Comments Add Comment

उम्मेदवारलाई गुल्मेलीको सुझाव- अर्कोपटक गाडी चढेर आउनुहोला

१८ मंसिर, गुल्मी । मंसिरको जाडोले च्याप्दै थियो । त्यसमाथी झमक्क साँझ परेको बेला खुर्पा खोलाबाट आउने चिसो सिरेटोले घोस गाउँमा मान्छे बाहिर निस्कन जाँगर गर्दैनथे । तर सोमबार एक हुल नवआगन्तुक यो चिसोमा पनि हातमा ज्याकेट समाएर गाउँ छिरे ।

धुर्कोट गाउँपालिका ३ घोष गाउँका जनतालाई यो चिसोमा पनि ज्याकेट खोलेर असिन पसिन हुँदै कोही आगन्तुक गाउँ छिर्दा जत्तिको खुसीयाली अघिपछि कहिल्यै भएको थिएन । टुप्लुक्क गाउँ छिर्न नपाउँदै सबै गाउँलेले फूलमाला र अविरले आगन्तुकको भव्य स्वागत गरे ।

अहिलेसम्म कुनै राजनीतिक दलको नेता गाउँ नछिरेको घोस गाउँमा यो खुसीयालीको कारण हो पहिलोपटक कुनै नेतालाई आफ्नो गाउँको समस्याको बारेमा खुलेर कुरा राख्न पाउनु । प्रदेश सभाका उम्मेदवार दिनेश पन्थी र गाउँपालिका अध्यक्ष भुपाल पोखरेललाई आफ्नो गाउँमा स्वागत गर्दैगर्दा उनीहरुले मोटरबाटोको माग राखे ।

साविकको हाडहाडे गाविस ७ मा पर्ने उक्त गाउँमा अहिलेसम्म मोटर पुगेको छैन । भएको मोटरबाटोमा कलभर्ट नहुँदा भूक्षय र पहिलोका कारण गाडी हिँड्न नसक्ने अवस्थामा छ । जसको कारण उनीहरुले पिठ्यूँमा खाद्यान्न बोकेर तीन घण्टाको पैदलयात्रा गरी गाउँ पुर्याउँछन् । विद्यार्थीहरु पनि अध्ययन गर्न २ घण्टा पैदल यात्रा गरी आफ्नै वडाको सोमरभोमर र निन्यूखर्क पुग्छन् ।

अहिलेसम्म कुनै नेता नपुगेको गाउँका बासिन्दाले एकैपटक माग राखे- हिँड्नुपर्ने डरले अहिलेसम्म भोट माग्न पनि कोही नेता आएका थिएनन् तपाईँहरु आउँदा भगवान आएजस्तै भएको छ, फेरी आउँदा गाडी चढेर आउनुहोला ।

उम्मेदवारकै वडा मोटरबाटो र झोलुङ्गे पुल विहीन

मोटरबाटो अभावका कारण सबैभन्दा समस्या विरामीहरुका लागि हुने गरेको छ । गाउँमा कोही बिरामी हुँदा बोकेर अस्पत्ताल लैजानुपर्ने बाध्यता छ । हिँडेर ओहोर दोहोर गर्नुपर्ने बाटोमा पनि बिचमा रहेको खुर्पा खोलामा पुल नहुँदा निकै सास्ती भोग्नुपरेको छ । ‘बर्खाको बेला त खुर्पा खोला बढेर छोराछोरी विद्यालय पठाउन पनि सकिँदैन,’  स्थानीय मीना रानाले भनिन् ।

नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा उम्मेदवार छन्द पहराईको गाउँ हो यो । आफ्नै गाउँका नेता हुँदा पनि मोटरबाटो बन्न नसकेकोमा स्थानीयको आक्रोश छ । ‘गाउँको नेता ठूलो भएर चुनाव लड्ने बेला भयो, तर आफ्नै गाउँमा तीन घण्टा हिँडेर खानेकुराको भारी खेप्नुपर्छ’, स्थानीय देविराम रानाले भने, ‘धन्य अहिलेसम्म भोट माग्न पनि नेता नआएको ठाउँमा तपाईँहरु आउनुभयो, चुनाव जितेर हामीलाई बाटो ल्याइदिनुहोला ।’

माओवादी उम्मेदवार भन्छन्- समस्या समाधान गर्छु

वाम गठबन्धनका तर्फबाट प्रदेशसभाका माओवादी उम्मेदवार दिनेश पन्थीले सामाजिक आर्थिक रुपमा पछाडि पारिएका जनताको पक्षमा आफूहरु लडेकाले जनताका समस्या बुझ्न पैदल हिँडेर भएपनि घर घरमा पुगेको बताए ।

उनले समस्यामा परेका र पछाडि पारिएका क्षेत्र, वर्ग, लिंगका जनताको हितका लागि अहिले आफ्नो पार्टी लागेकाले चुनावपछि सबै समस्या क्रमशः समाधान गर्दै लगिने आश्वासन दिए ।

‘हिँजो जनतालाई अधिकार नदिने राजतन्त्र बिरुद्ध लडेर अधिकारसहितको गणतन्त्र ल्यायौँ, अब जनतालाई बिकास नदिनेहरुसँग लडेर विकास ल्याउन हिँडेका छौँ,’ पन्थीले भने, ‘सिँहदरबारका अधिकार गाउँ गाउँमा ल्याएका छौँ, अब स्थीर सरकार बनाएर विकास र समृद्धि गाउँगाउँमा ल्याउँछौँ ।’

हामी काम गर्न शुरु गरेका छौं: जनप्रतिनिधि

धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले आफूले अहिले जनताका समस्यहरु संकलनको क्रममा रहेकाले अब समस्या समाधानका लागि बजेट पठाइने आश्वासन दिए । ‘जनताकै समस्या समाधानका लागि हामीले गृहकार्य गरीरहेका छौं र यो समस्या मैले नोट गरेर प्रकृयामा राखेको छु,’ उनले भने, ‘अब समस्या समाधान तुरुन्त हुने छ ।’

गाउँका नेता र नेतृत्वले बेवास्ता गरेको कारण अहिलेसम्म पैदलयात्रा गर्नुपर्ने भएकाले आफू वडा अध्यक्ष निर्वाचित भएपछि सो गाउँमा मोटर पुर्‍याउने काम भैरहहेको वडा अध्यक्ष विष्णु श्रीषले बताए । ‘भएको सडक मोटर गुड्न सक्ने अवस्थामा नभएकाले ग्रेड मिलाएर गाडी गुड्न सक्ने अवस्थामा ल्याउने पहल भैरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment