Comments Add Comment

डा. सन्दुक रुइतलाई भारतले दियो पद्मश्री पुरस्कार

१२ माघ, काठमाडौं । नेपाली आँखा चिकित्सक डा. सन्दुक रुइतलाई भारत सरकारले प्रतिष्ठित पद्मश्री पुरस्कारद्वारा सम्मान गर्ने भएको छ ।

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतले विहीबार राति विभिन्न पुरस्कारहरूको घोषणा गरेको छ । अनि, भारतरत्न, पद्मभूषण तथा पद्मविभूषणपछिको चौथो दर्जाको नागरिक सम्मान पाउनेहरूको सूचीमा रुइतको नाम पनि समेटिएको छ ।

‘सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी उनले एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका छन्,’ भारतको प्रेस इन्फर्मेसन ब्युरोले आफ्नो आधिकारिक टि्वटरमा लेखेको छ ।

ब्युरोका अनुसार डा. रुइतको प्रविधिले मोतीविन्दुको शल्यक्रियाको शुल्क ९० प्रतिशतसम्मले कम भएको छ भने ३० भन्दा बढी देशहरूमा यसको प्रयोग भइरहेको छ । उनी हप्तामा दुई हजार पाँच सयजति बिरामीको उपचार गर्छन् भने पैसा तिर्न नसक्नेलाई निःशुल्क सेवा प्रदान गर्दछन् ।

अष्ट्रेलियामा अध्ययन गरेपछि नेपाल फर्किएर उनले अन्धोपन हटाउन सस्तो प्रविधिको लेन्स र सल्यचिकित्सा प्रविधिको आबिस्कार गरेका थिए ।

को हुन् डा. रुइत ?

उनी आँखाको प्रसिद्ध डाक्टरको रुपमा चिनिन्छन् । तिलगंगा आँखा केन्द्रका निर्देशक रहेका उनले आफ्नै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया गरेका छन् । उनी आफैले अहिलेसम्म झण्डै एक लाख बढी मानिसलाई आँखाको दृष्टि दिएर संसार देखाइसकेका छन् भने बिभिन्न देशमा उनले दिएको तालिम र प्रबिधिले झण्डै ४० लाख मानिसले आँखा देख्न सक्ने भएका छन् ।

यही योगदानको कदरस्वरुप सन् २००६ मा रामोन म्यागासेसे पुरस्कारबाट उनी सम्मानित भए ।

ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका डा. रुइतका बुबा नेपाल-तिब्बतबीच घोडा र नुनको ब्यापार गर्थे । तत्कालीन समयमा उनी ओलाङचुङगोलाबाट १५ दिन हिँडेर दार्जीलिङ पुगे । सुरुमा उनी दार्जीलिङको मिसनरी स्कुल सेन्ट रोबर्ट्समा भर्ना भए । सन् १९६२ मा चीन-भारतबीच सीमायुद्ध भएपछि दार्जिलिङका स्कुल बन्द भए ।

त्यसपछि उनी काठमाडौंको सिद्धार्थ वनस्थलीमा पढ्न थाले । उनले सन १९७० मा सिद्धार्थ वनस्थलीबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment