Comments Add Comment

पत्रपत्रिका समाचारः दुईतिहाइ बढी स्थानमा वाम गठबन्धनको जित

एमाले–माओवादी एकता सरकार गठनपछि


२६ मंसिर, काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामकै वरिपरि घुमेका छन् । पत्रपत्रिकाहरुले प्रत्यक्षतर्फ वाम गठबन्धनले दुईतिहाइ बढी स्थानमा जित हासिल गरेको लेखेका छन् । राष्ट्रिय पार्टी बढीमा ७ वटालाई पनि आजका पत्रपत्रिकाहरुले छापेका छन् । यसका अलावा प्रदेश प्रमुख र राजधानी तोक्ने तयारीमा सरकार लागेको, एमाले–माओवादी एकता सरकार गठनपछि मात्रै हुने समाचार पनि पत्रपत्रिकाका पहिलो पृष्ठमा अटाएका छन् ।

वाम गठबन्धनलाई दुईतिहाइ बढी

नेकपा एमाले र नेकपा माओवादी गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्षतर्फ दुईतिहाइ स्थानमा जित हासिल गरेको छ ।

राजधानी दैनिक, नागरिक दैनिक र अन्नपूर्ण पोस्ट दैनिकले वाम गठबन्धनले दुईतिहाई स्थानमा विजय हासिल गरेको समाचारलाई प्रमुखताका साथ छापेका छन् ।

राजधानी दैनिकले समाचारमा लेखेको छ– निर्वाचनका लागि चुनवाी तालमेल र निर्वाचनपछि पार्टी एकताको घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्र नेतृत्वको गठबन्धनले प्रत्यक्षतर्फ मुलुकभरबाट दुईतिहाइभन्दा बढी सिटमा जित निकालेको छ ।

प्रदेश २ मा वामपन्थी कमजोर

वाम गठबन्धनले अनपेक्षित नतिजा निकालिरहेका बेला प्रदेश नम्बर २ मा भने वाम गठबन्धन निकै कमजोर देखिएको छ ।

नागरिक दैनिकका अनुसार प्रदेश २ का प्रतिनिधिसभाका ३२ क्षेत्रमध्ये एमालेले २ वटा मात्रै निर्वाचन क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको छ । माओवादीले ४ क्षेत्रमा जितेर एक स्थानमा अग्रता लिएको छ । संघीय समाजवादी फोरम ९ र मधेसी गठबन्धनको अर्को दल राजपा १० निर्वाचन क्षेत्रमा विजयी भएका छन् । कांग्रेसले ४ क्षेत्रमा जित हासिल गरेको छ ।

राष्ट्रिय पार्टी बढीमा ७ वटा

संसद्मा विगतदेखि नै हुँदै आएको धेरैको दलको उपस्थिति यसपटक घट्ने भएको छ । निर्वाचन कानुनमा रहेको थ्रेसहोल्डका कारण संघीय मुलुकको पहिलो जननिर्वाचित संसदमा राष्ट्रिय दलको संख्या ह्वात्तै घट्ने देखिएको हो ।

राजधानी दैनिकका अनुसार, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिमतर्फ पुगेको प्रत्यक्षतर्फको मत परिणामअनुसार बढीमा ७ वटा राजनीतिक दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ ।

प्रत्यक्षतर्फ १ सिट ल्याउने र समानुपातिक प्रणालीतर्फ कूल सदर मतको ३ प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको हैसियत पाउने भएका कारण ५ देखि ७ दल मात्रै राष्ट्रिय दलको सूचीमा पर्ने भएका हुन् ।

निर्वाचन आयोगका अनुसार मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल राष्ट्रिय दल बन्ने निश्चित भइसकेको छ ।

एमाले–माओवादी एकता सरकार गठनपछि

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरी पार्टी एकतासम्म पुग्ने घोषणा गरेका एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनपछि मात्र एकता गर्ने भएका छन् ।

प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै प्रत्यक्षतर्फ संघ र प्रदेश दुवैमा स्पष्ट बहुमत ल्याएका वाम गठबन्धनले पार्टी एकीकरणको एजेन्डालाई भन्दा सरकार गठनको एजेन्डालाई प्राथमिकतामा राखेर गृहकार्यसमेत सुरु गरेको समाचार राजधानी दैनिकमा छ ।

समाचार अनुसार एकताको प्रक्रिया लामो हुने भएकाले सरकार गठनसँगै एकता प्रक्रिया सुरु भए पनि एकता घोषणा भने सरकार गठनपछि मात्रै हुनेछ ।

तोकिँदै प्रदेश प्रमुख र राजधानी

सरकारले प्रदेश प्रमुख र राजधानी तोक्ने तयारी गरेको छ ।

नयाँ पत्रिका दैनिकले आज प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइलाई उद्धृत गर्दै तीन दिनभित्रै प्रदेशको अस्थायी राजधानी तोकिने समाचारलाई मुख्य खबर बनाएर लेखेको छ । प्रदेशको अस्थायी राजधानी नतोक्दासम्म प्रदेशका कार्यालय तथा पूर्वाधार व्यवस्थापनमा अन्योल देखिएको छ । सोही कारण प्रधानमन्त्री देउवाले तीन दिनभित्रै प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने बाध्यता रहेको जानकारी मन्त्रिपरिषद् बैठकमा गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment