Comments Add Comment

भारत लोकसभा चुनाव : नरेन्द्र मोदी वाराणसीबाट र अमित गान्धीनगरबाट उम्मेदवार

८ चैत, काठमाडौं । लोकसभा चुनावका लागि भारतीय जनता पार्टी (भाजपा)ले उम्मेदवारहरुको पहिलो सूची सार्वजनिक गरेको छ ।

बिहीबार राति अबेर सार्वजनिक गरिएको सूचीअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीबाट उम्मेदवार बन्नेछन् । उनले यसअघि वाराणसीबाटै चुनाव जितेका थिए ।

भाजपा अध्यक्ष अमित शाह गान्धीनगरबाट चुनाव उठ्ने छन् । शाह हाल राज्यसभा सांसद हुन् र उनी पहिलो पटक गान्धीनगरबाट लोकसभाको चुनाव लड्न लागेका हुन् ।

भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी हाल गान्धीनगरबाट सांसद छन् । तर, उम्मेदवारको पहिलो सूचीमा आडवाणीको नाम छैन । सम्भवतः आडवाणीको टिकट खोसिएको छ ।

उत्तरप्रदेशका २८ उम्मेदवारको सूची जारी

उत्तर प्रदेशका कुल ८० सिटमध्ये पहिलो सूचीमा केबल २८ उम्मेदवारको नामावलीमात्र सार्वजनिक गरिएको छ । यस सूचीअनुसार भाजपाले हालका ६ सांसदको नाम हटाएको छ ।

यसमा वरिष्ठ नेता एवम् पूर्वअध्यक्ष मुरली मनोहर जोशीको नाम पनि छैन । यद्यपि प्रधानमन्त्री मोदी भने फेरि पनि वाराणसीबाटै चुनाव लड्ने छन् ।
भीम आर्मीको संस्थापक चन्द्रशेखर आजाद अर्थात रावणले बीबीसीसँग कुरा गर्दै मोदीविरुद्ध वाराणसीबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

हालै कांग्रेस महासचिव एवम् उत्तर प्रदेशकी इञ्चार्ज सोनिया गान्धीले अस्पतालमा भर्ना भएका चन्द्रशेखर आजादलाई भेटेपछि उनी मोदी विरुद्ध चुनाव लड्ने कुरा सार्वजनिक भएको हो ।

लखनउबाट गृहमन्त्री राजनाथ सिंह, अमेठीबाट स्मृति इरानी चुनाव लड्ने छन् । अमेठीमा स्मृति इरानीसँग कांग्रेस अध्यक्ष राहुल गान्धी प्रतिस्पर्धी छन् ।

गाजियाबादबाट विदेशमन्त्री जनरल वीके सिंह, नागपुरबाट केन्द्रीय मन्त्री नितिन गडकरी, नोएडाबाट केन्द्रीय संस्कृति मन्त्री महेश शर्मा र मथुराबाट हेमा मालिनी चुनाव लड्ने छन् ।

यूपीका सांसद वरुण गान्धी र मेनका गान्धीको नाम उम्मेदवारहरुको सूचीमा छैन् । वरुण सुलतानपुरबाट र मेनका पिलिभितबाट हाल सांसद छन् । उनीहरुको निर्वाचन क्षेत्र टुंगो नलागेको र अर्को सूचीमा उनीहरुको नाम आउने बताइएको छ ।

बिहारमा भाजपा १७ सिटमा चुनाव लड्दैछ । तर केन्द्रीय चुनाव समितिले बिहारका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment