Comments Add Comment

काउटिन्हो बार्सिलोना जानु लिभरपुलका लागि ठूलो धक्का !

यो ट्रान्सफर लिभरपुलका समर्थकले कहिल्यै चाहेका थिएनन् । तर, अन्ततः सम्झौता भइछाड्यो । ब्राजलियन प्लेमेकर फिलिप काउटिन्हो संसारकै दोस्रो महंगा खेलाडीका रुपमा बार्सिलोना स्थानान्तरण भएका छन् ।

तर, लिभरपुलले उनलाई कति मिस गर्नेछ ? र, काउटिन्होका लागि १४२ मिलियन पाउण्ड लगानी गर्नुको कारण के हो ?

लिभरपुलका लागि ठूलो धक्का ?

यसमा केही सन्देह छैन कि जनवरी २०१३ मा लिभरपुल आएयता काउटिन्हो क्लवका महत्वपूर्ण खेलाडी हुन् । उसले २०० भन्दा बढी खेलमा ५४ गोल गरेका छन् । पछिल्लो तीन सिजनमा उनले लगातार दोहोरो अंकको गोल गरेका छन् ।

ब्राजिलियन प्लेमेकरले पछिल्लो सिजन प्रिमियर लिगमा १३ गोलका साथ क्लबको संयुक्त शीर्ष गोलकर्ता बनेका थिए भने जारी सिजनमा बार्सिलोना स्थानान्तरण हुनुअघि उनले ७ गोल गरेका छन् ।

तर, लिभरपुलले उनको गोल भन्दा बढी गोलका लागि अवसरहरु सृजना गर्ने र बल नियन्त्रणमा राख्ने क्षमता मिस गर्नेछ ।

गोलको सन्दर्भमा कुनै पनि खेलाडी रोबर्टो फिर्मिनो भन्दा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । फिर्मिनोले सन् २०१५ मा लिभरपुलमा आएता ३० गोल गरेका छन्, तर काउटिन्होको साथ बिना ब्राजिलियन स्ट्राइकरले आफ्नो प्रभावकारी नहुन सक्छन् ।

फिर्मिनोले काउटिन्होसँगै सुरुवाती ११ बाट खेल्दा ११ खेलमा ६ गोल गरेका छन्, जवकि बाँकी ७ खेलमा यी दुईले सँगै सुरुवात गरेका थिएनन् र फिर्मिनोले ३ गोलमात्र गर्न सके ।

वास्तवमा लिभरपुलका डिफेण्डर जेमी कार्रागरले पनि यो अनुमान लगाएका थिएनन् कि काउटिन्होको करिअर यसरी उकालो लाग्नेछ ।

लिभरपुलमा काउटिन्होको सुरुवाती दिनमा सँगै खेलेका कार्रागरले ट्वीट गरेका छन्, ‘काउटिन्हो जानु निक्कै निराशाजनक छ, जव मैले उसको साथ खेलेको थिएँ मैले कहिल्यै सोचेको थिइनँ कि उ यस्तो खेलाडी बन्न सक्छ, तर, उनी लिभरपुलका लागि एक महान खेलाडी हुन् ।’

तर, लिभरपुलका लागि सलाह छन् नि हैन ?

जारी सिजन मोहम्मद सलाहको शानदार लयले लिभरपुलका समर्थकका लागि ‘काउटिन्हो प्रेम’ केहि हदसम्म कम गरेको छ ।

लिभरपुलका लागि समान २१ गोल खेल्दा कोउटिन्हो भन्दा हरेक क्षेत्रमा सलाह अगाडि देखिएका छन् । काउटिन्होले भन्दा सलाहले १३ गोल बढी गरेका छन् । त्यस्तै दुवैले समान ५ पटक असिस्ट गरेका छन् । त्यस्तै गोलको अवसर सृजना गर्नेमा काउटिन्हो ३१ र सलाह ३५ पटक छ ।

लिभरपुलमा काउटिन्होलाई कसले प्रतिस्थापन गर्ला ?

काउटिन्होको बहिर्गमन वास्तवमै लिभरपुलका लागि एउटा ठूलो झड्का हो ।

जनवरी २०१३ मा इन्टर मिलानबाट मात्र ८.५ मिलियन पाउण्डमा लिभरपुल आएयता काउटिन्होले १४२ मिलियन पाउण्डका लागि आफ्नो मूल्य बृद्धिका साथै एक उत्कृष्ट फुटबलरको रुपमा स्थापित गरेका छन् ।

यसै सिजन अनुबन्ध भएका मोहम्मद सलाहले काउटिन्होको प्रतिस्थापनका लागि तयार भएको जस्तो देखिन्छ । तर, लिभरपुल यस सिजन लिगमा शीर्ष चारका लागि संघर्षरत छ र च्याम्पियन्स लिग र एफए कप पनि छँदैछ ।

सलाहले लिभरपुलमा शान्ति, तागत र अदभुद गोल क्षमताका कारण आफूलाई प्रमाणित गरिसकेका छन्, उनी निक्कै परिपक्व देखिन थालेका छन् जबकी चेल्सीमा तीन सिजन रहँदा उनी असफल सावित भएका थिए ।

नयाँ वर्षको सुरुवातमा काउटिन्हो नाउ क्याम्प गएपछि लिभरपुलको कथित ‘फ्याव फोर’ तोडिएको छ । तर, सलाह, साडियो मेन र फिर्मिनोले काउटिन्होको बहिर्गमनलाई छायामा पार्न सक्ने सामर्थ्य राख्छन् ।

यसै सिजन आरबी लिप्जिङबाट अनुबन्ध गरिएका मिडफिल्डर नेभी केइटाले अपेक्षाकृत प्रदर्शन गर्न नसकिरहँदा प्रशिक्षक जर्गेन क्लोपले बिकल्पहरुको खोजी गर्नुपर्ने हुनसक्छ ।

र, एलेक्स ओक्लाद च्याम्बरलिनको बारेमा के गर्ने नि ? उनलाई सेन्टर मिडफिल्डको भूमिकामा ल्याइएको थियो । सायद उनलाई आफ्नो प्रभाव जमाउन लामो समय दिइनेछ ।

के यो स्वारेजको जस्तै बहिर्गमन हो ?

सन् २०११ मा फर्नाण्डो टोरेसलाई ५० मिलियन पाउण्डमा चेल्सीलाई बेच्यो भने बार्सिलोनाले २०१४ मा लिभरपुलबाट लुइस स्वरेजलाई अनुबन्ध गरेको थियो ।

तर, के काउटिन्होको बहिर्गमनलाई यससँग जोडेर हेर्न सकिएला र ? र क्लबका ‘ठूला’ खेलाडीको बहिर्गमनमा लिभरपुलका फ्यानहरु पहिला जस्तै आशावादी बनेका छन् त ?

‘टोरेस र स्वरेज दुवैजना लिभरपुलका लागि निक्कै उत्कृष्ट थिए’ लिभरपुलका पूर्व डिफेण्डर मार्क लरेन्सन भन्छन्, ‘तर, यो अबस्थामा तपाईं पहिलेजस्तै गरी सोच्नुभयो भने गलत हुन सक्नुहुन्छ ।’

‘काउटिन्होको बहिर्गमन लिभरपुलका लागि एउटा ठूलो झड्का हो, तर मलाई लाग्दैन कि सबै सकियो । काउटिन्होको बहिर्गमन टोटनहृयामबाट हृयारी केन बाहिरिएजस्तो होइन ।’

बार्सिलोनाले काउटिन्होलाई कसरी स्थापित गर्ला ?

यो तथ्य कसैसामू लुकेको छैन कि काउटिन्हो बार्सिलोनाको एकमात्र टार्गेटमा थिए, जुन अहिले पूरा भएको छ ।

मिडफिल्डमा बढी रचनात्मक भूमिकामा देखिन रुचाउने ब्राजिलियन सुपरस्टार काउटिन्होलाई कप्तान आन्द्रेस इनिएष्टाको विकल्पमा रुपमा लामो समयका लागि तयार पारिनेछ । इनिएष्टा सिजनको अन्त्यतिर ३४ वर्षका हुनेछन् ।

र, इनिएष्टाको महत्व टिममा यसरी पनि बुझ्न सकिन्छ कि बार्सिलोनाले काउटिन्होलाई भित्र्याउन सिजनको अन्त्य पनि कुरेन ।

ला लिगाको उपाधि लगभग सुनिश्चित भइसकेपछि क्याटलान टोली अब च्याम्पियन्स लिगको उपाधिमा आफ्नो ध्यान केन्दि्रत गरिरहेको छ । र, इनिएष्टा त्यसका लागि निणर्ायक बन्न सक्छन् । यहाँसम्म कि लियोनल मेस्सीले पनि आफैंले सबै गर्न सक्दैनन्, जति फिट र स्वस्थ इनिएष्टाले गर्न सक्छन् ।

काउटिन्होको आगमनले बार्सिलोनाले लिग खेलहरुमा इनिएष्टालाई आराम दिन पाउनेछ र युरोपियन लेभलका खेलहरुमा उनको अनुभवको भरपूर प्रयोग गर्नेछ ।

सामरिक रुपमा काउटिन्होका लागि मुख्य चुनौति भनेको चाहीँ कसरी टिम गेममा रहने र अर्जेन्टाइन सुपरस्टार मेस्सीका लागि बल उपलब्ध गराउने भन्ने नै हुनेछ, जसको वरिपरि बार्सिलोना घुमिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment