बुधबार, ३ माघ, २०७४
OnlineKhabar.com

पुस्तक अंशः सुन मैयाँ ! म त जन्मँदै नोकर्नी

अनलाइनखबर

म आमोई ।

मेरा छोराछोरीले मलाई सधैं यही नामले सम्बोधन गरे ।

मेरो वास्तविक नाम भने रोमकुमारी हो ।

छाछुरे भीरको उकाली चढेर देउरालीमा पुगेपछि तलको महाभीरतिर हेर्दा जसरी यात्रु कहालिन्छन्, मेरो जीवनयात्रा पनि त्यस्तै लाग्छ, मलाई । त्यो दुष्कर यात्रा कसरी पार गरें ? अहिले सम्झँदा पनि मुटु हल्लिन्छ । ती घटनाको झलकसम्म यहाँ दिन्छु, चर्चा पछि गर्नेछु ।

म नौ वर्षकी थिएँ । मेरो विवाह पुतलीखेलको ११ वर्षे बालकसँग भयो । अहिले उनको अनुहार पनि सम्झन्नँ म । मैले १२ वर्ष टेकेकी मात्र थिएँ, ती मेरा दुलाहा भनिएका केटाले अत्महत्या गरे ।

सासूबज्यै र जेठाजुका साथ पराश्रति जिन्दगी बाँच्दै थिएँ । मेरो उमेर २७ वर्ष पुग्यो । घरमा दुई वटा प्रलय पसे, हैजा र बिफर । दुइटी जेठानी र सासूबज्यैको जीवनलीला त्यही प्रकोपको चपेटामा परेर समाप्त भयो । त्यो घरमा शेष रहे राँडो जेठाजु, राँडी बुहारी म र एउटी बालक छोरी मात्र । मैले १३ वर्षकी साक्खै बहिनी मागेर ५० वर्षे जेठाजुका साथ विवाह गराउनुपर्‍यो ।

दुःखलाई सुख मानेर जिन्दगी चल्दै थियो । बहिनीको गर्भबाट ६ सन्तान जन्मे । कान्छो छोरो जन्मिएको नवौं दिनमा जेठाजु बित्नुभयो । त्यो चिल्लीबिल्ली खपियो, बेहोरियो । छोराछोरी बढे । दुई छोरा र दुई छोरीको विवाहकर्म मेरै हातबाट भयो । केही सुधार हुँदैछ भन्ने ठानियो । माइली बुहारीकी दोस्री सन्तान जन्मी तर छोरीको जन्म हुनासाथ बुहारीको परलोक भयो । जीवनमा परेका यस्ता दुःखद् घटना अहिले सम्भिmन्छु, मनमा कहाली छुट्छ ।

म नेपालकी छोरी हुँ । थानकोटपारि, दहचोकको बसन्डोलमा जन्मेकी थिएँ, १९७४ सालमा । म जन्मेको गाउँलाई नेपालथोक भन्थे । त्यहाँ नेपालहरुको बसोवास थियो । यो वंश पनि मेरै जीवनझैं निभ्दै र बल्दै थियो ।

म आफ्नै दुनियाँमा पुगें । मैयाँ भनूँ या मैना पिँजराबाट निस्की र आफ्नै आकाशमा उडी । त्यो घरमा पस्नेबित्तिकै मेरा बाबा-आमाले दिनुभएको प्यारो नाम मैयाँ समाप्त भएको थियो । मेरो निजत्व थियो मैयाँ नाम ।

त्यो सहसा बदलिएर कसैकी ‘नेपालकी छोरी’ बनें, कसैकी ‘कान्छी’ हुन पुगें । जेठाजुहरुकी ‘सान्दुलै’ भएँ । त्यहाँ मेरो निजत्व बचेन, उल्टै छिरलियो ।

संसारमा लाखौं सम्बोधन या नाम होलान् । ती नाम मलाई पि्रय लाग्दैनन् । म सबै ठाउँमा सबैका उच्चारणमा मैयाँ नै बनूँ । तर, यो गैह्रीगाउँमा मलाई कसैले मैयाँ नामले बोलाएनन् ।

नेपालथोकका प्रत्येक वनबुटा, बडहर र नास्पातीको रुखले हरेकक्षण मैयाँ भनेर सम्बोधन गरिरहेको सुन्छु । परको पवित्रा बाँझो, पल्लोबारी, ढुंगाखन्या र ठुल्चौर मलाई मैयाँ नामले बोलाउँछन् ।

बाबाका साथमा गोठअगाडि पुग्दा सानीबैनी सान्नानी ‘मेरी मैयाँ दिदी Û’ भन्दै मेरो कम्मरमा अँगालो मार्न आइपुगेकी थिई । मेरो समापन हुन लागेको अस्तित्वलाई मेरी बैनीले यहीँदेखि पुनः उद्घाटन गरिदिई ।

आमाको अँगालोमा बाँधिएर ‘प्यारी मैयाँ आई’ भन्नु भएको वात्सल्य संसारभरिका मानिसले मलाई दिन सक्दैनन् ।

यो घरमा म घरजस्तै भएँ । भाउजूकी ‘मैयाँ नानी’ भएँ । मेरा दौंतरीका बीचमा म उत्रै र उस्तै भएँ । सधैं लतारेर हिँड्नु पर्ने गुन्यूचोलो नेलजस्तै लाग्थ्यो । त्यसबाट मुक्त भएर आफ्नै भोटो सुरुवाल लगाउँदा म पुतलीजस्तै हलुका भएँ ।

‘सुन मैयाँ ! मेरा कुरा ध्यान दिएर सुन ! छोरीले खाएको राम्रो घर । छोराले खाएको राम्रो शहर । मर्दले गरेको ठहर । बेलैमा दाएको बहर । मौसममा चलेको नहर । प्रष्ट खुलेको प्रहर । यसबाट अहित हुँदैन ।

मेरो गलामा लगनको पोते थियो । त्यो झुत्तो लत्रेर नाइटोसम्म पुग्थ्यो । त्यो पनि मेरा लागि गलफन्दीझैं लाग्थ्यो । बलपूर्वक भिरेकी थिएँ । मैले त्यो पोते पनि झिकेर आमालाई राख्न दिएपछि कतै काँटछाँट नगरिएकी साविक कित्ता भएँ, शुद्ध मैयाँ मात्र बनें ।

गैह्रीगाउँमा बितेका सात दिन सात वर्ष लामा भएर कटे । नेपालथोकमा आएको हिजोझैं लाग्दै थियो, सात दिन बितिसकेछन् । त्यो दिन बाबाले मसित सोध्नुभयो, ‘मैयाँ ! तिम्री सासूबज्यै भन्नुहुन्थ्यो- नाबालक छ । सात दिन यता र सात दिन उता गर्दै बानी लगाउनुपर्ला Û सात दिन भइसक्यो । के गर्ने मैयाँ ?’

‘त्यो घरमा मेरो कामै छैन । म जान्नँ बाबा !’ म फन्कें ।

‘ठीकै छ, अहिले नजाऊ ! म छोरीको बाबु भएँ । भोलि मलाई नै दोष आउँछ । म आफैं गएर केही दिन उतै बस्छे भनेर मुख मिलाउनुपर्छ । मैले के भन्ने ?’ बाबा यस्ता कुरा गर्दै हुनुहुन्थ्यो ।

आमाले भन्नुभयो, ‘आफैंं गएर बिन्ती गर्नैपर्छ । अहिले केही समय उतै बस्छे भने भइहाल्यो नि ! उहाँहरु पनि कुरा नबुझ्ने मानिस होइन क्यारे ।’

कुरा सल्टियो । म उता नजाने भएँ । बाबा गएर कुरा मिलाउनुभयो । समय बित्न थाल्यो । दिन, महिना बने, महिनाले बर्खा शुरु गरे । अब दशैंमा मात्र फर्किने भएँ म ।

हिजोजस्तो लाग्दै थियो, पाँच महिना बितेको पत्तै भएन । घटस्थापनाकै दिन बाबा मलाई पुर्‍याउन जाने हुनुभयो । कोसेली भनेर एक डालो सेल पकाउनु भयो, आमाले । डालो बोकाएर न्याउरी दिदीलाई लैजाने सल्लाह भएकाले हाम्रै घरमा खाना खाने गरी उनलाई बोलाइएको थियो । यसरी चाँडै बोलाउनु पर्ने कारण उनले तरकारी केलाउन र भाँडाकुँडा सफा गर्न मद्दत गर्थिन् ।

बिचरी न्याउरी, यसैबेला ऊ कमारीबाट मुक्त भएकी थिई । राजाले कमारा-कमारी प्रथा निर्मूल भएको घोषणा गरे रे । कमारा-कमारी किन्नमा रैतीले खर्च गरेको रकम राज्यकोषबाट भुक्तानी दिने पनि व्यवस्था भयो रे ।

न्याउरी पहिले उमाकान्त रुपाखेतीकी कमारी थिई । उमाकान्तले कमारी किनेको खर्च बुझेर लिए । कमारा-कमारी जतिलाई राज्यले अमलेखगञ्जमा पुनर्वास गराउने निणर्य पनि सार्वजनिक गरेको थियो रे । यसरी सित्तैंमा पाइने जग्गा लिन पनि न्याउरीले चासो देखाइन ।

उसको लोग्ने पनि थियो । न्याउरीकै नाताले होला, उसलाई न्याउरे भन्थे । यिनका बूढाबूढी हाम्रो समाजमा यति धेरै भिजिसकेका थिए, त्यसका तुलनामा अमलेखगञ्जको जग्गा मूल्यहीन भयो, न्याउरीलाई ।

हुन पनि, कसैका सुत्केरी स्याहार्नुपर्‍यो न्याउरी, लोकन्ती, कलस्यौली जानुपर्‍यो न्याउरी, कसैका इष्ट आफन्त मरेर बिचार बोक्नुपर्‍यो न्याउरी, छोरीचेलीलाई कोसेलीपात पुर्‍याउनुपर्‍यो न्याउरी, जूठो सुत्केरोका कपडा धुनुपर्‍यो न्याउरी नै थिई ।

जुन काम गर्दा आफू अपमानित, अपहेलित बन्नुपरेको सोच पाल्ने त्यो जमानामा अरुले नगर्ने त्यस्ता काम न्याउरीकै भागमा पर्थे । यस्तै काम पहिले पनि उसले गरेकै थिई, अब गर्नुपर्दा उसलाई के अप्ठ्यारो ? यस्तै वृत्तिबाट आफ्नो जिन्दगी चल्छ भन्ने कुरा न्याउरीले सोचिहोली । ऊ अमलेखगञ्ज गइन ।

न्याउरीले सयौंका व्यवहार देखेकी थिई । के र कुन व्यवहार राम्रा या नराम्रा भन्ने पाठ उसले समाजमा पढेकी थिई । कोसँग कसरी बोल्नुपर्छ ? मर्यादा के ? चरित्र के ? पुरुषका कर्तव्य के ? नारीको स्थान कुन ? यी जम्मै कुराको ज्ञान न्याउरीलाई थियो । न्याउरीलाई जिम्मा दिएपछि त्यो काम फत्ते भयो भन्ने विश्वास समाजमा थियो । त्यसैले न्याउरी सबैकी कामप्यारी थिई ।

चाडपर्व आउँदा न्याउरी सबैका दैलामा पुग्थी । मानामुठी सबैले दिन्थे । ती दुई जनाको चाडपर्व मजाले चल्थ्यो । हाम्री आमाले दशैंको नवमीमा तिनलाई डाकेर मासुभात खुवाउनु हुन्थ्यो । तिहारका सेलरोटी न्याउरीका निम्ति भाग लागेर बस्थे । त्यसैले न्याउरी दयापात्र पनि ठानिन्थी, दाहिने हात पनि मानिन्थी ।

त्यो बिहान आमाले फर्सीका मुन्टा कताबाट ल्याउनु भएको थियो कुन्नि, उसलाई दिनुभयो । न्याउरी आउनेबित्तिकै मझेरीको चकटीमा बसेर केलाउन लागी । म र भाउजू पनि त्यतै थियौं । म लामो समयसम्म घर नगएको कुरा शायद न्याउरीलाई चित्त बुझेको रहेनछ ।

मतिर हेरेर न्याउरीले भनेका कुरा म झल्झली सम्झन्छु, आज । उसले भनी, ‘मैयाँ नानी ! त्यो पिर्कामा बस !’ उसले देखाएको पिर्कामा टुस्स बसें म ।

‘सुन मैयाँ ! मेरा कुरा ध्यान दिएर सुन ! छोरीले खाएको राम्रो घर । छोराले खाएको राम्रो शहर । मर्दले गरेको ठहर । बेलैमा दाएको बहर । मौसममा चलेको नहर । प्रष्ट खुलेको प्रहर । यसबाट अहित हँुदैन । उज्यालो हुँदै मानिसले सोच्नुपर्छ, भरे रात पनि पर्छ भनेर । तिमी सानी छ्यौ । अहिले सबै कुरा बुझि्दनौ । यो न्याउरी बूढीले यस्ता कुरा गरेकी थिइन् भनेर जिन्दगीभरि सम्भिmने छौ ।

मलाई हेर मैयाँ ! म मानिस होइन जन्मिँदै नोकर्नी थिएँ । म बुझ्ने भएँ तर नोकर्नीकै कर्तव्य बुझें । आधा ढाड नांगो हिँड्दा पनि मलाई लाज भएन । सयौंको जूठोपुरो खाएँ तर घीन भएन । यथार्थ कस्तो भयो भने मैयाँ ! म नांगो हुँदा पनि मेरो इज्जत गएन ।

हर छोप्नेका इज्जत लिलाममा चढेको पनि देखें । सयौंको जूठो खाँदा तिनका बुद्धिजति मैले निलेंछु । दुर्गुण जति तिनले आफ्ना गाँसमा खाए । पढेका पण्डित व्यवहारमा असफल भए । नपढेकी न्याउरी पण्डित्नी भई ।

मैले दुनियाँ देखिसकेकी छु । थोरै दुनियाँले मात्र मलाई देखेको होला । मलाई जसले किन्यो, ऊ मालिक नै थियो । अहिले सरकारले मलाई निखन्यो ।

उही मालिकलाई रु. २००/-को थैली बुझायो । यसबाट मालिकले एक खला खेत किन्यो र झनै ठूलो मालिक बन्यो । न्याउरीको हातमा सुन्ना, यो हिजोजस्तै खोप्रामै बस्छे । अझ पनि न्याउरी जूठोपुरोमै बाँचेकी छे ।

यो बूढीले के भनी, त्यो कुरा अहिले नभए भोलि अवश्य नै बुझौली । आमा परी राँडमा, छोराछोरी भैंमा न भाँडामा । अरु सिग्देलका व्यवहारमा म गएकी छु । तिनका व्यवहार पनि बुझेकी छु । तिम्रो बिहे भएको घरमा म गएकी छैन तर कुरा बुझिहाल्छु ।

त्यो परिवारमा ठूलै समस्या आउने सम्भावना छ । पण्डित पात्रो हेरेर जोखाना गर्छन्, म व्यवहार हेरेर जोखाना गर्छु । त्यो घरको व्यवहारमा तिमीले डटेर खट्नुपर्छ, पछि हट्यौ भने दुःख पाउँछ्यौ मैयाँ ! विचार गर !’

त्यो बसाइमा न्याउरीले अरु पनि धेरै कुरा भनेकी थिई । धेरै वर्षअघिको कुरा, बालमनले आशयअनुसार यत्ति मात्र सम्झिन सक्यो । न्याउरीका कुरा आमा पनि ध्यानपूर्वक सुन्दै हुनुहुन्थ्यो, भन्नुभो, ‘न्याउरी ! यो बिचराले तिम्रा सबै कुरा सम्भिmन सक्दिन । मलाई पनि तिम्रा कति कुरामाथि घोत्लिनुपर्छ । अरुले त तिमीलाई कमारी मात्र देख्लान् न्याउरी, म भने व्यवहारसिद्ध आइमाई भनेर पहिल्यैदेखि चिन्छु ।’

आमाका कुुरा सुनेपछि न्याउरी हाँसेकी थिई । न्याउरीको अनुहार उसै राम्रो थिएन । यसरी हाँस्दा पनि ऊ राम्री देखिइन । गालाभरि फोकाजस्ता दाग थिए । ती समयका दाग थिए भन्ने कुरा धेरैपछि मात्र मैले बुझेकी थिएँ ।

अझै भद्दा अनुहार देखिन्थ्यो, उसको । उसका खबटे दाँत फोहोरी थिए । उसै पनि कालो रङकी न्याउरी भूतजस्तै देखिन्थी । हामीले सधैं देख्ने भएर मात्र हो, कुनै नयाँ ठाउँमा एक्लै-दोक्लै बालकले देख्ने हो भने पक्कै डराएर भाग्दा हुन् ।

उसले आमालाई भनी, ‘कान्छी बज्यै ! श्रीनाथ बालाई सबैले झुराउँछन् किनभने उहाँ मसिनो बोल्नुहुन्छ, कसैलाई नबिझाउने गरी बोल्नुहुन्छ । जसले जे भने पनि कुरा खस्रा मीठा र रोटी चिल्लै मीठा हुन् । आफ्ना बच्चा कसलाई प्यारो लाग्दैन ? तर, बच्चाका होचीअर्घेली बुझेर बाबु-आमाले व्यवहार गर्नुपर्छ । कान्छा बाजेसँग यो बानी छैन बज्यै । विचार गर्नु होला यो बानी हानिकारक पनि हुनसक्छ ।’

आमाले भन्नुभो, ‘न्याउरी तिमी सम्झाइदेऊ न बाजेलाई ।’

‘ज्योतिष जोखाना हेर्ने कान्छा बाजे छन्, वनमाली पण्डित छन्, वेणिदत्त गुरु छन् । यति ठूला पण्डितका घरमा जान छाडेर यो न्याउरी कमारीसित को सल्लाह गर्न आउँछ बज्यै ? मेरा कुरालाई सबैले कमारीका ठट्टा मान्छन् ।’

न्याउरी बूढीले त्यो बिहान पढेर नजानिने रहस्यमय विद्या पढाएकी थिई । अहिले सम्भिmन्छु र थकथक लाग्छ, न्याउरीका उपदेश प्रत्येक छोरीका घरमा कोसेली पठाउन सकेको भए ?

मैले घरमा लिएर जाने, उही न्याउरीले बोकेर जाने डालामा आमाका सीपले बनेका मीठा कोसेली मात्र भरिएका थिए ।

मध्यान्ह कटेको हुँदो हो । फेरि अमिलो मुख लगाएर म माइतबाट घर जान निस्कें । फेरि सान्नानी मेरो कम्मरमा झुत्तिएर रोई । त्यसपछि बाबा हुनुहुन्थ्यो । तीन जनाको साइत राम्रो हुन्न भनेर न्याउरी साथमा आइन, पछि आउने भई ।

बाबा र म गैह्रीगाउँमा पुग्यौं । सासूबज्यै पिँडीको सुकुलमाथि बस्नु भएको थियो । हामीलाई देखेपछि सुकुलबाट उठ्नुभयो । बाबालाई सुकुलमा बस्न अनुरोध गर्नुभयो । आफू परको चकटीमा बस्दै भन्नुभो- ‘होइन, कान्छा नेपालले छोरीलाई माइतमै पाल्ने भए कि कसो भन्ने लागेको थियो । कसरी घर सम्झी यसले आज ?’

बाबाले हात जोड्नुभयो, ‘यो हजुरकै नासो हो । कच्चा अबला छ भनेर केही ओथाएका हौं । रिसानी नहोस् । हजुर आफैंं यति ठूलो व्यवहार धानेर, दुनियाँ बुझेर बस्नु भएको छ । म के भनूँ ?’

‘सबैको व्यवहार यस्तै हो । चलन पनि उस्तै हो । म पनि आठै वर्षमा भित्रिएकी हुँ । अरु तीन वटी बुहारी पनि यो घरमा पस्न आउँदा कसैले पनि नौ वर्ष कटेका थिएनन् । हामी बाघ होइनौं । खोइ तिनलाई खाएनौं । के नेपालकी छोरीलाई सबै मिलेर क्वाप्पै खान्थौं होला त ?’

बज्यैका कुराले बाबा नाजवाफ हुनु भयो । म बलेसीमा ठिंग परेर उभिएकी थिएँ । मतिर हेरेर बज्यैले भन्नुभो, ‘के टोलाएकी ? जा लुगा फेरेर आ !’

म लुमुक्क परेर माथि मटानमा गएँ । घरमा अरु कोही पनि थिएनन् । लुगा राख्ने एउटा सन्दुस बाबाले बनाउन लगाउनु भएको थियो । तिहारअघि नबन्ने खबर सिकर्मीले गर्‍यो भन्नुहुन्थ्यो ।

मेरा बिहेका सबै लुगा मटानको भित्तापट्ट िडोरीमा जस्तातस्तै झुण्डिएका थिए । यो सालको दशैंका लुगा भनेर बाबाले एकजोर राम्रो सारी चोलो ल्याइदिनु भएको थियो । म तिनै नयाँ लुगा लगाएर पुराना लुगा न्याउरीलाई बोक्न दिएर आएकी थिएँ ।

यहाँ भोटो सुरुवाल लगाउन पाइन्नथ्यो । यहाँ मैले गुन्यूचोलो लगाउनु पथ्र्यो । भोटो सुरुवाल भए आफैंं लगाउँथें । गुन्यूचोलो लगाउने ढंग मसँग थिएन ।

मटानमा उभिएर जिल्लिएँ म । घरमा कुनै दिदी पनि हुनुहुन्न । अब कसले मलाई गुन्यू लगाइदिने ? मलाई ठूलो संकट पर्‍यो । मैले सोचें- भोटो र चोलो त उस्तै हो, लगाउन सकिहाल्छु । मैले आफ्नो नयाँ चोली खोलेर डोरीमा झुन्ड्याएँ । घरमा बस्दा लाउने चोलो माथि नै थियो, झिकें ।

रामराम ! कसिंगर र धूलोले हेर्नै नहुने भएको थियो । धूलो झारझुर पारें । चोली लगाएँ । तल न्याउरी बूढी आइपुगेकी होली । अब यो सारी उसैलाई फेराइदेऊ भन्छु भन्ने सोच आयो ।

घरमा बस्दा लाउने धोतीको हालत पनि झण्डै चोलीजस्तै थियो । तै त्यसको केही भाग चोलीले छोपिएकाले कतैकतै हेर्नहुने थियो । त्यो धोती लिएर म तल मझेरीमा गएँ । न्याउरी कुनापट्टी बसेकी रहिछे । आँखीझ्यालबाट देखिई । झ्यालमै मुख जोतेर ‘ए न्याउरी आमै ! एकपल्ट भित्र आउनोस् न !’ भनें ।

मेरो आवाज सुनेपछि न्याउरी भित्र आई । मैले विस्तारै समस्या बताएँ । पिँढीमा बाबा र बज्यै केके गुनगुन गर्दै थिए । उहाँहरुले मेरो समस्या बुझ्नु भएन होला ।

न्याउरीले मेरो चोली र धोतीको हालत देखेपछि मलाई हकारी, ‘हेर मैयाँ नानी ! लामो समयसम्म लुगाको वास्ता नभएपछि यसरी धूलो र मयल जम्यो । घरको सम्बन्ध पनि यस्तै हो । तिमी ६ महिना माइत गएर बस्यौ । यी लुगामा भन्दा बढी मयल तिम्रा मान्छेका मनमा जमिसकेको छ । तिम्रा लुगा धोएपछि सफा हुन्छ तुरुन्तै तर मान्छेका मनको मयल व्यवहारले धुनुपर्छ, सफा गर्न धेरै समय लाग्छ । यस्ता फोहोर लुगा लगाएर बस्ने अधिकार मजस्ता कमारीलाई मात्र छ । कान्छा नेपालकी छोरीले यस्ता कपडा लगाएर घरमा बस्दा घरैको इज्जत जान्छ । जाऊ माथि अर्को जोर सफा लुगा छ कि खोजेर ल्याऊ । मैला भएका सबै तिम्रा लुगा झिकेर ल्याऊ ! म धाराबाट धोएर ल्याइदिन्छु ।’

म लुमुक्क परेर माथि गएँ । पट्याएर डोरीमा झुण्ड्याइएका लुगामध्ये एकजोर अहिले लगाउनका लागि झिकें । त्यहाँ मेरा जोरकपडा झुण्डिएका थिए । तीमध्ये धूलोले मैलेका तीन जोर कपडा लिएर मझेरीमा आएँ ।

मेरा लुगा फेराउँदै उसले भनी, ‘अब तिम्रो गुन्यू अरुले फेराइदिने होइन । ल हेर गुन्यू लगाउने यसरी हो । तिमीले सिक्नैपर्छ । छोरीको जातले सधैं केटाकेटी बन्न मिल्दैन । मैयाँ नानी ! जाऊ गोठतिर सानो डोको र नाम्लो होला, खोजेर ल्याऊ ।’

मैले डोको नाम्लो खोजेर ल्याइदिएँ । न्याउरीले मेरा लुगा त्यसमा हाली । एउटा रित्तो गाग्रीसमेत हातमा झुण्ड्याएर बाहिर निस्की । उसले बाबालाई भनी, ‘कान्छा बाजे !तपाईंको घरमा काम होला, जानुभए हुन्छ । यी नानीका लुगा मैलिएछन् । म धारामा गएर पखालपुखुल गरेर सुकाइदिन्छु । म बेलुका र्फकंदा डालो लिएर आउँला है !’

बाबा एकैछिन बसेर बिदा माग्नुभयो । मेरो मुख उज्यालो बनेन होला, तैपनि उज्यालै पार्न खोजें । सासूबज्यैले मलाई भन्नुभो, ‘हेर कान्छी ! तिमीलाई नेपाल खलकले धेरै पुल्पुल्याएर राखेजस्तो छ । तिम्रो उमेर १० वर्षको भइसक्यो । अब सधैं सानी हुन्नौ । भोलिदेखि बिहानको खाइधन्दामा चुलो लोटाउने र पोत्ने काम तिम्रो । त्यसपछि पूजाभाँडा सफासँग माझी सुकाएर गाईबाख्रा चराउन जाने काम तिम्रो । बेलुकाको चुलो पोत्ने लोटाउने काम दिदीहरु नै गर्छन् । साइँली घरकै काम गरेर बस्छे, गोठालो जान्न, बुझ्यौ ?’

‘बुझें !’ मैले विस्तारै भनें ।

घाम डुब्न लागेपछि न्याउरी धाराबाट फर्की । पिँडीमा डोको र गाग्री राख्दै भुतभुताई, ‘अबेर भइगो । लुगा सुक्न बेर लाग्यो । लौ यी लुगा लगेर राख मैयाँ नानी ! मेरो डालो लेऊ ! म हिँडिहाल्छु ।’

‘पखपख न्याउरी !’ सासूबज्यैले टपरीमा राखेर दुई वटा सेल र तिलको अचार उसलाई दिँदै भन्नुभो, ‘लौ खाएर जाऊ ! कि यतै बसे पनि हुन्छ, अबेर हुन लाग्यो ।’

‘होइन बज्यै ! म यता बस्दा उता बूढो एक्लो हुन्छ । मैले यता यो खाजा खाँदा उता ऊ भोकै पर्छ । म घरै लैजान्छु । बूढाबूढी बाँडेर खान्छौं । त्यसको स्वादै अर्को हुन्छ । लुकी-लुकी खाने जति सुकी-सुकी मर्छन् नि बज्यै, होइन र ?’

‘कति मीठा कुरा गर्न जानेकी बाबै !’ बज्यै हाँस्नुभयो ।

‘घर-घरका मीठा खाने कुरा खाँदा-खाँदा मेरा कुरा आफैंं मीठा बनेर आएका हुन् बज्यै ! ल बिदा भएँ अहिले !’ न्याउरी डालो च्यापेर हिँडी ।

(मदन पुरस्कारको सर्ट लिस्टमा परेको भुवनहरि सिग्देलको उपन्यास ‘आमोई’बाट)

२०७४ पुष २९ गते २३:१० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this