Comments Add Comment

राजमार्गमा ट्रिपर आतंकः डुब्लिकेट लाइसेन्स, किशोर चालक

सडकको बेहाल, दुर्घटना बढ्दै


३० पुस, सिन्धुपाल्चोक । गत २ पुसमा काभ्रेको बनेपामा ट्रिपरको ठक्करबाट स्कुटीमा सवार कञ्चनपुरकी विमला ठगुन्ना ज्यान गयो । त्यसको एक सातापछि काभ्रेकै पाँचखालमा ट्रिपरको ठक्करबाट घाइते भएका सुरेन्द्रकुमार तामाङको उपचारका क्रममा मृत्यु भयो । दुवै घटनामा ट्रिपर चालकको लापरवाही देखियो ।

राजमार्गमा बेपर्वाह हुइँकिने ट्रिपरहरुको ठक्करबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दो छ । घाइते र अंगभंग हुनेहरु सयौंको संख्यामा छन् ।

अरनिको राजमार्गका हकमा एक समयमा भन्ने गरिएको थियो, सुपर, ट्रिपर, पल्सर र चुल्ठे मुन्द्रेबाट बचौं । सुपर र पल्सरको ठक्करबाट मृत्यु हुनेको संख्यामा अहिले कमी आएको छ । तर, ट्रिपर आतंक ह्वात्तै बढेको छ ।

भक्तपुरको जगातीदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्म ट्रिपर आतंक छ । काभ्रेको जिरो किलोदेखि सिन्धुपाल्चोकको सुकुटे र बन्देउमा पनि उस्तै छ ।

वर्षदिनभित्र सिन्धुपाल्चोक र काभ्रेमा गरी ट्रिपरको ठक्करका कारण २० जनाको ज्यान गयो । तीमध्ये १२ पुरुष र आठ महिला थिए ।

राजमार्गमा ट्रिपरको उच्च जोखिममा दुईपाँग्रे सवारी साधन देखिएका छन् । मृतकमध्ये १२ जना मोटरसाइकल र स्कुटीमा सवार थिए ।

लाइसेन्स नै डुब्लिकेट

ट्रिपरका कारण बढी दुर्घटना हुनुमा चालकहरुको लापरवाही नै मुख्य रहेको प्रहरीको भनाइ छ । काभ्रे प्रहरी प्रमुख एसपी सहकुल थापाका अनुसार अरनिको राजमार्गमा ट्रिपर चलाउने धेरैको लाइसेन्स नै नक्कली भएको पाइएको छ ।

प्रहरी जाँचका क्रममा एक वर्षमा ५० भन्दा बढी डुब्लिकेट लाइसेन्स फेला परेको थापा बताउँछन् । ट्रिपर चालकहरु अधिकांश टिनएजका हुने भएकाले पनि तीव्र गतिमा दौडाउने गरेको उनको भनाइ छ ।

‘लाइसेन्स दिने निकाय नै यसमा बढी सर्तक हुनु पर्‍यो,’ एसपी थापा भन्छन् । दुर्घटना न्यूनीकरणका लागि चलाइएका अभियानहरु सोही कारण प्रभावकारी हुन नसकेको उनको भनाइ छ । अपरिपक्व चालकहरुलाई लाइसेन्स नदिने हो भने दुर्घटनामा न्यूनीकरण हुने एसपी थापा बताउँछन् ।

यसकारण तीव्र गति

ट्रिपरका चालकहरुलाई एक टिप सामग्री ढुवानी गरेवापत १५ सय रुपैयाँ भत्ता आउँछ । उनीहरुले दैनिक दुईदेखि तीन टिपसम्म निर्माण सामग्री ओसार्छन् ।

जति बढी टिप लगायो, त्यति नै बढी रकम प्राप्त हुने भएकाले बेतोडसँग दौडाउँछन् ।

व्यवसायीहरु भने उक्त भनाइ मान्न तयार छैनन् । राज्य र स्थानीय बासिन्दाले तय गरेको समय भ्याउनका लागि ट्रिपरहरु दौडिने गरेको उनीहरुको दाबी छ ।

काभ्रेको जिरोकिलोदेखि मेलम्चीसम्म राति ८ बजेदेखि ट्रिपर चलाउन स्थानीय बासिन्दाले रोक लगाएका छन् । उक्त समय पार गर्न ट्रिपरहरु दौडाइने गरेको व्यवसायीहरुको दाबी छ ।

यस्तै, अपरान्ह ३ बजेदेखि साँझ ७ बजेसम्म काठमाडौ उपत्यकामा ट्रिपर प्रवेशमा रोक लगाइएको छ । र, काभ्रेको पनौतिमा अपरान्ह ३ बजेदेखि नै ट्रिपरहरुको प्रवेश निषेध छ ।

विभिन्न समय सीमा भ्याउन ट्रिपर दौडाउनुको विकल्प नहुने वागमती ट्रिपर व्यवसायी संघका उपाध्यक्ष प्रेम लामाको भनाइ छ ।

तर, चालकहरु स्वयं टीप भत्ताकै लोभले आफूहरु छिटो दौडिने गरेको बताउँछन् ।

संघमा आवद्ध हुनेको दुर्घटना कम

अरनिको राजमार्गमा एक साताबीचमा चार दुर्घटना भए । तिनमा परी एक मोटरसाइकल चालक र एक पैदल यात्रीको ज्यान गयो । दुर्घटना गराउने चार वटै ट्रिपर व्यवसायी संघमा आवद्ध नरहेको खुलेको छ ।

ट्रिपरहरुलाई समय सीमा भ्याउन हतारो, चालकमा भत्ताको लोभ, दैनिक गुड्ने टि्रपरको तथ्यांकसम्म छैन सरकारी निकायहरुसँग

दुर्घटना बढ्दै गएपछि अरनिको राजमार्गमा सञ्चालन हुने ट्रिपरहरुलाई वागमती ट्रिपर व्यवसायी संघमा आवद्ध गराइयो । अहिले ६ सय ट्रिपर उक्त संघमा आवद्ध रहेको अध्यक्ष शेरबहादुर कुँवर बताउँछन् । भन्छन्, ‘संघमा आवद्ध चालकहरु बढी संयमित देखिएका छन् ।’

दैनिक दुई हजार सञ्चालनमा

काभ्रेको साँगा भञ्ज्याङदेखि सिन्धुपाल्चोकको मेलम्ची र सुकुटेसम्म दैनिक कति ट्रिपर गुड्छन् ? प्रहरीसँगै यकिन तथ्यांक छैन । तर, नदीजन्य पदार्थ उत्खनन र ढुवानीको ठेक्का पाएका व्यवसायीहरुका अनुसार अहिले अरनिको राजमार्गमा मात्रै दैनिक दुई हजार ट्रिपर गुडिरहेका छन् ।

साउनदेखि असोजसम्म नदीजन्य सामग्री उत्खननको ‘अफ सिजन’ हो । असोजयता भने निर्माणको चरण शुरु हुने भएकाले ट्रिपरको आउजाउ पनि बाक्लिएको छ ।

कर नतिरी बेपत्ता हुने ट्रिपरको संख्या खोतल्ने हो भने अरनिको राजमार्गमा दैनिक २२ सयदेखि २५ सयको संख्यामा हुन सक्ने संघका उपाध्यक्ष लामा बताउँछन् ।

भूकम्पपछि पुनर्निर्माणको चाप, नयाँ संरचनालगायत सबैखाले निर्माणको मौसम यही भएकाले पनि ट्रिपरहरुलाई भ्याइनभ्याइ छ । सिन्धुपाल्चोकको मेलम्ची, सुकुटे र वनदेउ आसपासमा सञ्चालित क्रसरहरुबाट निर्माण सामग्री उठाई गन्तव्यमा पुर्‍याउन ट्रिपरहरुलाई हतार हुन्छ ।

गत वर्षको तथ्यांकअनुसार काभ्रेबाट एक लाख ९३ हजार, सिन्धुपाल्चोकबाट दुई लाख १० हजार र सिन्धुलीबाट २५ हजार गरी चार लाख २८ हजार टीप निर्माण सामग्री काठमाडौं पुर्‍याइएको थियो । ती जिल्लाको आन्तरिक खपत पनि उत्तिकै छ ।

सडकको बेहाल

मेलम्ची खानेपानी आयोजनाको सहयोगमा जिरोकिलो-मेलम्ची सडक कालोपत्रे भएको केही दिनमै त्यसको निशानासम्म बाँकी रहेन । हस्तान्तरण नहुँदै सडक सखाप भयो ।

अहिले २४ किलोमिटर पार गर्न दुई घण्टा बढी लाग्ने गरेको छ । पानी चुहाउँदै गुड्ने ट्रिपरकै कारण सडकको बेहाल भएको डिभिजन सडक भक्तपुरका अधिकारीहरु बताउँछन् ।

ट्रिपरका कारण क्षतविक्षत सडक मर्मतका लागि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको अगुवाइमा गत वर्ष तीन करोड नौ लाख रुपैयाँ संकलन भएको थियो । यस वर्ष काभ्रे र सिन्धुपाल्चोक जिससले करिब आठ करोड रुपैयाँ संकलन गर्ने अनुमान छ ।

ट्रिपरबाट मात्रै दुई वर्षमा करिब १३ करोड रुपैयाँ संकलन हुँदा पनि सडक मर्मत भने नगरिएको क्रसर व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष किरण थापा बताउँछन् । ‘बरु हामी नै सडकमा दैनिक पानी हाल्ने, बिग्रेको ठाउँमा गाभ्रेल गर्छौं,’ थापा भन्छन्, ‘संकलित पैसा केमा खर्च गरिन्छ, थाहा छैन ।’

सिन्धुपाल्चोक जिससका आन्तरिक लेखा परीक्षण अधिकृत अनिरुद्र्र नेपाल भने सबैको सहमतिमा संकलित रकम जेमा खर्च गर्दा उपयुक्त हुन्छ, त्यहीं खर्च गर्ने गरिएको बताउँछन् ।

दुवै जिससले अनधिकृत रुपमा ट्रिपरबाट रकम संकलन गरिरहेको व्यवसायीहरुको आरोप छ । ‘हामीले दिएको पैसा मात्रै राज्यले सदुपयोग गर्ने हो भने टि्रपर सञ्चालनका लागि मात्रै छुट्टै सडक निर्माण गर्न पुग्छ,’ उपाध्यक्ष लामा भन्छन्, ‘तर, राज्यले त्यसको सदुपयोग नै गरेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment