Comments Add Comment

प्रदेश १ को सभामुखमा एमालेका गणेश काङवाङ र उषाकला राईको दाबी

जगदीश कुसियतको मन्त्रीमा रुचि, उपसभामुख माओवादीलाई

२२ माघ, विराटनगर । प्रदेश १ को प्रदेशसभा सभामुखमा एमालेबाट दुईजनाको दाबेदारी प्रस्तुत भएको छ । प्रदेशसभाको पहिलो बैठकले माघ २९ गते सभामुखको निर्वाचन गर्ने तालिका सार्वजनिक गरेपछि सभामुख को हुने भन्ने चर्चा विराटनगरमा शुरु भएको छ ।

एमालेको एकल बहुमत रहेको प्रदेश १ मा सभामुख एमालेले पाउने सहमति भइसकेको छ भने उपसभामुख माओवादीले पाउनेछ । सभामुखमा एमालेबाट गणेश काङवाङ र उषाकला राईको दाबेदारी प्रस्तुत भएको छ ।

स्रोतका अनुसार मुख्यमन्त्रीका दाबेदार दुबै एमाले नेताहरु भीम आचार्य र शेरधन राईले काङवाङलाई नै सभामुख बनाउने आश्वासन दिएका छन् ।

पाँचथरबाट निर्वाचित प्रदेशसभा सदस्य काङवाङलाई सोमबारको पहिलो बैठकले सभामुख नभएका बेला बैठक सञ्चालन गर्ने सदस्यमासमेत चयन गरेको छ ।

उता खोटाङबाट समानुपातिक सदस्यमा निर्वाचित उषाकला राईले पनि सभामुखमा आफू दाबेदार रहेको बताएकी छन् ।

आफू ०६४ सालमै संविधानसभा सदस्य भइसकेको र कानुन विषयमै स्नातकोत्तर गरेको तथा प्राध्यापनको समेत अनुभव भएका कारण सभामुखको जिम्मेवारी सम्हाल्न सक्षम रहेको राईले अनलाइनखबरसँग बताइन् ।

स्रोतका अनुसार मुख्यमन्त्रीका दाबेदार दुबै एमाले नेताहरु भीम आचार्य र शेरधन राईले काङवाङलाई नै सभामुख बनाउने आश्वासन दिएका छन् ।

राईले भनिन् ‘म अनुभवी पनि हुँ । प्रदेश १ को मुख्यमन्त्री पुरुष हुने भएपछि महिलालाई सभामुख बनाउने अवसर आएको छ । सभामुख पदको गरिमा कायम गर्न म सक्षम छु । मेरा नाममा शेरधन कमरेड र भीम कमरेडको पनि आपत्ति छैन होला ।’

माओवादीले पुरुषलाई उपसभामुख अघि सारेमा आफू सभामुख बन्न सक्ने आँकलन एमाले नेतृ उषाकला राईको छ ।

संविधान अनुसार सभामुख र उपसभामुख फरक लिंगको हुनुपर्छ । एमालेले पुरुष सभामुख बनाएमा माओवादीबाट उपसभामुख सरस्वती पोखरेल हुने सम्भावना छ ।

गणेश काङवाङ भने दुबैतिरको तानातानमा परेका छन् । शेरधन राई र भीम आचार्य दुवैले उनलाई आफूतिर तान्न सभामुखको आश्वासन दिएको स्रोतले बतायो ।

त्यसो त सभामुखका लागि एमालेबाट जगदीश कुसियतको पनि चर्चा चलेको छ । तर, कुसियतले भने सभामुख भन्दा पनि मन्त्री बन्ने चाहना राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment