Comments Add Comment

खस्कियो नेपाल एयरलाइन्सको सेवा

वर्षदिनमै मार्केट सेयर गुमाउँदै राष्ट्रिय ध्वजावाहक

२४ पुस, काठमाडौं । त्रिभुवन विमानस्थलबाट उडान भर्ने र यात्रुलाई सेवा दिनेमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सेवा खस्किएको छ ।

दुईवटा बोइङमध्ये एउटा लिलामी र अर्काे मर्मतका लागि एक महिनासम्म सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा राख्नु परेपछि निगमको उडान ठूलो संख्यामा कटौती भएको थियो । सोही कारण निगमको सेवा कमजोर देखिएको हो ।

सन् २०१५ को तुलनामा २०१६ मा यात्रु बोक्ने र उडान भर्ने दुवै हिसाबले निगम पहिलो स्थानमा थियो । किनकि, दुई बोइङ र दुई एयरबसको नियमित उडानका कारण बजार विस्तार राम्रो देखिएको थियो ।

तर, २०१७ मा सबै विमानको सेवा नियमित हुन सकेन । र, उडान भर्ने र यात्रु बोक्ने दुवै सूचीमा दोस्रो स्थानमा ओर्लिएको छ । निगमलाई यसपालि भारतीय निजी कम्पनी जेट एयरवेजले उछिनेको छ ।

सन् २०१७ का जनवरीदेखि जुलाईसम्मको आँकडा केलाउँदा निगमभन्दा जेट एयरवेजले त्रिभुवन विमानस्थलबाट धेरै यात्रुलाई सेवा दिएको छ । विमानस्थलका अनुसार जुलाई २०१७ सम्ममा जेट एयरवेजले २१ सय १७ पटक उडान भरेको छ । र, दुई लाख ६७ हजार चार सय ६६ यात्रु ओसारेको छ ।

उक्त अवधिमा अन्तर्राष्ट्रिय उडान गर्ने निगमका विमानले दुई लाख ३० हजार एक सय १३ यात्रुलाई सेवा दिए, जुन जेट एयरवेजको भन्दा ३७ हजार तीन सय ५३ जनाले कम हो ।

साथै, निगमका विमानले सन् २०१७ का सात महिनामा १८ सय १८ पटक मात्र उडान भरे ।

सन् २०१५ मा निगम नेपालबाट बढी उडान भर्नेमा तेस्रो र बढी यात्रु बोक्नेमा पाँचौं स्थानमा थियो । सन् २०१६ मा भने सबैलाई पछाडि पार्दै पहिलो बन्यो ।

सन् २०१५ को शुरुसम्म निगमसँग दुई वटा बोइङ मात्र थिए । सोही वर्षको फेब्रुअरी र अप्रिलमा दुई वटा एयरबस–३२० विमान थपिए । केही समयपछि नै एउटा बोइङ–७५७ लिलामका लागि राखियो । र, विमान संख्या तीनमा खुम्चियो ।

अर्काे बोइङ–७५७ पनि हेभी मर्मतका लागि लामो समय सिंगापुरमा थन्किएपछि ‘मार्केट सेयर’ खस्किन पुग्यो ।

सोही डरका कारण निगमले गत साउनमा भाडामा विमान लिएर भए पनि यात्रुलाई सेवा दिने नीति अगाडि सार्‍यो । तर, हवाई नीतिअनुसार १५ वर्षभन्दा पुरानो जहाज आयात गर्न नपाइने भएकाले भुटान एयरलाइन्सको विमान भाडामा ल्याउने सम्झौता रद्द गर्नु पर्‍यो ।

भुटानी एयरलाइन्सले दिन लागेको विमान उड्न थालेको १६ वर्ष आठ महिना भइसकेको थियो ।

निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने, ‘अन्तर्राष्ट्रिय कम्पनीहरुले एउटा विमान मर्मतमा जाँदा अथवा बिग्रँदा अर्काेमार्फत् सेवा दिन्छन् । तर, हामीले त्यसो गर्न सकेनौं, भाडामा पनि ल्याउन पाएनौं । त्यसैले व्यापार खस्कियो ।’

निगमले अहिले भारतका नयाँदिल्ली, मुम्बई, बैंगलोर, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, हङकङ र संयुक्त अरब इमिरेट्सको दुबईमा उडान भरिरहेको छ ।

यसअघि नयाँदिल्ली, दोहा, मुम्बई र बैंगलोरमा यसका उडान थिएनन् । ती गन्तव्यमा विदेशी विमानबाट मात्रै नेपालीहरु आवतजावत गर्न बाध्य थिए । बजार विस्तार हुँदै गर्दा विमान अभावका कारण धमाधम उडान कटौती गर्न बाध्य भएको छ, राष्ट्रिय ध्वजावाहक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment