग्र राजनीतिक अवस्था र वाम गठबन्धनको भविश्यका बारेमा कुराकानी गर्‍यौं । अबको प्रधानमन्त्री केपी ओली नै हुन् कि अरु कोही भन्ने प्रश्नमा महासचिव पोखरेलले भने-‘औपचारिक घोषणा गरेका छैनौं, हामी सहकार्यमा छौं । संवाद, छलफल गरेर साझा निश्कर्षमा पुग्नु राम्रो हुन्छ ।’

प्रतिनिधिसभा चुनावको समग्र परिणामबारे एमालेको आँकलन के छ ?

आज मंसिरको १५ गते भयो । २१ गते चुनाव छ । मंसिरको अन्तिम हप्तामा वामपन्थीहरुको बहुमतको सरकार बन्छ ।

बहुमतको सरकार बन्नेमा ढुक्क हुनुहुन्छ ?

ढुक्क किन नहुने ?

मंसिर १० गते भएका ३७ वटा क्षेत्रमा वामपन्थी गठवन्धनले कति क्षेत्रमा जित्ला ?

हाम्रो अञ्दाज घटीमा ३० नभए ३२ हो । अर्को चरणका १२८ वटामा एक सयदेखि एक सय ५ वटामा जित्छौं ।

मतगणना नगरुन्जेल दाबी त जति गर्दा पनि भयो नि ?

दाबी मात्र होइन, भोलि यथार्थमा प्रकट हुने कुरा हो । काँग्रेसले कहाँ जित्छ ? ताप्लेजुङ जित्छ ? पाँचथर जित्छ ? इलाम जित्छ ? तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु कहाँ जित्छ ? यहीँ भन्नुस्, दोलखा जित्छ ? रामेछाप जित्छ ? सिन्धुपाल्चोक जित्छ ? अनि कहाँ जित्छ ?

वामपन्थी गठवन्धनको बहुमत आयो भने प्रधानमन्त्री को हुने ?

हाम्रो पार्टीभित्र यो विषयमा पहिले छलफल भएको हो । प्रधानमन्त्रीको उम्मेदवार घोषणा चुनावमा गरेर जानुपर्छ भन्ने एकथरी तर्क थियो । अध्यक्ष केपी ओलीलाई नै भावी प्रधानमन्त्री घोषणा गरेर जानुपर्छ भन्ने आवाज जबरजस्त रुपमा उठेको थियो । केन्द्रीय कमिटीको बैठकमा समूहगत प्रस्तुतिहरु हुँदा सबैजसो समूहबाट यो कुरा आएको हो ।

अर्को तर्क चाहिँ भोलि अरु दलसँग तालमेल गरेर जाँदा यसले अलिकति असमझदारी हुन्छ कि भन्ने थियो । गरौं कि नगरौं भन्ने बहस हुँदा ठिकै छ नगरौं भन्ने भयो ।

अहिलेको राष्ट्रिय राजनीतिमा हामी यस्तो सेन्सेटिभ ठाउँमा छौं, हामीले सबैलाई समेटेर लैजानुपर्ने छ । त्यसकारण सुरुमै हामीले (भावी प्रधानमन्त्री) तोक्दा त्यसले सकारात्मक प्रभाव त देला, तर सँगसँगै अन्यखाले कुरा हुन सक्छन् । (प्रधानमन्त्री) हुने त जुन पार्टीको वर्चश्व छ, जुन नेताले लिड गरिररहेको छ, पक्कै पनि उही नै हो । तर, औपचारिक घोषणा गरेका छैनौं । हामी सहकार्यमा छौं । संवाद, छलफल गरेर साझा निस्कर्षमा पुग्नु राम्रो हुन्छ ।

यस विषयमा माओवादीसित मोटामोटी समझदारी त भएको होला नि ? केपी ओली पाँच वर्षका लागि प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष बन्ने गरी आन्तरिक सहमति भएको भनेर आएको कुरा के हो ? 

अहिले राजनीतिमा भागबण्डाबाहेक अरु सोचिँदैन । अभ्यास पनि त्यस्तै हुँदै आयो । सरकारमा पनि भागबण्डा, राजनीतिक नियुक्तिमा पनि भागबण्डा । त्यसैले हामीबीच पनि भागबण्डा भयो होला भन्ने सोचिएको हुन सक्छ । त्यस्तो केही भएको छैन ।

भागबण्डा त गर्नै पर्ला नि दुई पार्टी मिलेर सरकार बनाउने भनेपछि ?

भोलि भागबण्डा त होला । तर, सुरुमै पदको भाग मिलाएर एकताको कुरा गरेका होइनौं । म त सुरुदेखि सम्वादमा छु । त्यो हिसाबले हामी गएकै छैनौं । एकतावद्ध भएर जाने भनेर माइन्ड ओपन भइसकेपछि पद ठूलो समस्या हुँदैन । चुनावको चटारो सकिएपछि यसमा केन्दि्रत हुन्छौं ।

हामी सुतेर देखेका सपना होइनन्, सुत्न नदिने सपना हुन्, अगाडि बढ्दैछौं । कसको कति सिट भन्ने गौण कुरा हो

चुनावपछि माओवादीले धोका देला कि भन्ने त्रास एमालेभित्र छ कि छैन ?

केही हुन्छ कि भनेर त्रशित हुने हो भने त केही नगरी पोको परेर बसे भइगयो नि । एमाले र माओवादीको किन एकता हुँदैछ भन्ने बुझ्नुपर्छ पहिले । हिजो माओवादीले जे विचार अघि सारेको थियो त्यो उपयुक्त थिएन । त्यसैले धोका केका लागि ?

भोलि कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री अफर गर्‍यो भने उतै जालान् कि ?

माओवादीका अध्यक्ष प्रचण्डले त्यति अपरिपक्व हिसाबले सोच्नुहोला भन्ने मलाई लाग्दैन । उहाँले नै सार्वजनिक ढंगले भन्नुभएको छ, यो एकता हुन्छ, एकतावद्ध हुन नचाहनेहरु .सकिएर जान्छन् । त्यसैले एकता हुन्छ । हिजो माओवादीसँग एकता किन भएको थिएन भन्दा बिचार मिल्दैनथ्यो, बाटो मिल्दैनथ्यो । विभिन्न शक्तिहरुका बारेमा गरिएका विश्लेषण मिल्दैनथे । उद्देश्य पनि मिल्दैनथ्यो । तर, आज हामी एक ठाउँमा आएका छौं ।

माओवादी एमाले भएको ठाउँमा आएको हो कि एमाले माओवादी भएको ठाउँमा पुगेको हो ?

कसले हार्‍यो र कसले जित्यो भन्ने अर्थ निस्कनेगरी जिज्ञासा राख्नुहुन्न । एमाले प्रतिस्पर्धाको राजनीतिमा, लोकतन्त्रमा विश्वास गर्ने  पार्टी हो । प्रतिस्पर्धामा योग्यता, क्षमता देखाएर श्रेष्ठता हासिल गर्नुपर्छ, श्रेष्ठतामा आधारित भएर शासन सञ्चालन गर्नुपर्छ र प्रगतिशील परिवर्तन गरेर मुलुकलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा विश्वास गर्ने पार्टी हो । हिजो जुन बाटो हिँडेको भए पनि माओवादी पनि आज त्यही अभ्यासमा आएको छ । भनेपछि अब हामी बीचमा भिन्नता रहेन । त्यसकारण मिल्नुपर्छ । कसले हार्‍यो कसले जित्यो, को कसकोमा विलिन भयो भन्नेतिर जानु हुँदैन ।

एमाले कार्यकर्ताको भावना के पाउनुभएको छ एकताका विषयमा ?

कार्यकर्तामा उत्साह देखेर म आफैं सरप्राइज्ड छु । असन्तुष्टिको बिऊसमेत छैन । दुवै पार्टीमा सबैले स्वागत गरेका छन् । यो निर्णय अझ पहिले नै हुनुपर्थ्यो भन्ने कुराहरु आएका छन् । चुनावमा ६०/४० को भागबण्डा गर्ने कुरा थियो । यो सफल होला भन्ने धेरै मान्छेलाई पत्यार थिएन । तर, एक महिनाभित्रै हामीले यो काम सम्पन्न गर्‍यौं । म त्यो कार्यदलको संयोजक हुँ । कतिपय हाम्रै पार्टीभित्र पनि कार्यदलले सम्पन्न गर्न सक्दैन भन्ने थियो । तर, भयो ।

चुनावमा माओवादीलाई ४० प्रतिशत अलि बढी दिइयो भन्ने लाग्दैन ?

बढी-घटीको कुरै होइन । हामी त एउटा उद्देश्यमा हिँड्दैछौं । हामी सपना देखेर, त्यो सुतेर देखेका सपना होइनन्, सुत्न नदिने सपना हुन्, अगाडि बढ्दैछौं । कसको कति सिट भन्ने गौण कुरा हो ।

राजनीतिमा जित र हारभन्दा ठूलो कुरा जनतासितको सम्वन्ध हो । यो सम्वन्धलाई मैले कायम राखेको छु

तर, कतिपय एमाले बलियो रहेका क्षेत्रहरुमा माओवादी उम्मेदवार बनेका छन् भन्छन् नि कार्यकर्ता ?

समग्रताका लागि लागि साना स्वार्थहरु गौण हुन्छन् । विचार मिल्ने लेफ्टहरु एक ठाउँमा आउनुपर्छ भन्ने ब्रोडर कज हो । केका लागि त भन्दा देश र जनताका लागि । अनि कसको धार्नी बिसौली, कति मिल्यो भन्ने जोखेर हुँदैन ।

दुई चोटि पार्टीको महासचिव र दुइचोटि मन्त्री हुनुभयो । अब सरकार र पार्टीको नेतृत्वमा तपाईंलाई देख्न कति समय लाग्ला ?

त्यो टार्गेट बनाएर हुने कुरा होइन । तपाईंलाई बताउँ, म आठौं महाधिवेशनमा महासचिव हुँदा महासचिव हुन्छु भन्ने थिएन । तर, जिम्मेवारी आयो । नवौंमा जाँदा पनि महासचिव हुन्छु कि हुन्न भन्ने तनावको विषय थिएन । तर आवश्यकता भो ।

अब तीनचोटि म महासचिव हुन्न । विधानले पनि दिँदैन । पार्टीमा मेरो अगाडि दुई विकल्प छ । म या त यहाँबाट माथिल्लो जिम्मेवारीमा जानुपर्छ या तल झर्नुपर्छ । मेरो क्रियाशीलता, मेरो पृष्ठभूमि, योगदानले मलाई अगाडि बढ भन्छ ।  यदि त्यस्तो भएन भने तल झर्नुपर्छ ।

आउने महाधिवेशनमा यी दुई विकल्पमध्ये मैले एउटा रोज्नैपर्छ । तर यो दुईवटा रोजिरहँदा देशभरका नेता कार्यकर्तासँग, साथीहरुसँग सल्लाह गरेर फैसला गर्छु । जुन विकल्प रोज्नुपर्दा पनि मलाई कुनै तनाव हुनेछैन । म एउटा सामान्य परिवारको मान्छे यो ठाउँमा आएको छु । यहाँ बसुञ्जेल राम्रो काम गर्नुछ । बस् । यत्ति हो मेरो चाहना ।

प्रसंग बदलौं । काठमाडौं क्षेत्र नम्बर ५ मा अर्थात् दुईचोटि चुनाव हारेको क्षेत्रमा चुनाव लड्दै हुनुहुन्छ, यसपालि ह्याट्रिक हुने डर कत्तिको छ ?

निर्वाचन हो, प्रतिस्पर्धा गर्दा परिणाम नआउञ्जेल के हुन्छ कसो हुन्छ भन्ने हुने नै भयो ।  तर, म विगतका चुनावमा जित्न नसकेको भए पनि यही ठाउँका जनतासित सम्वन्धित भएर रहेँ । जनतासितको सम्वन्धलाई मैले कहिल्यै पनि तोड्न चाहिनँ । राजनीतिमा जित र हारभन्दा ठूलो कुरा जनतासितको सम्वन्ध हो । यो सम्वन्धलाई मैले कायम राखेको छु । र, यही सुमधुर सम्वन्धको बलमा मैले यो ठाउँका जनतासमक्ष उभिएर फेरि परिक्षा दिनुपर्छ भन्ने मलाई लागेको हो । र, त्यो परीक्षामा जनताको सदभावको बलमा पास हुन्छु भन्ने मलाई विश्वास छ । स्थानीय चुनावको परिणाम हेर्दा पनि हामी धेरै अगाडि छौं भन्ने देखिन्छ । यही क्षेत्रमा भन्नुहुन्छ भने एमालेले ७० प्रतिशत एमालेले जितेको छ ।

स्थानीय चुनावमा एमाले पहिलो भयो । तर मेयर भएपछि विद्यासुन्दर शाक्यका कारण एमालेको भोट काठमाडौंमा स्वाट्टै घटेको छ भन्ने चर्चा छ नि ?

परिणाम नआउञ्जेल चर्चा गर्न त पाइने भयो । म खाली यति मात्रै भन्न चाहन्छु, हामीले सुखद नतिजा ल्याउनेछौं । जहाँसम्म महानगरपालिकाको सवाल छ, हाम्रोभित्र जुन संरचनाहरु छन्, ती संरचनाहरुको कारणले पनि कतिपय काम सम्पन्न हुन नसकेको स्थिति छ । विभिन्न मन्त्रालयका आफ्ना खालका नेटवर्किङ छन् । त्योसँग नगरपालिकाले काम गर्न काममा कतिपय कमजोरी भएका हुन सक्छन् । तर, यसैले भोट घट्छ भन्ने होइन ।

महानगरको मोबाइल खरिद काण्डले त विद्यासुन्दरलाई बदनाम गराएकै हो नि ?

विषयको सारमा जानुपर्छ । कुनबेला के निर्णय गर्नुपर्थ्यो  भन्ने अलग कुरा हो । तर, त्यो विषयलाई मेरा बाबै देशै लुटियो, सर्वश्वै भयो भन्ने टाइपले जनतालाई सेन्सेटाइज गर्ने गरी न्यूज सम्प्रेषण गर्ने कुरा पनि ठीक होइन ।

अब मोबाइलको कुरा गर्दा, हाम्रै पार्टीका निश्चित नेताहरुलाई पार्टी अफिसले मोबाइल दिन्छ । मैले प्रयोग गरेको सिम म महासचिव भएपछि छोडेर हिँड्छु । त्यस्तो हुन्छ ।

उहाँले जनताविरोधि काम गर्नुभएको छैन । अनियमिता र भ्रष्टाचार गर्नुभएको छैन । तर, यहाँको ज्वलन्त आवश्यकतालाई सम्वोधन गर्ने सवालमा कतिपय तालमेल र समन्वयको समस्या हुन सक्छ । त्यस हिसाबले यहाँ कमी भो भन्ने कुराहरु गर्न सकिएला ।

विद्यासुन्दरले काठमाडौंमा एमालेको भोट घटाउनुभएको छैन त उसोभए ?

कुनै एउटा व्यक्तिले केही गर्ने वित्तिकै भोट घट्ने भन्ने कुरा आएन । एमालेलाई समग्रतामा मान्छेले हेरेका छन् नि । स-साना कुरामा नजाउँ ।

भोट माग्ने क्रममा जनतासँग के कुरा राख्दै हुनुहुन्छ ?

जनताको बीचमा जाँदा लामो समयदेखिको राजनीतिक अस्थिरताले विभिन्न क्षेत्रमा पारेको नकारात्मक प्रभाव र त्यसले समग्र मुलुकको अवस्था के भएको छ भन्ने चर्चा गर्छु । त्यसबाट मुक्ति पाउनका लागि राजनीतिक स्थायित्व चाहिन्छ, त्यो स्थायित्वका लागि बहुमतको सरकार चाहिन्छ र हाम्रो वाम गठवन्धनको औचित्य बहुृमतको सरकारका लागि हो भनेर जनतालाई बुझाउँछु । जनतालाई पनि ६-६ महिनामा सरकार फेरिन कारणले सबै बेथिति उत्पन्न भएका हुन् भन्ने बोध छ र त्यसको समाधानका बहुमतको सरकार आवश्यक छ भन्ने बुझिरहेका छन् ।

मैले मतदाताहरुलाई राष्ट्रिय राजनीतिको अस्थिरतालाई अन्त्य गरेर बहुमतको सरकार निर्माण गर्न मेरो भूमिका महत्चपूर्ण हुन्छ भन्ने कुरा राखेको छु । त्यसका अलावा स्थानीय एजेन्डाहरु पनि छन् । खासगरी यहाँ शिक्षा स्वास्थ्यका समस्याहरु छन् । सार्वजनिक सम्पत्तिको रक्षा गर्नुपर्ने छ । यहाँको धार्मिक पुरातात्विक सांस्कृतिक महत्वका स्थलको संरक्षण गर्नुपर्ने छ । बाटोघाटो ढलका कुराहरु पानीका कुराहरु छन् ।

तपाईं यही क्षेत्रको स्थानीयवासीसमेत हुनुहुन्छ । कांग्रेसका नरहरि आचार्यले दुईपटक जितेर यो क्षेत्रमा कति विकास गर्नुभएको पाउनुभएको छ ?

मैले यतिबेला भन्दा अन्यथा टिप्पणी गरेको जस्तो हुन्छ । म त्यो उचित ठान्दिनँ । यो निर्वाचनको सन्दर्भमा आफूले विगतमा निर्वाचित गरेका प्रतिनिधिबाट के कस्तो काम भो भन्ने जनताले वस्तुनिष्ठ समीक्षा गर्छन् ।

तपाईका प्रतिद्वन्द्वी अर्थात नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतलाई कसरी लिनुभएको छ ? 

उहाँ कांग्रेसको केन्द्रीय सदस्य हो । नुवाकोटवासी हो । नुवाकोटमा मतदाता भएको कांग्रेसको एउटा नेता हो । यहाँ बस्नुहुन्छ । उम्मेदवार हुनुभएको छ । मैले यसरी नै चिन्छु ।

कत्तिको बलियो प्रतिस्पर्धी मान्नुहुन्छ उहाँलाई ?

प्रतिस्पर्धा गर्न आउनुभएको छ । प्रतिस्पर्धीहरुका बारेमा मैले धेरै के टिप्पणी गर्नु । प्रतिस्पर्धा गर्न पाउनु सबैको हक हो । त्यसमा मैले केही कटाक्ष गर्नु उचित हुँदैन ।

विवेकशीलका उम्मेदवार उज्ववल थापा पनि चुनाव जित्ने दावी गर्दै हुनुहुन्छ । उहाँलाई चाहिँ कत्तिको गम्भीरताका साथ लिनुभएको छ ?

लोकतन्त्रमा आफ्नो विचारको आधारमा पार्टी चलाउन खोज्नु स्वागतयोग्य कुरा हो । म त्यसलाई नकारात्मक रुपमा लिन्न । तर, हाम्रो जस्तो मुलुकमा पार्टी बनाउनु, चलाउनुसँग धेरै कुरा गाँसिएका हुन्छन् । राष्ट्रिय आवश्यकता र जनताको चाहनासित त्यो म्याचिङ हुन्छ कि हुँदैन भन्ने हेर्नु जरुरी छ । पार्टी खोल्न, चलाउन चाहनेहरुले ती सबै दस्तरहरु पूरा गर्नुपर्छ । उहाँहरुको हकमा ती सबै छन् कि छैनन् मलाई थाहा भएन ।

हाम्रोजस्तो देशमा कतिपय पार्टीहरु खुल्ने, उम्मेदवारी दिने कुरा रहरको विषय पनि बन्ने गरेको छ । किनभने राजनीतिले जस्तो बजार ओगटेको छ त्यो लोभलाग्दो पनि हुन सक्छ कतिपयका लागि । तर, राजनीतिका आफ्ना जटिलताहरु पनि छन् । कसले भन्थ्यो, राजनीतिमा धेरै नपढिएका र नलेखिएका चिजहरु पढ्नुपर्छ ।

चुनाव ज्यादै खर्चिलो भइरहेको छ भनिन्छ, तपाईंको अनुभव के छ ?

मलाई भन्नुहुन्छ भने यो टाइपको निर्वाचन प्रणाली जारी राख्नुहुन्छ भने खर्चको रुपमा आएको जुन तस्वीर अझै भयावह हुन सक्छ । आउने दिनमा निर्वाचन प्रणालीमा सोच्नुपर्छ ।

अहिले सबै मिडिया एमालेको विज्ञापनले भरिएको छ । कति बजेट छुट्याउनुभएको छ यसलाई ?

खोई मैले धेरै विज्ञापन देखेको छैन । एमालेसित पैसै छैन के छुट्याउने ?

चुनाव खर्च कसरी जुटाउनुभएको छ त ?

मेरो क्षेत्रमा सोध्नुस् । १५ वटा शाखा छन् । यी १५ वटा शाखामा हामीले क्षेत्रीय स्तरको परिचालन कमिटीहरुबाट चन्दा रसिद बनाएर पठाएका छौं । दुई सय, चार सय, ५ सय हजार, २ हजार, १० हजार जति हुन्छ, त्यर्हीको साथीहरुले संकलन गर्नुहुन्छ । हिसाब कमिटीमा आउँछ । खर्च उहाँहरुले गर्नुहुन्छ ।

दोस्रो, उम्मेदवार बनेका साथीहरुले पनि लागे पुगेसम्म आफन्त नातागोता आफैं परिचालन गर्नुहुन्छ । तेस्रो, माथिबाट पार्टीले उठाएको अलिअलि दिन्छ । यही तीनवटा स्रोतबाट उम्मेदवारले खर्च गर्ने हो । जस्तो आज हामीले पदयात्रा गर्‍यौं । खाना खाइयो । त्यहाँ खाना खाँदा तपाईंलाई के हो भन्ने लाग्यो होला । त्यहीँको हाम्रो पार्टी कमिटीले उठाएको पैसाबाट सहुलियत दरमा खानाको व्यवस्था गरिएको हो ।

तपाईंको व्यक्तिगत खर्च भएको छैन ?

पार्टीका मान्छे हौं, व्यक्तिगत खर्च के हुनु ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment