Comments Add Comment

२० वर्षदेखि उही ढर्रामा कम्पनी वर्गिकरण गर्दै नेप्से, यसपटक ‘क’ वर्गमा ११० परे

आगामी आवदेखी नयाँ तरिकाले वर्गिकरण


३ फागुन, काठमाडौं । २० वर्षदेखि परम्परागत ढर्रामा सूचीकृत कम्पनीहरुको वर्गिकरण गर्दै आइरहेको नेप्सेले त्यसैलाई निरन्तरता दिएको छ ।

नेप्सेले आव २०५३/५४ देखि सूचीकृत कम्पनीको वर्गिकरण गर्न थालेको हो । नेप्सेले सो व्यवस्था अनुसार ‘क’ वर्गमा पर्ने कम्पनीहरुको सूची सार्वजनिक गर्दै आएको छ । बाँकी रहेको कम्पनीहरु स्वतः सूचीकरणभन्दा बाहिर पर्ने छन् ।

नेप्सेले आव २०७४/७५ को लागि एक सय १० कम्पनी ‘क’ वर्गमा पारेको छ । चुक्ता पुँजी कम्तिमा रु. २ करोड भएको, साधारण सेयरधनीहरुको संख्या कम्तिमा एक हजारभएको, कम्तिमा तीन वर्ष देखि लगातार मूनाफामा रहेको, सेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेकाहरु ‘क’ वर्गमा कम्पनीमा सूचीकृत हुने गर्छन् ।

यो वर्गमा पर्ने कम्पनीहरुको मात्रै कारोबारको मापन गर्ने सूचक रहेको छ । यसलाई सेन्सेटिभ परिसूचक भनिने गरिएको छ । नेप्सेले आगामी आवदेखी भने कम्पनी वर्गिकरणमा नयाँ तरिका अपनाउने प्रतिबद्धता जनाएको छ ।

‘सूचीकरण विनियमावली पारित हुने प्रक्रियामा रहेको छ, यसले कम्पनी वर्गिकरणको नयाँ व्यवस्था गरेको छ,’ नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने ।

नयाँ वर्गिकरण गर्ने तयारी थालेको लगभग पाँच वर्ष भइसकेको छ । तर, सूचीकरण विनियमावली नै पारित हुन समय लागेकोले यो व्यवस्था कार्यान्वयनमा आउन समय लागेको हो । यही वर्षमा विनियमावली पारित हुने सम्भावना रहेको पराजुली बताउछन् ।

नयाँ विनियमावलीले ए’, ‘बी’, ‘जी’ र ‘जेड’ समूहमा कम्पनीहरूलाई वर्गीकरण गर्ने नीति लिएको हो । सार्वजनिक विनियमावलीमा गरिएको यस्ता संस्थाको विशेषता भने उल्लेख गरिएको छैन । यद्यपि नेप्सेले हालसम्मको प्रचलनमा भने लगातार नाफामा भएका, ५ वर्षदेखि लगातार २० प्रतिशतभन्दा बढी लाभांश दिएका, २ करोडभन्दा बढी चुक्तापूँजी भएका र १ हजारभन्दा बढी साधारण शेयरधनी रहेका कम्पनीलाई समूह ‘ए’मा राख्दै आएको छ ।

त्यस्तै, ‘बी’ वर्गमा भने ‘ए’मा पर्ने कम्पनीसरहकै विशेषता भएका तर लाभांश वितरणमा भने कञ्जुस्याइँ गर्ने खालका कम्पनी पर्छन् । ५ वर्षदेखि १० प्रतिशतसम्म लाभांश बाँड्ने कम्पनी यो वर्गमा पर्ने भएका छन् ।

नयाँ समूहका रूपमा देखिने ‘जेड’ समूहमा भने वित्तीय विवरण र संस्थागत सुशासनमा समस्या रहेका कम्पनीहरू पर्नेछन् । २ वर्षदेखि सञ्चालनमा समस्यामा रहेका कम्पनीहरू यो वर्गमा पर्छन् । यो वर्गमा झर्नुको स्पष्टीकरण ३ महीनासम्म स्टक एक्सचेञ्जमा नदिने कम्पनीको सूचीकरण खारेजसम्म हुनेछ । त्यस्तै, अस्तित्व थाहा नभएका कम्पनीहरू पनि यही वर्गमा पर्नेछन् ।

तर, वर्षौंदेखि अस्तित्व थाहा नभएका कम्पनीहरूलाई नेप्सेले बेलाबखत सूचीकरणबाटै हटाउने गरिरहेकाले यस्ता कम्पनी केही निश्चित समय मात्र यो वर्गमा रहने सम्भावना छ ।
नयाँ बन्ने ‘जी’ समूहमा भने नयाँ सूचीकरण भएका र अन्य वर्गमा स्तरोन्नति हुन नसकेका कम्पनी पर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment