Comments Add Comment

प्रदेश ४ः आज मन्त्रिपरिषद गठन, दललाई मन्त्री छान्न सकस

मुख्यमन्त्री र सभामुखको सपथ सँग-सँगै

४ फागुन, पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सभामुख नेत्रनाथ अधिकारीले शुक्रबार पद तथा गोपनियताको शपथग्रहण गर्दैछन् । शुक्रबार बिहान साढे ९ बजे शपथ ग्रहणको कार्यक्रम राखिएपनि सुरू भएको छैन ।

मुख्यमन्त्री गुरुङले बुधबार नै शपथ ग्रहण गर्ने कार्यक्रम थियो । तर, काकीको रतनकुमारी गुरुङको मंगलबार निधन भएपछि उनको शपथ दुई दिन पछाडि सरेको हो ।

बिहीबार सभामुख चुनिएकाले सभामुख र मुख्यमन्त्रीको शपथ ग्रहणको कार्यक्रम शुक्रबार सँगै राखिएको प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रदेश नम्बर ४ मा वाम गठबन्धनबीच मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई सभामुख दिने गरी भागबन्डा गरिएको थियो ।

उपसभामुखको निर्वाचन फागुन ६ गते तय गरिएको छ । सभामुख र उपसभामुख फरक पार्टी र फरक लिंगको हुनुपर्ने संविधानले व्यवस्था गरेको छ । माओवादीले पुरुष सभामुख बनाएपछि अब उपसभामुख एमालेबाट महिलाले अवसर पाउने छन् ।

उपसभामुखका लागि एमालेबाट सिर्जना शर्माको नाम चर्चामा छ । त्यस्तै मित्रकुमारी सुवेदी, नरमाया गुरुङ लगायतले पनि आकांक्षा देखाएका छन् ।

मन्त्री छान्न सकस

मुख्यमन्त्रीको सपथसँगै मन्त्रीमण्डल पनि गठन गर्ने तयारी छ । तर आकांक्षी धेरै भएपछि एमाले र माओवादी दुवैलाई मन्त्री छान्न सकस छ ।

एमालेबाट विकास लम्साल, कृष्ण थापा, इन्द्रलाल सापकोटा, राजीव पहारी, लगायत मन्त्रीको टिकट लिने कसरतमा छन् । माओवादीले पाउने २ मन्त्रीमा हरिबहादुर चुमान, दीपक कोइराला, रामजी बराल, दीपक चर्तिमगर लगायत दौडधुपमा छन् ।

मुख्यमन्त्रीसहित ५ मन्त्री एमालेलाई र सभामुखसहित २ मन्त्री माओवादीले लिने गरी दुई दलबीच भागबन्डा भएको छ ।

प्रदेश ४ मा एमालेका २७ सांसद छन् भने माओवादीका १२ सदस्य छन् । कांग्रेसको १५, जनमोर्चाको ३ र नयाँ शक्तिको २ जना प्रदेश सभा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment