Comments Add Comment

नुवाकोटमा २५ मेगावाटको सोलार प्लान्ट राखिँदै

आगामी वर्षको हिउँदअघि उत्पादन थाल्ने लक्ष्य

१९ पुस, काठमाडौं । २५ मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापनाको जिम्मा पाएको राइजन इनर्जी नामक कम्पनीले काम अगाडि बढाएको छ ।

उक्त प्लान्ट नुवाकोटको विदुर नगरपालिकामा स्थापना गर्न लागिएको हो । अहिले त्यसको डिजाइन तयार पार्ने काम भइरहेको छ ।

ग्रिड सोलार एन्ड इनर्जी इफिसिएन्सीका आयोजना प्रमुख नुतनदेव भट्टराईका अनुसार दुई महिनाभित्र निर्माण शुरु हुनेछ । आगामी वर्षको हिउँदअघि नै निर्माण सक्ने योजना छ ।

परामर्शदाताबाट डिजाइन प्रमाणित भएलगत्तै निर्माण थाल्ने तयारी भइरहेको छ ।

संसदको सार्वजनिक लेखा समितिले १७ साउनमा ठेक्का सम्झौता खारेज गर्न ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणलाई निर्देशन दिएको थियो । कम रकम कबोल गर्ने कम्पनी हुँदाहुँदै बढी कबोल गर्नेलाई ठेक्का दिइएको लेखा समितिको आरोप थियो ।

त्यसविरुद्ध राइजनले पाटन उच्च अदालतमा मुद्दा दायर गरेको थियो । उच्च अदालतले २० कात्तिकमा राइजनकै पक्षमा फैसला दिएपछि उक्त आयोजना कार्यान्वयनको बाटो फुकेको हो ।

काम रोकिएपछि उक्त कम्पनीले प्राधिकरणसँग दुई करोड ७७ लाख अमेरिकी डलर (दुई अर्ब ७७ करोड रुपैयाँ) क्षतिपूर्ति पनि मागेको थियो । अदालतले राइजनकै पक्षमा फैसला दिएपछि क्षतिपूर्तिको विवाद टुंगिएको भट्टराईले जानकारी दिए ।

उनका अनुसार निर्माण शुरु भएको वर्षदिनभित्रै उत्पादन थाल्ने योजना छ ।

नुवाकोटका विदुर र बट्टारमा प्लान्ट स्थापना गर्ने योजना छ । त्रिशुली र देवीघाट जलविद्युत केन्द्रको खाली जग्गामा सोलार प्यानल राखिनेछ । राख्ने ठाउँ अपुग भएमा कुलेखानीमा समेत प्यानल राख्ने आयोजनाको तयारी छ ।

यसअघि विज्ञको टोलीले अयोग्य ठहर्‍याएको चिनियाँ कम्पनी पिङ्गाओ एन्ड हेरोन जेभीलाई प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्लेले उक्त आयोजना जिम्मा लगाएका थिए । टेन्डरमा कम रकम आह्वान गर्ने कम्पनीहरुको सूचीमा पनि यो कम्पनी दोस्रो नम्बरमा परेको थियो ।

सोही कारण विश्व बैंकले उक्त कम्पनीलाई पनि निर्माणको जिम्मा दिन चाहेको थिएन । हालका कार्यकारी निर्देशक कुलमान घिसिङले राइजनलाई निर्माणको जिम्मा दिने निर्णय गरे । त्यसमा विश्व बैंक पनि सहमत भयो ।

लेखा समितिको हस्तक्षेपका कारण उक्त आयोजना वर्षदिन पछाडि धकेलिएको हो । यही हिउँदमा उत्पादन थाल्ने प्राधिकरणको योजना थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment