Comments Add Comment

नयाँदिल्ली पुगिन् खुमकला, दैवी चमत्कारको मात्र आस

'उपल्लो वर्गको शिकार भयौं'

३ पुस, काठमाडौं । नौ वर्षअघि भारतको नोयडामा हत्या भएका हेमराज बञ्जाडेकी पत्नी खुमकला न्याय खोज्दै नयाँदिल्ली पुगेकी छन् ।

चिकित्सक दम्पत्ति डा. राजेश तलवार र डा. नुपुर तलवारको नोयडास्थित अपार्टमेन्टमा ३ वैशाख ०६५ राति उनीहरुकी १३ वर्षीया छोरी आरुषी र घरेलु कामदार हेमराजको हत्या भएको थियो ।

सबुत लुकाएको र प्रहरीलाई झुक्याएको बताउँदै तलवार दम्पत्तिलाई उक्त हत्याकाण्डको मुख्य अभियुक्त ठहर गरेको थियो, अदालतले । आजीवन कारावासको सजायँ सुनाइएका दुवैलाई गत २६ असोजमा अलाहावाद उच्च अदालतले प्रमाण नपुगेको बताउँदै रिहा गर्न आदेश दिएको थियो ।

अर्घाखाँचीको धारापानी स्थायी बसोबास भएको हेमराजको परिवार भारतीय अदालतको पछिल्लो फैसलाबाट फेरि एक पटक शोकमा डुबेको छ । घरेलु कामदारका रुपमा निम्नस्तरको नोकरी गरेर परिवार पाल्दै आएका हेमराजको भौतिक शरीर त दुनियाँमा रहेन, उनका हत्यारालाई कारवाही गराउने परिवारको संकल्पमा पनि अदालतले पानी फेरिदिएको छ ।

साथै, अदालती फैसलाका कारण उक्त हत्याकाण्ड थप रहस्यमय बनेको छ ।

‘अब कुनै दैवी चमत्कार भए मात्र मेरो श्रीमान्को हत्याका दोषीले सजायँ पाउने आशा बाँकी छ,’ नयाँदिल्लीमा रहेकी खुमकलाले अनलाइनखबरसँग भनिन्, ‘मेरो श्रीमान् उपल्लो वर्गको षडयन्त्रको शिकार हुनु भएको हो ।’

हत्याकाण्डलगत्तै भारतीय प्रहरीले हेमराजलाई नै प्रमुख संदिग्ध व्यक्तिका रुपमा प्रस्तुत गरेको थियो । शुरुमा आरुषीको शव मात्र फेला पारेको थियो, प्रहरीले । भोलिपल्ट सोही घरको छतमा हेमराजको पनि शव फेला परेपछि घटना रहस्यमय बनेको थियो ।

‘तलवाल दम्पत्ति चार करोड रुपैयाँ दिएर छुट्दै छन् भन्ने जानकारी त हामीलाई पहिलेदेखि नै थियो । तर, पैसाकै आडमा यति सजिलै छुट्छन् भन्ने विश्वास थिएन,’ खुमकला भन्छिन्, ‘दोषीले सजायँ पाउनु पर्छ । जबसम्म सजायँ हुँदैन, म चुप लागेर बस्दिनँ ।’

नजिकका साथीभाइ, माइती र नातेदारको सहयोगमा निरन्तर न्यायको लडाईं लडिरहेको उनी बताउँछिन् ।

पतिको हत्यापछि ८० वर्षीया सासु र १९ वर्षीय छोरा प्रज्वलको पालनपोषणको दायित्व खुमकलाको काँधमा छ । छोरा प्रज्वल पनि छातिको समस्याबाट पीडित छन् । २९ वर्षीया छोरीको विवाह भइसकेको छ ।

माइतीको सहयोगमा प्रज्वललाई उनले ६ पटकसम्म भारतको बनारस लगेर उपचारको प्रयास गरिसकेकी छन् । तर, रोग निको भएको छैन ।

उनीहरुका छिमेकी तथा राष्ट्रिय जनमोर्चा नेपालका नेता सागर केसी खुमकलाको आर्थिक अवस्था दयनीय रहेको बताउँछन् । स्थानीय सञ्चारकर्मी मुक्तिनाथ भुसालका अनुसार खुमकलाको परिवारलाई दुई छाक टार्न पनि धौधौ छ ।

‘तलवार दम्पत्ति पैसाकै आडमा यति सजिलै छुट्छन् भन्ने विश्वास थिएन’

बाबुको हत्या हुँदा प्रज्वल १० वर्षका मात्र थिए । बाबुबारे कुरा गर्दा उनी टोलाउँछन्, केही प्रतिक्रिया दिन सक्दैनन् ।

पत्नी खुमकलासँगको अन्तिम भेटमा हेमराजले डा. राजेशको रिसाउने प्रवृत्तिको बारेमा बताएका थिए । अन्य महिलासँग उनको अनैतिक सम्बन्धका बारेमा पनि हेमराजले पत्नीलाई बताएका थिए ।

‘तर, त्यसरी ज्यानै लेलान् भन्ने लागेको थिएन,’ खुमकला भन्छिन्, ‘नत्र त, काम छाडेर गाउँमै बस्न भनिहाल्थें नि ।’ अहिले पनि आफ्ना पति डा. तलवारको षडयन्त्रको शिकार बनेको महशुस हुन्छ, उनलाई ।

हेमराजले डा. तलवारको घरमा काम गरेवापत मासिक पाँच हजार रुपैयाँ पाउँथे । दुई हजार आफ्नो खर्च कटाएर मासिक तीन हजार रुपैयाँ घर पठाउँथे । सोही रकमबाट जेनतेन परिवारको खर्च चल्थ्यो । हत्या हुनु ६ महिनाअघि उनी एक महिनाका लागि घर आएका थिए ।

आफ्नै छोरीजस्तो व्यवहार गर्ने आरुषीसँग हेमराज आपत्तिजनक अवस्थामा भेटिएको आरोप खेमकला अस्वीकार गर्छिन् । ‘छोरीजस्तै गरेर हुर्काएकी बच्चीसँग उहाँले त्यसो गर्नै सक्नु हुन्न,’ उनी भन्छिन्, ‘यो सबै दोषीलाई सजायँबाट जोगाउने षडयन्त्र हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment