Comments Add Comment

डाइनिङ एटिकेटः कसरी खाने, खाँदा के गर्ने, के नगर्ने ? 

खाने कसरी ? सामान्यत हाम्रो मनमा यो प्रश्न आउँदैन । किनभने प्राकृतिक रुपमै हामीले खान सिकेका छौं । चराचर जगतका सबै प्राणीले खान्छन् । उनीहरुलाई खान सिकाउन पर्दैन । त्यसैले हामीले चाहि किन खान सिक्ने नि ?

स्वभाविक रुपमा यस्तो तर्क पनि उठ्न सक्छ । खाने कुरामा सबै प्राणीले विधिको पालना गरेका छन् । उनीहरु त्यसरी नै खान्छन्, त्यती नै खान्छन्, जति उनीहरुलाई प्रकृतिले सिकाएको छ । गाइले मासु खाँदैन, बाघले घाँस खादैन, कुकुर चर्दैन । अर्थात उनीहरुलाई प्राकृतिले जे सिकाएको छ, त्यही गर्छन् ।

हाम्रो सन्दर्भ भने फरक छ । किनभने हामीले अघाउनका लागि मात्र खाँदैनौ । खानुको उदेश्य अघाउनु वा पेट भर्नु मात्र होइन । खानु हाम्रो संस्कृति हो । सभ्यता हो ।

त्यसकारण, कसरी खाने ? जान्नुपर्छ ।

कतिपय समाजमा खानुलाई उत्सवकै रुपमा लिइने गरिन्छ । खानपान आफैमा उत्सव पनि त हो । पौराणिक शास्त्रहरुले पनि भनेकै छ, खाना खाने बेला शुद्ध चित्तले, प्रशन्न मनले, आनन्दित भएर, स्वाद लिएर खानुपर्छ । आधुनिक समाजमा यसै कुराको अभ्यास भएको हो ।

डाइनिङ एटिकेटको कुरा गरौं

जब हाम्रो अघिल्तिर खानेकुरा आइपुग्छ, त्यसलाई कसरी खाने ?

टेबलमा नेपकिन सजाइएको हुन्छ । काटा-चम्चा, चक्कु सजाइएको हुन्छ । प्लेट, कचौरा, गिलास सजाइएको हुन्छ । अब कसरी सर्भ गर्ने ? कसरी खाने ? कुन भाँडावर्तन कसरी प्रयोग गर्ने ?

नेपकिनलाई आफ्नो तिघ्रा (ल्याप)मा ओछ्याउने । यसले गर्दा खानेकुरा पोखिएमा, झरेमा लुगा फोहोर हुँदैन । पाहुना लाग्दा त हामी पाइन्ट-सुटमा हुन्छौं । भोज भत्तेरमा पनि टिपटप भएर पुगिएको हुन्छ, यस्तो अवस्थामा पोशाकको ख्याल गर्नै पर्छ । खानेकुरा खाएको बेला पोशाकमा ध्यान पुर्‍याउन सकिदैन र त्यो फोहोर हुनसक्छ । त्यसैले नेपकिन ओछ्याउने ।

साथै नेपकिन छातीमा राख्ने पनि गरिन्छ । शरीरको माथिल्लो भागमा खानेकुरा चुहिएर वा पोखिएर फोहोर हुन्छ भनेर यसो गरिन्छ । कतिपय ठाउँमा नेपकिनमा बटम पनि हुन्छ । नेपकिन बाँध्ने ठाउँमा बटम लगाउन सकिन्छ ।

हामीले देखेका छौं, धेरैजसो काटा, चम्ची चलाउने कुरामा अन्यौलमा देखिन्छन् । चक्कुले काट्दै खानुपर्ने खानेकुरा छ भने कसरी काट्ने वा कसरी त्यसलाई खाने भनेर द्विविधामा पर्छन् । चक्कुलाई जहिले पनि दाहिने हातले समात्नुपर्छ, देब्रे हातले काटा । दाइने हातमा बल हुने भएकाले चक्कु चलाउन सजिलो हुन्छ, काटाले टिपेर मुखसम्म पुर्‍याउने भएकाले त्यसका लागि अतिरिक्त बल चाहिदैन । त्यसैले खानेकुरा दाहिने हातले काट्ने र देब्रेले टिप्दै खाने हो । तर, देब्रे हात एक्टिभ भएकाहरुका लागि यो कुरा ठिक उल्टो हुन्छ ।

हामी नेपालीहरु यस्तो कुरामा खासै अभ्यस्त छैनौ । मैले देखेको छु, विदेशीका बच्चाहरु समेत यति कुशलतापूर्वक काटा, चम्चा चलाउँछन् कि, खानेकुरा न छरपस्ट पार्छन्, न प्लेटमा जुठो छाड्छन् । मासुको स-सनो टुक्रा पनि केलाएर खान्छन् ।

खानेकुरा स-सनो टुक्रा गरेर वा सानो गाँस मात्र खाने गर्नुपर्छ । खानेकुरा मुखमा राखिसकेपछि ओंठ बन्द गरेर चपाउनुपर्छ । मुखमा गाँस हालेर कुरा गर्नुलाई सभ्य मानिदैन ।

खानेकुरा जति आवश्यक छ, त्यती नै प्लेटमा लिने हो । प्लेटमा खानेकुराको थुप्रो लगाएर खाने भन्दा पनि चाहिने जति खानेकुरा राखेर स्वाद लिएर खानुपर्छ ।

यी गल्ती हुन्

१. नेपकिनलाई फोल्ड गरेर कुर्सीमा नराखौं । टेबलमा पनि नराखौं । यदि नेपकिन फोहोर छ भने, त्यसलाई एक छेउमा फोल्ड गरेर राखौं । जुठो हात, खानेकुरा टेबलमा पुछ्नु ठीक होइन ।

२. हात वा कुइनोलाई टेबलमा राख्ने गल्ती नगरौं । कतिले टेबलमा कुइनो टेकाएर बस्छन्, त्यसले असभ्य देखाउँछ ।

३. खानेकुरा चपाउँदा आवाज निकाल्नु सभ्य मानिदैन । खानेकुरा हतार-हतार खाने, आवाज निकालेर चपाउने गल्ती नगरौं ।

४. खानेकुरा सेवन गर्दा काटा, चम्चा बजाउनु ठिक होइन ।

५. अक्सर रेष्टुरेन्ट, होटलको टेबलमा बसेर खाना खाँदा हामी हो-हल्ला गर्दै खान्छौं । खाएको बेला सेल्फी खिच्छौं । यो सभ्यता होइन ।

जुठो खानेकुरा के गर्ने ?

हामी के पनि गल्ती गर्छौं भने धेरै भन्दा धेरै खानेकुरा मगाउँछौं । सबैमा जुठो लगाउँछौं र बाँकी प्लेटमा छाडिदिन्छौं ।

हुन त आफुले पैसा तिरेपछि खानेकुरा खानु वा छाड्नु, आफ्नो मर्जीको कुरा हो । यद्यपी यो सभ्यता भने होइन । मानविय व्यवहार पनि होइन । खानेकुरा धेरैथरी खान मन छ भने, छुटै प्लेट मगाउने । त्यही प्लेटमा आवश्यक मात्र राख्ने र खाने । जति खान सकिन्छ, थप्ने । बाँकी रहेको खाना प्याक गरेर घर लान सकिन्छ । राख्न सकिन्छ । यदि जुठो खानेकुरा छ भने पनि त्यसलाई प्लेटमा छाड्नु भन्दा प्याक गरेर सडक कुकुर वा चराचुरुङ्गीका लागि प्रयोग गर्न सकिन्छ ।

किनभने हामीलाई थाहा छ, विश्वमा खाद्य अभाव छ । विश्वका जनसंख्याको अनुपातमा खानेकुराको उत्पादन पर्याप्त छैन । यदि हामी खर्च गर्न सक्नेले खानेकुरा जुठो बनाएर त्यसलाई नष्ट गर्दै जाने हो भने, खाद्य संकटको अवस्था आइलाग्छ । त्यसैले यास्ता कुरामा पनि अलिकति ध्यान पुर्‍याउन सके धेरै राम्रो हो ।

(पाण्डे होटल अन्नपूर्णका फुड एन्ड वेभरेज म्यानेजर हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment